क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् ।
काठमाडौँ — अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ । स्वदेशी–विदेशी स्टार खेलाडी मैदानमा छन् । बल र ब्याटको टक्करले मैदान तातिएको छ । चौका–छक्कासँगै दर्शकहरू रोमाञ्चित भइरहेका छन् । विकेट खस्दा कतै निराशा छ, कतै जितको खुसीयालीमा हुटिङ ।
तर, यही हजारौँ दर्शकको भीडमा केही दर्शक यस्ता पनि छन्, जसले मैदानमा बलले सीमारेखा पार गरेको दृश्य देख्न सक्दैनन् । तैपनि उनीहरूको खुसीमा कुनै कमी छैन । किनकि उनीहरू क्रिकेट आँखाले मात्रै हेर्दैनन्, आवाजमा सुन्छन्, शब्दमा बुझ्छन् र मनले अनुभूत गर्छन् ।
रंगशालामा हजारौं दर्शकमध्येका एक हुन् कञ्चनपुरका भवेन्द्र सिंह । हाल कीर्तिपुर बस्दै आएका भवेन्द्रको जन्मजात दृष्टि छैन, तर यो उनको क्रिकेटप्रतिको उत्साहमा पर्खाल बनेन् । श्रीमती रञ्जना देवकोटासँग रंगशाला पुगे र एनपीएलको रोमाञ्चक मज्जा लिए । छेउमा बसेकी रञ्जनाले मैदानमा भइरहेका गतिविधि उनलाई सुनाउँछिन् ।
‘म क्रिकेट पहिलेदेखि नै हेर्थें । रेडियो र टिभीमा कमेन्ट्री सुन्थें । यो ग्राउन्डमा फ्लडलाइटको मुनि बसेर चाहिँ मेरो पहिलो पटक हो,’ उनले थपे, ‘ओभर सकेपछि हुने माइकिङबाट खेलको अवस्था बुझ्छु । मसँगै मेरी श्रीमती छिन् । उनले ग्राउन्डमा भएका हर गतिविधि मलाई भन्छिन् । म इन्जोय गर्छु ।’
आम दर्शकले स्कोरबोर्ड हेर्दै खेलको अवस्था बुझ्छन् । भवेन्द्रका लागि ग्राउन्ड कमेन्ट्रीले स्कोरबोर्डको काम गर्छ । दर्शकको हुटिङले मैदानमा भएको घटनाबारे जानकारी दिन्छ । अनि रञ्जनाका शब्दले त्यो घटनालाई दृश्यमा बदलिदिन्छन् । कहिलेकाहीँ भवेन्द्र छेउमै बसेका अन्य दर्शकबाट पनि जानकारी लिन्छन् ।
टेलिभिजन र रेडियोमा क्रिकेट कमेन्ट्री सुन्दै खेलको रोमाञ्चकता महसुस गर्ने भवेन्द्र आफैँ पनि मैदानमा उत्रिएका छन् । उनी दृष्टिविहीन क्रिकेटमा जोडिएको १२–१३ वर्ष भइसकेको छ । दुईवटा राष्ट्रिय प्रतियोगितामा खेलिसकेका उनी अहिले खेल व्यवस्थापनमा सक्रिय छन् । कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिरहेका छन् ।
‘म ब्लाइन्ड क्रिकेटमा लागेको लगभग १२–१३ वर्ष भयो । अहिले म व्यवस्थापनमा छु । कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षका रूपमा काम गरिरहेको छु । मैले पनि दुईवटा नेसनल गेम खेलेको छु ।’
भवेन्द्रकी श्रीमती रञ्जनाको भिजन ‘लो’ छ । रञ्जनाले केही धमिलो देखे पनि मैदानमा कति खेलाडी छन् र उनी कुन फिल्डर कता छन् भन्ने ठम्याउन सक्छिन् । ‘म अलि टाढासम्म देख्न सक्छु, तर अलि धमिलो देख्छु,’ रञ्जनाले थपिन्, ‘श्रीमान्को पनि इन्ट्रेस्ट भयो । अनि पहिला भक्तपुर बसिन्थ्यो, आउन, जान गाह्रो थियो । तर, अहिले यतै कीर्तिपुर बस्ने भएपछि एनपीएल हेर्न आएका हौँ ।’
क्रिकेटप्रतिको प्रेमले भवेन्द्रलाई मैदानसम्म त ल्याउँछ, तर मैदानसम्म पुग्ने बाटो र त्यहाँभित्र सहज रूपमा आवतजावत गर्ने सुविधा भने उनका लागि सहज छैन । संरचना अपांगतामैत्री भइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । उनी भन्छन्, ‘यहाँको भौतिक संरचना चाहिँ अलिकति हामीमैत्री भइदिए हुन्थ्यो । जस्तो, ह्विलचेयरहरूका लागि र्याम्प । हिजो मलाई हामीसँग आएका एक जनाले बोकेर लैजानुपर्यो । हामीमैत्री भौतिक संरचना बनाइदिएर सजिलो हुन्थ्यो ।’