पहाडी र तराई क्षेत्रमा हुने मध्यम वर्षाले ठूलो क्षति नगर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरूको भनाइ छ । यद्यपि, धान भित्र्याउने तयारीमा रहेका किसान प्रभावित हुन सक्ने र साँझ हुने क्रिकेट खेलमा पनि असर पर्न सक्ने देखिएको छ ।
काठमाडौँ — समुन्द्री आँधी ‘अर्णव’ को प्रभाव बिहीबारदेखि नेपालमा पनि सुरु भएको छ । बिहीबार देशभर बादल लाग्नुको साथै हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात भएको छ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ मौसम विभागले जनाएको छ ।
अधिकतम तापक्रम घटेसँगै देशभर चिसो बढेको छ भने सर्वसाधारणहरू ज्याकेटलगायत न्यानो कपडा लगाउन थालेका छन् ।
बंगालको खाडीमा उत्पन्न आँधीका कारण भारतको पूर्वी क्षेत्रमा मानवीय क्षति हुनुका साथै घर र कृषियोग्य जमिनमा क्षति पुगेको छ । आँधीले आन्ध्र प्रदेशमा बाढी निम्त्याउनुको साथै कम्तीमा पाँच जनाको ज्यान गएकोे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तीव्र हावा र भारी वर्षाका कारण काट्न तयार धानबालीमा ठूलो क्षति पुगेको छ भने होचा भूभाग डुबानमा परेका छन् । हावाले रुख र बिजुलीका पोल ढल्दा विभिन्न क्षेत्रमा यातायातसमेत अवरुद्ध भएको छ ।
नेपालका मौसमवीदहरूले ‘अर्णव’ आँधी कमजोर हँदै गएको र नेपालसम्म आइपुग्दा त्यसको प्रभाव यस अघि भनिएजस्तो ठूलो क्षति गराउने खालको नहुने बताएका छन् ।
'बिहीबार रातिदेखि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,' मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् विभूति पोखरेलले भने, 'हल्कादेखि मध्यम वर्षाले ठूलो असर पार्ने सम्भावना नरहेकाले आत्तिनुपर्ने अवस्था छैन । शनिबारसम्म देशभर वर्षा हुनेछ र केही स्थानमा भारी वर्षा पनि हुन सक्छ, तर धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।'
अधिकारीहरूका अनुसार बिहीबार राति कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने र शुक्रबार देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।
मौसमविद्हरूका अनुसार ‘अर्णव’ आँधी कमजोर हुँदै न्यून चापीय प्रणालीमा परिणत हुने र त्यसबाट विकसित हुने न्यून चापीय क्षेत्रले शुक्रबार र शनिबार नेपालभर वर्षा गराउनेछ ।
'मध्यम वर्षाले काट्न तयार धानबालीमा क्षति पुर्याउन सक्छ र लामो यात्रामा निस्कने यात्रुलाई पनि असर पार्न सक्छ,' त्रिभुवन विश्वविद्यालयअन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले भने, 'वर्षाका कारण शुक्रबारको क्रिकेट खेल प्रभावित हुन सक्छ । उच्च हिमाली क्षेत्रमा जाने पर्यटक र पदयात्रीलाई पनि हिमपातको जोखिम छ । केही स्थानमा भारी हिमपात हुन भएकोले हिमाली क्षत्रमा जान भएन, गइसकेकाहरू पनि जतिसक्दो छिटो सुरक्षित स्थानमा पुग्नु पर्यो ।'
विज्ञहरूका अनुसार वर्षाका कारण तापक्रम थप घट्ने र देशभर एक्कासि चिसो बढ्ने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्छ । मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका साथै गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्छ ।
शुक्रबार राति पनि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने र कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा वा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।
शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा वा हिमपातसमेत हुन सक्ने सम्भावना छ ।
आइतबारदेखि भने मौसममा सुधार आउन सक्ने पूर्वानुमान छ ।
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।