अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो ।
संयुक्त राष्ट्रसंघमा अमेरिका र क्युवाका प्रतिनिधिबीच चर्काचर्की भएको छ । अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो ।
संयुक्त राष्ट्रसंघमा बोल्ने क्रममा अमेरिकी राजदूत वल्ट्जले क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शासनकालमा हजारौं समलिंगी, इसाई, अफ्रिकी मूलका क्युबाली र अन्य नागरिकलाई यातना शिविरमा पठाइएको आरोप लगाए ।
‘त्यही सरकारले उनीहरूको सम्पत्ति खोस्यो र जबरजस्ती श्रम गराएर नाफा कमायो,’ उनले भने ।
क्युवाको राजधानी हवानाले देशमा विगतमा भएका घटनाबारे विश्वलाई भ्रममा पार्ने प्रयास गर्दै आएको आरोप पनि उनले लगाए । ‘त्यसबेला के भएको थियो भन्ने हामीलाई थाहा छ र आज हामी त्यसबारे विश्वसामु कुरा राख्न आएका छौं,’ उनले भने ।
अमेरिकी राजदूतले सम्बोधन गरिरहेका बेला क्युवाली प्रतिनिधिमण्डलका सदस्यहरू उठेर आपत्ति जनाएका थिए । उनीहरूले अमेरिकी राजदूतको भनाइ फिर्ता लिन माग गरेपछि केही समय बैठकमा होहल्ला भएको थियो । त्यसक्रममा वल्ट्जले आफ्नो सम्बोधन रोक्नुपरेको थियो ।
त्यसपछि वल्ट्जले अध्यक्षलाई सम्बोधन गर्दै प्रतिनिधिमण्डलको व्यवहारप्रति टिप्पणी गरे । उनले भने, ‘मलाई आशा छ, अध्यक्ष महोदय, अहिले सबैले प्रतिनिधिमण्डलको कुरा सुनिरहेका छन् । राजदूत र क्यामेराले भरिएको कोठामा होइन, हवानामै कसैले यस्ता प्रश्न सोध्दा के हुन्छ होला, कल्पना गर्नुहोस् । यहाँ पनि यस्तो धम्की र अवरोध देखिँदा ती मानिसहरूमाथि के हुन्छ होला, सोच्नुहोस् ।’
अमेरिका र क्युवाबीच लामो समयदेखि राजनीतिक तथा कूटनीतिक तनाव रहँदै आएको छ । संयुक्त राष्ट्रसंघमा भएको पछिल्लो घटनाले दुई देशबीचको विवाद पुनः सतहमा ल्याएको छ ।