काठमाडौं उपत्यकामा बसोबास गरिरहेका बाहिरी जिल्लाका नागरिकले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो ।
काठमाडौँ — नागरिकताको प्रतिलिपि बनाउन स्थायी ठेगाना भएको जिल्लामा जानु नपर्ने भएको छ ।
संघीय राजधानी काठमाडौंउपत्यकामा बसोबास गरिरहेका अन्य जिल्लाका नागरिकले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्य जिल्लाका नागरिकलाई उपत्यकाका तीन जिल्लाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।
सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम नागरिकताको प्रतिलिपि काठमाडौंबाट बनाउने व्यवस्था गरिएको जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।
नयाँ व्यवस्थापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले प्रतिलिपिको सेवा लिन सक्ने भएका छन् ।
त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने छन् भने भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने कार्यालयले जनाएको छ ।
नागरिकताको प्रमाणपत्र आगलागी, बाढीपहिरो वा पानीले भिजेर नष्ट भएको, झुत्रिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले नयाँ व्यवस्था अनुसार प्रतिलिपि बनाउने सुविधा पाउने भएका हुन् । अभिलेख नभिडेको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति, ठेगाना वा अन्य विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने अवस्था तथा नागरिकताको प्रमाणपत्र शंकास्पद देखिएका निवेदकले भने सुरुमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।