चाडपर्वका बेला विमानस्थलको सफल व्यवस्थापनको मापन उडेका विमान र यात्रुको संख्याले गर्दैन, यात्रुले कति सुरक्षित महसुस गरे, कति सहज र सम्मानका साथ सेवा पाए भन्ने पक्षले निर्धारण गर्छ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा विविध धार्मिक परम्पराले समृद्ध देश हो । यहाँ मनाइने दसैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार, माघी तथा अन्य सांस्कृतिक पर्वले नेपाली समाजमा पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएका छन् । चाडपर्वका बेला जन्मथलो फर्किने, परिवार तथा आफन्तसँग भेटेर खुसी साट्ने र धार्मिक तथा सांस्कृतिक परम्परा निर्वाह गर्ने चाहनाका कारण यस्तो समयमा यातायातका साधनमा यात्रुको चाप बढ्छ।
भौगोलिक विकटता, दुर्गम क्षेत्रसम्म सडकको सीमित पहुँच, लामो दूरीको यात्रा तथा समयको बचत गर्नुपर्ने, आकस्मिक काममा छिटो पुग्नुपर्ने आदि कारणले हवाई यातायात नेपालीहरूका लागि महत्त्वपूर्ण विकल्प बनेको छ । यस सन्दर्भमा प्रमुख प्रवेशद्वार हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । यसले अन्तर्राष्ट्रिय यात्रु आवागमनका साथै देशका विभिन्न भागमा हुने आन्तरिक हवाई यात्रालाई समेत जोड्छ । चाडपर्वको समयमा विमानस्थलमा यात्रुको चाप झनै बढ्छ । त्यसबेला विमानस्थलको भूमिका विमान उडान र अवतरणमा मात्र सीमित नभई यात्रु व्यवस्थापन, सुरक्षा, सहज सेवा प्रवाह, सूचनाको उपलब्धता र राष्ट्रिय प्रतिष्ठासँग पनि सम्बन्धित हुन्छ।
चाडपर्वका बेला विमानस्थलको व्यवस्थापनका लागि नियमित अवस्थाभन्दा बढी तयारी चाहिन्छ । त्यो समयमा विमानस्थलको क्षमता, जनशक्ति परिचालन, यात्रु प्रवाह, सुरक्षा जाँच, सामान व्यवस्थापन र उडान तालिकाबीच प्रभावकारी समन्वय आवश्यक रहेको देखाउँछन् । यात्रुको चाप बढ्दै जाँदा चेक–इन काउन्टरमा लामो प्रतीक्षा, सुरक्षा जाँचमा ढिलाइ, पार्किङ क्षेत्रमा भीड, यात्रुसम्बन्धी सूचना प्राप्त गर्न कठिनाइ तथा सामान प्राप्तिमा समस्या उत्पन्न हुन सक्छन् । त्यसैले चाडपर्व सुरु हुनुअगावै सम्भावित यात्रु संख्याको विश्लेषण गरी आवश्यक जनशक्ति, उपकरण र सेवासुविधाको व्यवस्था गर्नु विमानस्थल व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारी हो।
विमानस्थलको पहिलो प्राथमिकता हवाई सुरक्षासँग सम्बन्धित हुनुपर्छ । चाडपर्वमा यात्रुको चाप बढेको अवस्थामा पनि सुरक्षा मापदण्डमा सम्झौता गर्न मिल्दैन । यात्रु, विमान, विमानस्थलका संरचना तथा हवाई सञ्चालनमा संलग्न सबै पक्षको सुरक्षा सुनिश्चित गर्नु सम्बन्धित निकायहरूको साझा दायित्व हो । यसका लागि यात्रु तथा सामानको सुरक्षा जाँचलाई व्यवस्थित बनाउनु, निषेधित वस्तुको ओसारपसार नियन्त्रण गर्नु, विमानस्थलको प्रवेश तथा निकास व्यवस्थापन गर्नु र सम्भावित जोखिमप्रति सतर्क रहनु आवश्यक हुन्छ।
प्रतिकूल मौसम वा प्राविधिक कारणले उडान ढिलाइ अथवा रद्द हुन सक्ने भएकाले यात्रुलाई समयमै सही सूचना उपलब्ध गराउनुपर्छ । उडानमा ढिलाइ हुँदा यात्रुको आक्रोश र अन्योल कम गर्न स्पष्ट सूचना, सहायता र गुनासो सुनुवाइको व्यवस्था प्रभावकारी हुनुपर्छ । सुरक्षा र सेवा प्रवाह एकअर्काका प्रतिस्पर्धी विषय होइनन् । बरु उचित योजना, पर्याप्त जनशक्ति र प्रविधिको प्रयोगबाट दुवैलाई सँगै प्रभावकारी बनाउन सकिन्छ।
यात्रुले विमानस्थल प्रवेश गरेदेखि आÏनो गन्तव्यतर्फ प्रस्थान नगरेसम्म प्राप्त गर्ने सेवा, व्यवहार, सूचना र सहायताले सार्वजनिक सेवाको गुणस्तर निर्धारण गर्छ । चाडपर्वको समयमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती, बालबालिका तथा पहिलो पटक हवाई यात्रा गर्ने यात्रुलाई विशेष सहयोग आवश्यक पर्न सक्छ । उनीहरूलाई उपयुक्त सहायता, ह्विलचेयर सेवा, स्पष्ट संकेत चिह्न, सहज आवागमन र आवश्यक सूचना उपलब्ध गराउनु यात्रुमैत्री व्यवस्थापनको महत्त्वपूर्ण पक्ष हो । आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिअनुसार फरक व्यवहार नगरी प्रत्येक यात्रुलाई सम्मानपूर्वक सेवा प्राप्त गर्ने समान अवसर हुनुपर्छ।
दसैं र तिहारको समयमा वैदेशिक रोजगारी, अध्ययन र व्यवसायका सिलसिलामा विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किने क्रम पनि उल्लेखनीय हुन्छ । उनीहरूका लागि विमानस्थल नेपाली भूमिमा प्रवेश गर्ने पहिलो सार्वजनिक संस्था हो । विमानस्थलमा प्राप्त गर्ने सेवा र व्यवहारले उनीहरूको स्वदेश फर्किने अनुभवलाई प्रभाव पार्छ । यसैले अन्तर्राष्ट्रिय आगमन कक्षमा अध्यागमन, भन्सार, सामान व्यवस्थापन, यात्रु सहायता तथा अन्य सम्बन्धित निकायबीच समन्वय आवश्यक हुन्छ।
विदेशबाट फर्केका नेपालीले ल्याउने व्यक्तिगत सामान, उपहार तथा अन्य वस्तुका सम्बन्धमा प्रचलित कानुनी व्यवस्था स्पष्ट रूपमा जानकारी गराउनु पनि आवश्यक छ । यसले यात्रुलाई अन्योलमुक्त गर्नुका साथै भन्सार प्रक्रिया पारदर्शी बनाउन सघाउँछ।
चाडपर्वको समयमा विमानस्थलको व्यवस्थापन चुस्त बनाउन प्रविधिको प्रयोग र संस्थागत समन्वय आवश्यक छ । उडान तालिका, चेक–इन समय, बोर्डिङ प्रक्रिया, टर्मिनलसम्बन्धी जानकारी तथा ढिलाइ वा रद्द भएका उडानको सूचना डिजिटल माध्यमबाट समयमै उपलब्ध गराउनुपर्छ । यात्रुले घरबाटै उडानको अवस्था थाहा पाउन सकेमा विमानस्थलमा अनावश्यक रूपमा चाँडै पुगेर भीड बढाउने वा ढिलो पुगेर उडान छुटाउने सम्भावना घटाउन सकिन्छ । यसका लागि विमानस्थल, वायुसेवा कम्पनी र सम्बन्धित सरकारी निकायका सूचना प्रणालीबीच समन्वय हुनु आवश्यक छ।
चाडपर्वमा विमानस्थलको सफल व्यवस्थापनको मापन विमान कति उडे वा कति यात्रुले सेवा लिए भन्ने संख्याले मात्र गर्दैन । यात्रुले कति सुरक्षित महसुस गरे, कति सहज रूपमा सेवा पाए र कति सम्मानका साथ आÏनो गन्तव्यतर्फ जान सके भन्ने कुराले निर्धारण गर्छ । विमानस्थलमा कार्यरत प्रत्येक कर्मचारीको जिम्मेवारीबोध, सहकार्य र सेवाभावले नै नागरिकका लागि चाडपर्व अझ सुखद र स्मरणीय बनाउन सक्छ।
मनीषा आउजी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुब्बा पदमा कार्यरत छिन्