घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पोखरा — कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ घिप्लेमा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पौडेलको शव सोमबार बिहान घरदेखि करिब ५० मिटर पूर्वतर्फ रहेको बारीको पाटामा फेला परेको थियो । प्रहरीका अनुसार उनको शरीरभरि नीलडाम तथा चोटपटक थियो । शव नग्न अवस्थामा भेटिएको थियो । घटनालगत्तै प्रहरी चौकी धम्पुसबाट टोली खटिएर घटनास्थल सुरक्षित गरेको थियो ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा माछापुच्छ्रे–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुनलाई पक्राउ गरेको हो ।
कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आइतबार साँझ पौडेलले आफ्नो मोबाइल हराएको भन्दै भिनाजु विष्णुप्रसाद गौतमसँग मोबाइल मागेका थिए । मोबाइल नदिएपछि उनले भिनाजुको मोबाइल फुटाइदिएको प्रहरीको भनाइ छ ।
त्यसपछि लिलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विकसँग मादक पदार्थ सेवन गर्ने क्रममा पौडेलको विवाद भएको थियो । प्रहरीका अनुसार पौडेलले रिसाएर लिलबहादुरको मौरीको घारमा लात हानेपछि विवाद बढेको थियो । झगडाका क्रममा पौडेलले हँसियाले प्रहार गर्दा मिलन विकको घाँटी र आशिष गुरुङको खुट्टामा चोट लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब ११:५९ मा आशिष गुरुङले विक्रम पुन र लिलबहादुर पुनलाई फोन गरी बोलाएका थिए । त्यसपछि पाँचै जना पौडेलको घरमा गई भाटा, मुक्का तथा लात्तीले कुटपिट गरी घाइते अवस्थामा बारीको पाटामा लगेर छाडेको अनुसन्धानबाट खुलेको छ ।
पौडेलले आमासँग सिरक मागेर बारीमै ओढेर सुतेको र पछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेलको घरमा आमा र दुई दाजुभाइ छन् । उनी पर्यटक भरियाको काम गर्दै आएका थिए ।
पक्राउ परेका पाँचैजनालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए । घटनास्थलबाट बाँसका दुई भाटा, दाउरा, हँसिया, बियरका बोतलका टुक्रा र पानीको बोतल बरामद गरिएको छ ।
दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।