नेपाली प्रिमियर लिगमा सुदूरपश्चिम राेयल्सबाट खेलिरहेका इशान पाण्डे स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
काठमाडौँ — नेपाली प्रिमियर लिगमा सुदूरपश्चिम राेयल्सबाट खेलिरहेका इशान पाण्डे स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा इशान र संस्थाका निर्देशक राजन खकुरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए । उनले यस किसिमको सम्झौताले नेपाली खेलाडीलाई आर्थिक रूपमा थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
ब्रान्ड एम्बासडरमा नियुक्त भएपछि इशानले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकामा लन्डन इयर केयरलाई धन्यवाद दिए । लन्डन इयर केयर बेलायतको लन्डनमा रहेको कानको स्वास्थ्य तथा श्रवणसम्बन्धी सेवा प्रदान गर्ने संस्था हो । संस्थाका निर्देशक खकुराल बेलायतमा रहेर स्वास्थ्य सेवा, सामाजिक कार्य, सामुदायिक विकास तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सक्रिय छन्। उनले सन् २०१६ मा लर्ड्स क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच भएको ऐतिहासिक खेलमा टिकट व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।
सन् २०१८ मा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच भएको त्रिकोणात्मक टी–२० शृंखलाको व्यवस्थापन तथा समन्वयमा पनि उनले भूमिका निर्वाह गरेका थिए । खकुरालले बेलायतमा रहेका नेपाली क्रिकेट टोली तथा खेलाडीलाई सहयोग गर्दै नेपाल र बेलायतबीचको खेलकुद सम्बन्ध विस्तारमा योगदान पुर्याउँदै आएका छन् ।
इशानसँगको सहकार्यले लन्डन इयर केयरको पहिचान विस्तार गर्नुका साथै नेपाली क्रिकेट र बेलायतमा रहेका नेपाली समुदायबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।