Trending
Prev Story
Next Story

रामेछापमा तीन दिन धान नकाट्न र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

Ekantipur •
October 29, 2026 • 02:32 AM
1
1 reads 0 reactions

हावाहुरीदेखि हिमपातसम्मको सम्भावना रहेकाले आधिकारिक सूचना पालना गर्न, यात्रा टार्न र नदी तथा पहिरो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

रामेछापमा तीन दिन धान नकाट्न र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

हावाहुरीदेखि हिमपातसम्मको सम्भावना रहेकाले आधिकारिक सूचना पालना गर्न, यात्रा टार्न र नदी तथा पहिरो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

रामेछाप —  बङ्गालको खाडीमा विकसित चक्रवात अर्नब थप शक्तिशाली बन्दै गएपछि रामेछापमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चक्रवातको प्रभावले कात्तिक १२ देखि १४ गतेसम्म हावाहुरी, चट्याङ, वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेको भन्दै प्रशासनले तीन दिन धानबाली नकाट्न, नभित्र्याउन र अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्लावासीलाई अनुरोध गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार चक्रवातका कारण जिल्लामा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । मौसम विज्ञान विभागको विशेष बुलेटिन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार बनाउँदै प्रशासनले यस्तो अनुरोध गरेको हो ।

चक्रवातको प्रभावले कात्तिक १२, १३ र १४ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, चट्याङ तथा मध्यमदेखि भारी वर्षा हुन सक्ने प्रशासनले जनाएको छ । देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो र हिमआँधीको समेत जोखिम रहेकाले सावधानी अपनाउन भनिएको छ ।

धानबाली काट्ने र भित्र्याउने समय भएकाले वर्षाले किसानको मेहनतमा क्षति पुर्‍याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले तीन दिन कृषिसम्बन्धी काम नगर्न तथा नगराउन अनुरोध गरेको छ । त्यस्तै, हिमपात हुने क्षेत्रमा पदयात्रा, भ्रमणलगायतका गतिविधि नगर्न र त्यस्ता क्षेत्रमा पुगिसकेका व्यक्तिलाई जोखिम अवधिभर सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

वर्षा र सम्भावित विपद्का कारण सडक यातायात तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ ।

जोखिम बढेमा सम्बन्धित स्थानीय तहले सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरी जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनसमेत प्रशासनले आग्रह गरेको छ ।

यसैगरी, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा विभिन्न संघसंस्थालाई सर्वसाधारणसम्म जोखिमसम्बन्धी सूचना पुर्‍याउन र सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । प्रशासनले सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी पालना गर्नसमेत जिल्लावासीलाई आग्रह गरेको छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611