कात्तिक कृष्णपक्ष चतुर्थीका दिन हरेक वर्ष तराईका महिलाले करवा चौथ धार्मिक विधिपूर्वक धुमधामसँग मनाउँछन् ।
कपिलवस्तु — पतिको स्वास्थ्य र दीर्घायुको कामना गर्दै तराईका मधेसी महिलाले करवा चौथ पर्व मनाएका छन् । बिहीबार दिनभर महिलाहरू पानीसमेत नपिई निराहार ब्रत बसेर राति भगवान्सँग श्रीमान्को लामो आयु तथा सुख, समृद्धिको कामना गरेका थिए ।
कात्तिक कृष्णपक्ष चतुर्थीका दिन हरेक वर्ष तराईका महिलाले करवा चौथ धार्मिक विधिपूर्वक धुमधामसँग मनाउँछन् । महिलाहरू बिहानदेखि बिहीबार राति चन्द्रमा नदेखिउन्जेलसम्म व्रत बसेका थिए । राति घर तथा टोलमा चन्द्रमाको विशेष पूजाअर्चना गरेका थिए । चन्द्रमाका अघि चाल्नोले श्रीमान्को अनुहार हेरेपछि मात्र दिनभरको ब्रत तोडेर खाना खाने चलन छ ।
बिहीबार राति ८ बजेतिर चन्द्रमाको पूजाआजा गरी चाल्नोले श्रीमान्को अनुहार हेरेर विशेष परिकार खाएर पर्व मनाएको कपिलवस्तु नगरपालिका–३, धनौराटोलकी रिना श्रीवास्तवले बताइन् ।
चन्द्रमाको पूजापछि श्रीमान्ले पानी खुवाएर महिलाहरूको ब्रत तोड्ने गरिएको कपिलवस्तु नगरपालिका महिता टोलकी सुनिता मालीले बताइन् । उक्त दिन व्रत बस्ने महिला सधैँ राम्री र स्वस्थ हुने धार्मिक जनविश्वास रहेको छ । पर्वका दिन घरमा नयाँ चामलको पिठोबाट बनाइएका परिकार र मिठाईलगायत खाने चलन छ । यो पर्व सीमावर्ती भारतीय बजारहरूमा पनि धुमधामका साथ मनाइएको छ ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।