रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित उक्त जलविद्युत् आयोजनालाई ८ जेठ राति इन्द्रावतीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।
ताप्लेजुङ — बाढीले क्षतिग्रस्त बनाएको इवाखोला जलविद्युत् आयोजना पुननिर्माण हुन नसक्दा ५ महिनादेखि ठप्प रहेको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बहने इन्द्रावतीखोलाबाट उत्पादन गरिएको ९.९ मेगावाट क्षमताको आयोजना ८ जेठदेखि ठप्प बनेको हो ।
रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित उक्त जलविद्युत् आयोजनालाई गत ८ जेठ राति इन्द्रावतीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।
प्रवर्धक रिडी हाइड्रोपावरका अनुसार बाँधस्थल (हेड), बालुवा थिग्राउने पोखरी, पाइपलाइन र विद्युत् गृहमा बाढीले क्षति गरेको छ । आयोजनाको पुनर्निर्माण सुरु नै भएको छैन ।
आयोजनाका सामाजिक परिचालक एवं हेडबक्स इन्चार्ज टीकाराम मिश्रका अनुसार बर्खायाम र खोलामा बढ्दो पानीका कारण आयोजना पुनर्निर्माणमा ढिलाइ भएको हो । बर्खायामपछि दसैंतिहार जस्ता चाडपर्व आएको र कामदार पाउन समस्या भएकाले पुननिर्माणमा पुनः ढिलाइ भएको हो ।
मौसममा सुधार आएपछि र चाडपर्व सकिएलगत्तै पुनर्निर्माण सुरु हुन सक्ने मिश्रले बताए ।
बाढीपहिरोले आयोजनाका अधिकांश संरचनामा ठुलो क्षति पुर्याएकाले पुनर्निर्माणमा धेरै रकम लाग्न सक्ने अनुमान प्रवर्धक कम्पनीको छ ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।