हालसम्म २० अर्ब ९० करोड ४९ लाख रुपैयाँको दाबी परेको छ । त्यसमध्ये ८२ करोड १३ लाख ९० हजार रुपैयाँ मात्र भुक्तानी भएको छ ।
काठमाडौँ — भोटेकोशी बाढीको क्षतिमा परेको बिमा दाबीमध्ये करिब दुई महिनासम्म ८२ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । यो असोज ३० सम्मको तथ्यांक हो ।
बाढीले मानवीयसँगै ठूलो भौतिक क्षतिसमेत गरेको छ । तीमध्ये बिमा भएका मानिस र भौतिक संरचनाहरुमध्ये हालसम्म २० अर्ब ९० करोड ४९ लाख रुपैयाँको दाबी परेको छ । त्यसमध्ये ८२ करोड १३ लाख ९० हजार रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ । यो कुल परेको दाबीको करिब ४ प्रतिशत मात्र हो । यसले बाढी गएको दुई महिनासम्म पनि मुस्किलले ४ प्रतिशत मात्र बिमा भुक्तानी हुनु निकै कम भएको जानकारहरु बताउँछन् ।
त्यसोत बाढी गएको ३/४ दिनमा बिमा कम्पनीहरुमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । त्यसलाई बिमा प्राधिकरणले प्रारम्भिक तथ्यांक भनेको थियो । सुरुमा स्थलगत रुपमा अवलोकन नगरी बिमितले दाबी गरेकाले सुरुमा धेरै दाबी परेको थियो ।
तर पछि अवस्था सहज भएपछि सुरुको बिमा दाबी घटेको १५/१६ अर्बमा झरेको थियो । बिमा दाबी आउनेक्रम थपिएसागै त्यो तथ्यांक पुनः बढेर ३० असोजसम्म २० अर्ब ९० करोड रुपैयाा पुगेको बिमा प्राधिकरणले जनाएको छ । यो तथ्यांक अझै बढ्ने प्राधिकरणको दाबी छ ।
नेपाल बिमक संघका पूर्व अध्यक्ष चंकी क्षेत्रीले हालसम्मको बिमा भुक्तानी सन्तोषजनक भएको दाबी गरे । ‘भर्खर दुई महिना पुग्दै छ । बाढीपछिका एक डेढ सातासम्म घटनास्थलमा पुग्न, दाबी मूल्यांकन गर्न नै सकिएन,’ उनले भने, ‘अवस्था सहज भएपछि दाबी भुक्तानी भएरहेको छ ।’ प्रक्रिया पुगेको अवस्थामा बिमा कम्पनीले भुक्तानी रोक्दै नरोक्ने क्षेत्रीको दाबी छ ।
परेका दाबीमध्ये सम्पत्ति बिमामा सबैभन्दा धेरै ५ सय ७६ वटा दाबी परेका छन् । जसमा ९ अर्ब ५६ करोड ३५ लाखको बिमा दाबी गरिएको छ । इन्जिनियरिङ तथा ठेकेदार बिमाअन्तर्गत १ सय ७४ वटा दाबीमा ४ अर्ब ४० करोड १७ लाख रुपैयाँको दाबी परेको छ । मोटर बिमामा १ हजार ६७ वटा दाबी परेको छ । जसमा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँको दाबी परेको छ ।
यस्तै, पारवहन बिमाअन्तर्गत १ सय ५ वटा दाबीमा २ अर्ब ३३ करोड ५५ लाख, अन्य बिमाअन्तर्गत ५ सय ५६ वटा दाबीमा १ अर्ब ५० करोड ९६ लाख र स्वास्थ्य बिमाअन्तर्गत ५३ वटा दाबीमा २४ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी परेको बिमा समितिले जनाएको छ ।
भुक्तानी भएकामध्ये सबैभन्दा धेरै मोटर र पारवहन बिमाको छ । जसअनुसार मोटर बिमामा २३ करोड ६६ लाख र पारवहनमा २३ करोड ८९ लाख रुपैयाँको बिमा भुक्तानी भएको छ । यस्तै, सम्पत्ति बिमामा १६ करोड २८ लाख, इन्जिनियरिङ तथा ठेकेदारमा १७ करोड ४० लाख र अन्यमा ८९ लाख रुपैयाँ बिमा भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।