आत्मकथामा बुबाआमा तिब्बतबाट आएको लेखेकी आनी छोइङ डोल्माले वंशजका आधारमा कसरी नागरिकता पाइन् भन्ने मुख्य प्रश्न उठिरहेको छ, २०७५ मै उठेको सम्पत्ति शुद्धीकरणको विवाद पनि अनुसन्धान नटुंग्याई थन्क्याइएको देखिन्छ
काठमाडौँ — लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवादले घेरिएकी छन् । मन्त्रिपरिषद् बैठकले ३० असोजमा डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्ति गरेपछि नागरिकता र सम्पत्ति शुद्धीकरणको पुरानो विवाद सतहमा आएको हो ।
डोल्मामाथि सम्पत्ति शुद्धीकरणको आरोप २०७५ मै लागेको थियो । उनको नागरिकतामा २०७६ मा प्रश्न उठेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धानसमेत अघि बढाएको थियो । विभाग स्रोतका अनुसार त्यति बेलाको अनुसन्धान टुंगिएको छैन । ‘अनुसन्धान सुरु गरिसकेपछि केही नदेखिए अनुसन्धान गर्नु नपर्ने भनेर तामेलीमा राखिन्छ, केही कैफियत देखिए मुद्दा दायर गरिन्छ,’ विभागका एक उच्च अधिकारीले भने, ‘तर उनको विषयमा अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि भइरहेको छैन ।’
डोल्माको नागरिकताका विषयमा पनि काठमाडौं प्रहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभिलेख मागेको केही समयमै अनुसन्धान रोकिएको थियो । काठमाडौं प्रहरीमा त्यसबेला काम गरेका एक अधिकृतको दाबीमा त्यति बेला माथिल्लो तहबाट छानबिन अघि नबढाउन आदेश आएको थियो । यी दुवै विषय टुंगो नलगाई उनलाई सरकारले कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।
कोषमा नियुक्त भएपछि डोल्माले वंशजका आधारमा कसरी नागरिकता पाइन् भन्ने मुख्य प्रश्न उठिरहेको छ । डोल्माले कान्छाबहादुर लामालाई बुबा उल्लेख गरेर १८ जेठ २०४६ मा वंशजका आधारमा नागरिकता लिएकी थिइन् । ‘छोइङ डोल्मा मुक्तान लामा’ का नाममा ३१४ नम्बरको नागरिकता लिएकी उनले २४ कात्तिक २०६६ मा फेरि प्रतिलिपिसमेत निकालेकी थिइन् । तर पुस २०७६ मा डोल्माको नागरिकतामा बुबा भनिएका लामाका छोरा प्रमानसिंह लामाले छानबिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा ठाडो उजुरी दिएका थिए ।
‘काठमाडौं जिल्ला चपली भद्रकाली वडा नम्बर ६ मा बस्ने कान्छाबहादुर लामा २०३९ मा परलोक हुनुभएको र म कान्छाबहादुर लामाको छोरा प्रमानसिंह लामा (मगईं) लाई २०४६ मा आनी छोइङ डोल्माले कान्छाबहादुर लामाका नामबाट नागरिकता लिएको भन्ने कुरा सुन्दा अचम्म लागेको छ,’ उजुरीमा भनिएको छ, ‘उहाँले के कसरी केका आधारमा नागरिकता लिनुभयो, यसबारेमा मलाई केही पनि थाहा नभएको जानकारी गराउँदै र उहाँसँग मेरो नाता सम्बन्ध केही पनि नरहेको म जानकारी गराउँछु ।’
प्रमानसिंह लामाको निवेदनलाई आधार बनाएर काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रहरी निरीक्षक यमलाल बन्जाडेले अनुसन्धानका सिलसिलामा बुझ्नुपर्ने भन्दै नागरिकताको प्रतिलिपि माग गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखेका थिए । प्रशासनमा ‘प्रतिलिपि नागरिकताको फोटोकपी कार्यालयमा नरहने’ भन्दै नागरिकता जारी गर्दाको अभिलेख रजिस्टरको फोटोकपी १३ पुस २०७६ मा पठाइदिएको थियो । तर पछि यो छानबिन अघि बढेन ।
सन् २०११ मा प्रकाशित डोल्माको ‘फूलको आँखामा’ नामक आत्मकथामा बुबाआमा तिब्बतबाट आएको भन्ने उल्लेख छ । पहिले फ्रान्सेली भाषामा लिखित र पछि नेपालीमा अनूदित पुस्तकमा उनले आफू काठमाडौंको उत्तरपूर्वी बस्ती बौद्धमा जन्मिएको भनेकी छन् । यो ठाउँ ‘भोटबाट बाहिरिएकाहरूको नेपालस्थित सानो संसार प्रतीत हुने’ भनिएको छ भने बुबाआमा १९५० को दशकको मध्यतिर थातथलो छाडेर आएको उल्लेख छ ।
‘तिब्बतमा हमला गर्ने चिनियाँ कम्युनिस्टहरूले आफूसामु नतमस्तक नहुनेहरूलाई मार्न र थुन्न सुरु गरेका बेला थियो त्यो,’ पुस्तकमा भनिएको छ, ‘बाआमा पूर्वतर्फ पर्ने खाम क्षेत्रबाट आउनुभएको भए पनि उहाँहरू बेग्लाबेग्लै गाउँका हुनुहुन्थ्यो ।’ आफन्तसहित बुबाआमा पहिले भारत पुगेको र त्यहीँ दुई जनाको भेट भएको उनले भनेकी छन् ।
डोल्माले आत्मकथामा नै बुबाआमा तिब्बतबाट आएको भनिसकेपछि कसरी वंशजका आधारमा नागरिकता दिइयो भन्ने प्रश्न उठ्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । ‘समाजमा उहाँको राम्रो योगदान होला, गायनमा राम्रो हुनुहुन्छ होला । तर सार्वजनिक पदमा नियुक्तिको आधार त्यो हुँदैन,’ उनले कान्तिपुरसँग भने, ‘आफैंले तिब्बतबाट बुबाआमा आएको भनेर आत्मकथामा लेखिसकेपछि भोलि मुद्दा चल्यो भने त्यो ठूलो प्रमाणका रूपमा अदालतले ग्रहण गर्ने अवस्था बन्छ ।’
यत्तिका प्रश्न उठिसकेपछि सरकारले समेत प्रश्नको जवाफ दिनुपर्ने त्रिपाठीको भनाइ छ । बाहिर उठेका प्रश्नको निरूपण नगरी सार्वजनिक पदमा नियुक्त हुन नसक्ने उनी बताउँछन् । ‘वंशजका आधारमा नागरिकता भनेको बाबुआमाको नेपालमा कैयौं पुस्तादेखिको निरन्तरता हुनुपर्यो,’ उनले भने ।
काठमाडौं प्रहरी परिसर, भद्रकालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले डोल्माको सन्दर्भमा अहिलेसम्म जाहेरी नआएको बताए । ‘अहिलेसम्म जाहेरी फेला परेको छैन,’ उनले कान्तिपुरसँग भने । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि नागरिकताका विषयमा सञ्चारमाध्यममा आएकै भरमा अनुसन्धान गर्ने भन्ने नहुने बताए । उनले भने, ‘मिडियामा आएकै भरमा हामीले अनुसन्धान गर्ने भन्ने हुँदैन । अहिले त्यस विषयमा हामी प्रवेश गरेका छैनौं ।
सम्पत्ति शुद्धीकरणको प्रश्न भने २५ वैशाख २०७५ मा तत्कालीन मेगा बैंक लिमिटेडको खाता नम्बर ००१.....३९४२४ मा आएको रकमको स्रोत नखुलेपछि उठेको हो । डोल्माको खातामा हङकङका नागरिकले २६ वैशाख २०७५ मा ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर जम्मा गरेका थिए । त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर जम्मा गरे । फेरि अर्को दिन ५ लाख २९ हजार ९ सय ८० डलर जम्मा भएको थियो ।
लगातार तीन दिनमा जम्मा भएको रकमको स्रोत नखुलेपछि राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले त्यही वर्ष साउनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विवरण पठाएको थियो । त्यसपछि विभागले डोल्माको खाता रोक्का राखी अनुसन्धान सुरु गरेको थियो । हङकङबाट उनको खातामा १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर आएको र त्यो शंकास्पद देखिएपछि अनुसन्धान सुरु भएको विवरण कान्तिपुर दैनिकले सार्वजनिक गरेको थियो ।
विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोडभन्दा बढी भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंक र विभागले रोकिदिएको थियो । ‘विभागमा त्यतिबेला जीवनप्रकाश सिटौला महानिर्देशक थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान नगर्न र खाता फुकुवा गर्न दबाब दिएका थिए । तर सिटौलाले नमानेपछि उनको कोशी प्रदेश सरुवा भएको थियो,’ त्यति बेलाको अनुसन्धानमा संलग्न एक अधिकारीले भने।
सामाजिक सञ्जालमा व्यापक प्रश्न उठेपछि भिडियो सन्देश जारी गरेकी आनी छोइङ डोल्माले नागरिकताबारे भने प्रस्ट जवाफ दिएकी छैनन्, अनावश्यक आरोप लगाएर आफूलाई बदनाम गर्न खोजिएको उनको टिप्पणी छ ती अधिकारीका अनुसार सिटौलाको सरुवापछि रूपनारायण भट्टराई महानिर्देशक भएर आएका थिए । ‘राष्ट्र बैंकले उनीमाथिको थप अनुसन्धान के भइरहेको छ भनेर २७ पुस २०७६ मा सोध्यो,’ उनले भने, ‘विभागले ८ माघ २०७६ मा पत्र लेखेर अनुसन्धानले पूर्णता पाएको छैन, अनुसन्धान पूरा भएपछि मात्रै ठोस कुरा भन्न सकिन्छ भनेको थियो । तर त्यही पत्रको अपव्याख्या गरी राष्ट्र बैंकले आनीको खाता फुकुवा गरिदियो । अहिले पनि अनुसन्धान गर्नुपर्ने विषय हो यो ।’ विभागले यसमा अनुसन्धान गर्ने/नगर्ने भन्ने केही पनि निर्णय गरिसकेको छैन ।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्री कार्यालय मातहत लगेर राखेका थिए । रकम रोकिएको तीन महिनापछि साउन २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमका लागि डोल्माले एक करोड रुपैयाँ सहयोग गरेकी थिइन् । नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित भई उनले सहयोग घोषणा गरेकी थिइन् ।
डोल्माले नागरिकताबारे उठेको प्रश्नको जवाफ दिन चाहिनन् । सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा उनले आफूलाई नागरिकता, सम्पत्ति शुद्धीकरणजस्ता अनावश्यक आरोप लगाएर बदनाम गर्न खोजिएको बताएकी छन् । ‘मलाई आपराधिक छविको बनाउन खोजिएको छ । म चोखो छु, मेरो हृदयमा कुनै खोट छैन, देशप्रति कुनै गद्दारी गरेको छैन भन्नेमा म स्पष्ट छु,’ १२ मिनेट २२ सेकेन्ड लामो भिडियोमा उनले भनेकी छन् ।
सम्पत्ति शुद्धीकरणबारे बुझ्न मन लागे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गएर मुद्दा दायर भए/नभएको बारे बुझ्न सकिने उनको भनाइ छ । यसबारे राष्ट्र बैंकमा गएर पनि बुझ्न सकिने उनले बताएकी छन् ।
डोल्माले आफ्नो ५५ वर्षको उमेरसम्म धेरै ख्याति कमाएको जनाउँदै जुनसुकै देशमा गएर आफूले त्यस देशको नागरिक हुन चाहे सजिलै पाउने अवस्था रहेको समेत बताएकी छन् । ‘म भनिहालूँ, म यो देशको सेवा गर्छु । म यो देशमा बसेर साधना गर्छु । म बुद्ध जन्मेको पुण्यभूमिमा जन्मिन पाएको छु, मेरो सौभाग्य हो,’ उनले थपिन् ।
प्रजातन्त्रमा असहमतिका कुरा राख्न पाइने भए पनि त्यसका सीमालाई ख्याल राख्नुपर्ने डोल्माको भनाइ छ । ‘मासुभात’ को प्रलोभनमा आफूविरुद्ध प्रदर्शन भइरहेको आशयको अभिव्यक्ति पनि उनले दिएकी छन् । डोल्माको उक्त भनाइप्रति सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।
लुम्बिनी बचाउ महाअभियानले भने नियुक्ति खारेजको माग गर्दै ३१ असोजदेखि नै आन्दोलन गरिरहेको छ । कोषमा पदाधिकारी रिक्त भएलगत्तै नयाँ नियुक्तिमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने भन्दै महाअभियानले दबाब सुरु गरेको थियो । महाअभियानका संयोजक अक्रम खानका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई भेटेरसमेत नियुक्ति प्रक्रिया पारदर्शी र स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग राखिएको थियो ।
लुम्बिनीको पर्सा चोकमा सोमबार मन्त्री पौडेलको पुतला जलाएको आरोपमा प्रहरीले राति खान र बनिउद्धिन मुसलमानलाई पक्राउ गरेको थियो । उनीहरू मंगलबार दिउँसो रिहा भएका थिए । आफूहरूको मागलाई बेवास्ता गर्दै पदाधिकारी नियुक्ति गरिएपछि विरोध गर्नुपरेको खानको भनाइ छ । डोल्माको नागरिकता र विदेशबाट आएको रकमको स्रोतबारे उठेका प्रश्नमा समेत निष्पक्ष छानबिन हुनुपर्ने खानले बताए ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।
गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।