बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा रेवाहाङ फेयर फुटबल क्लब धरानलाई टाइब्रेकरमा पराजित गर्दै तेह्रथुमले फाइनलमा स्थान बनायो ।
संखुवासभा — संखुवासभाको मादी मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप’ आमन्त्रित महिला फुटबल प्रतियोगितामा तेह्रथुमको फेदाप गाउँपालिका र ललितपुरको सातदोबाटो युथ क्लब फाइनलमा प्रवेश गरेका छन्।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा रेवाहाङ फेयर फुटबल क्लब धरानलाई टाइब्रेकरमा पराजित गर्दै तेह्रथुमले फाइनलमा स्थान बनाएको हो। त्यस्तै, दोस्रो सेमिफाइनलमा पद्मा स्पोर्ट्स क्लब, ओखलढुंगालाई टाइब्रेकरमा पराजित गर्दै सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा पुगेको हो।
खेलको छैटौं मिनेटमा धरानकी रामकुमारी विकले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ४७औं मिनेटमा तेह्रथुमकी रेन्जु राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याइन्। निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा तेह्रथुमले जित निकाल्दै फाइनल यात्रा तय गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी तेह्रथुमकी रेन्जु राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
त्यस्तै, दोस्रो सेमिफाइनलमा ओखलढुंगाको पद्मा स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा पुगेको छ।
निर्धारित खेलमा ललितपुरकी सजना स्याङ्ताङले ३९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। ओखलढुंगाकी सुक्रीय मगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन्। निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा ललितपुर विजयी बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी ललितपुरकी गोलरक्षक अस्मिता नेपाली ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
अब उपाधिका लागि फेदाप गाउँपालिका, तेह्रथुम र सातदोबाटो युथ क्लब, ललितपुरबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो २ बजे हुनेछ।
मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह–आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा आठ टोली सहभागी थिए।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।