आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्माले ती समाचार आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका छन् ।
काठमाडौं — प्रधानन्यायाधीश मनोजकुमार शर्माले ईनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएका छन् । आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै उनले ती समाचार आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले ईनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन् । 'ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन । मैले कहिँकतै भेटेको पनि छैन,' विज्ञप्तिमा भनिएको छ ।
ईनमसँग सम्बन्धित प्रसंगमा आफ्नो नाम जोडेर समाचारहरू प्रकाशित भएकोप्रति उनले आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा शर्माले उक्त प्रसंगमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको उल्लेख गरेका छन् । आधारहीन र भ्रम फैलाउने उद्देश्यले समाचार प्रसारित गरिएको भन्दै उनले त्यसको भर्त्सना गरेका छन् ।