फेस्टिभलमा शवाना आजमीसहित अन्तर्राष्ट्रिय अतिथिको सहभागिता रहनेछ भने पुराना नेपाली फिल्म प्रदर्शन र विभिन्न अन्तरसंवाद तथा मास्टर क्लास सञ्चालन हुनेछन् ।
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि आइतबारसम्म ‘काठमाडौँ फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ । पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने र काठमाडौँभित्र अझै भन्न बाँकी रहेका कथाहरू खोजी गर्ने लक्ष्यसहित महानगरले यो महोत्सवको आयोजना गर्न लागेको हो ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी दिग्गज अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा लगायत अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त हस्तीहरूको सहभागिता रहनेछ ।
तीन दिनसम्म चल्ने यो महोत्सवमा रेड कार्पेट, पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद तथा मास्टर क्लास लगायतका विविध कार्यक्रमहरू आयोजना हुनेछन् । फेस्टिभलको दोस्रो दिन नेपाल पर्यटन बोर्डमा शवाना आजमीको सहभागितामा ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवाद हुनेछ भने दीप्ति डीकुन्हाको सहाभागितामा ‘सिर्जनात्मक सहरहरूको प्रवर्धनका लागि फिल्म र महोत्सव’ विषयमा छलफल हुनेछ ।
सोही दिन राष्ट्रिय सभा गृहमा जापानी निर्देशक नाकामुराले ‘यागामाता युनेस्को फिल्म सिटी सर्ट्स’को परिचयात्मक प्रस्तुति गर्नेछन् । कार्तिक १५ गते पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरको ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बीच चलचित्र सौन्दर्य शास्त्र’ विषयक मास्टर क्लासका साथै ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य’ विषयमा विशेष प्यानल छलफल सञ्चालन गर्नेछन् ।
नेपाली चलचित्रको इतिहास जोगाउने प्रयास स्वरूप महानगरपालिकाले सन् १९७० र ८० को दशकका ऐतिहासिक कथानक चलचित्रहरू ‘कुमारी’ र ‘के घर के डेरा’को विशेष प्रदर्शन गर्नेछ ।
जय नेपाल सिनेमा घरमा हुने ‘इन्टरनेसनल प्यानोरामा’ अन्तर्गत चीनको ‘डियर यु’, भारतको ‘बयान’, फ्रान्सको ‘ला ग्राभिडा’ र हलिउडको बहुचर्चित चलचित्र ‘गड फादर’ लगायतका विश्वव्यापी समसामयिक र स्वतन्त्र चलचित्रहरू देखाइनेछ ।
यसबाहेक, स्थानीय नवप्रतिभालाई प्रवर्धन गर्न खुला आह्वानमार्फत प्राप्त ७५ मध्ये छानिएका १० वटा ‘नेपाल प्यानोरामा सर्ट्स’ र युथ भिडियो च्यालेञ्जका ११ वटा छोटा भिडियोहरू पनि प्रदर्शन गरिनेछ । छानिएका सर्ट्स फिल्मलाई १-१ लाख रुपियाँ र युथ भिडियोका उत्कृष्ट तीन टोलीलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपियाँ प्रोत्साहन पुरस्कार दिइनेछ ।
महानगरपालिकाले यो महोत्सवलाई रचनात्मक उद्योग, स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्धनको बलियो माध्यमका रूपमा विकास गर्न खोजेको छ । महोत्सवमा अमेरिकी दूतावास, अष्ट्रेलियन दूतावास, युनेस्को, अलाइन्स फ्रेन्चिज, जय नेपाल सिनेमा घर, हनुमानढोका दरबार र बौद्ध क्षेत्र विकास समितिसँग सहकार्य गरिएको छ ।
फेस्टिभलमा सर्वसाधारण दर्शकका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसका लागि हिमालय पे एपमार्फत निःशुल्क डिजिटल टिकट रिजर्भ गर्न सकिनेछ ।