घटस्थापनाको दिन २५ असोजदेखि कोजाग्रत पूर्णिमा ८ कात्तिकसम्म २० हजार ८७ पर्यटक भ्रमणका लागि चितवन निकुञ्ज पुगेका थिए ।
चितवन — दसैंको १५ दिनमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेहरू २० हजार नाघेका छन् । निकुञ्जका संरक्षण अधिकृत गणेश तिवारीले घटस्थापनाको दिन २५ असोजदेखि कोजाग्रत पूर्णीमा ८ कात्तिकसम्म कुल २० हजार ८७ पर्यटकले चितवन निकुञ्ज घुमेको जानकारी दिए । जसमा सबैभन्दा धेरै स्वदेशी ११ हजार ८९१ जना छन् ।
त्यसैगरी सार्क क्षेत्रका ८३१ र अन्य विदेशी ७ हजार ३६५ पर्यटकले निकुञ्ज घुमेका संरक्षण अधिकृत तिवारीले बताए । पर्यटनबाट यो अवधिमा निकुञ्जले १ करोड ७३ लाख ४४ हजार ६५० रूपैयाँ राजश्व आम्दानी गरेको उनले जानकारी दिए ।
चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघलगायतका जीव जनावरहरू पाइने भएका कारण वर्षमा आन्तरिक र वाह्य गरी ३ लाख हाराहारीमा पर्यटक यहाँ घुम्न आउँछन् । दसैं तिहार पनि पर्ने भएका कारण लामो बिदा हुँदा कात्तिक महिना सबैभन्दा धेरै पर्यटक निकुञ्ज भ्रमणमा आउँछन् ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।