जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै विपद् व्यवस्थापन, हवाई सुरक्षा र अत्यावश्यक सेवा सञ्चालनका लागि उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशनसमेत दिइएको छ ।
काठमाडौँ — सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै सरकारले विपद् व्यवस्थापन, हवाई सुरक्षा र अत्यावश्यक सेवा सञ्चालनका लागि उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन छ । अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही हावाहुरीको सम्भावना भने कायमै छ ।
सरकारले सर्वसाधारणलाई भ्रामक सूचना र अफवाहको पछि नलाग्न तथा आधिकारिक निकायबाट जारी मौसम पूर्वानुमान र सुरक्षा सूचनाका आधारमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’ कमजोर भइसके पनि त्यसको प्रभावसँगै नेपालमा आज रातिदेखि वर्षा र हिमपातको गतिविधि बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आज राति भारी वर्षा र हिमपात हुन सक्ने जनाएको छ । मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधि भोलि र पर्सिसम्म बढ्न सक्ने अनुमान छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि शनिबारसम्म हावाहुरी, चट्याङ, हिमआँधी र ठूलो वर्षाको सम्भावना औंल्याउँदै हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहण नगर्न आग्रह गरेको छ ।
मौसमजन्य जोखिमबारे सर्वसाधारणलाई सचेत गराउन सुरक्षा निकायले विभिन्न स्थानमा माइकिङ गरिरहेका छन् । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पनि पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक र पर्वतारोही टोलीलाई आग्रह गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण तथा वैकल्पिक उडान योजनासहित सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले पनि स्थानीय जोखिमको मूल्याङ्कन गरी पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेका छन्।
सम्भावित वर्षाका कारण नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा बाढी, कटान र पहिरोको जोखिम बढ्न सक्ने आकलन गरिएको छ । बाढी पूर्वानुमान महाशाखा तथा भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले विशेषगरी पहाडी र भिरालो भूभागका राजमार्गमा पहिरो खस्ने, ढुंगा झर्ने र सडक भासिने जोखिम औंल्याएका छन् ।
नदी किनारका सडकमा जलसतह बढ्दा बाढी र कटान हुन सक्ने तथा साना–ठूला खोला र कल्भर्टमा पानीको बहाव बढेर सडक क्षति हुन सक्ने जोखिम छ। बाढी र पहिरोका कारण सडक अवरुद्ध भए यातायात सञ्चालन र अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित हुन सक्छ ।
महाशाखाका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत त्रिशूली र नारायणी नदी किनार, कोशी राजमार्ग, सिद्धार्थ राजमार्ग, कान्ति राजमार्ग र अरनिको राजमार्गका संवेदनशील खण्डमा विशेष सतर्कता आवश्यक छ। बागमती जलाधारसँग जोडिएका सडक तथा विगतमा पहिरो गएका र नदी किनारमा रहेका अन्य राजमार्ग खण्ड पनि जोखिममा पर्न सक्छन्।
अर्णव कमजोर, अर्को न्यूनचापीय प्रणाली पनि विकसित हुँदै
भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवाती आँधी ‘अर्णव’ कमजोर भएर अहिले न्यूनचापीय प्रणालीमा परिणत भएको छ। बिहीबार बिहानसम्म यो दक्षिण छत्तीसगढ र आसपासको दक्षिण ओडिशामा केन्द्रित थियो। प्रणाली उत्तरतर्फ सर्दै थप कमजोर हुने र बिहीबार साँझसम्म स्पष्ट न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ।
यसैबीच, दक्षिण अण्डमान सागर र आसपास बिहीबार बिहान नयाँ न्यूनचापीय क्षेत्र बनेको छ। यो प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने र आगामी २४ घण्टामा स्पष्ट न्यूनचापीय क्षेत्रमा विकसित हुने सम्भावना छ। त्यसपछि थप २४ घण्टाभित्र दक्षिणपूर्वी बंगालको खाडी र आसपासको क्षेत्रमा अवदाबमा परिणत हुन सक्ने भारतीय मौसम विज्ञान विभागको पूर्वानुमान छ ।