तमाघर लघु जलविद्युत् आयोजना बिग्रिएपछि मोबाइल चार्ज गर्न र दैनिक काम चलाउनसमेत हुकाम, गर, फुलबाङ र मयाङका बासिन्दालाई कठिनाइ भएको छ।
रुकुम पूर्व — पहिरोले क्षति पुर्याएको स्थानीय लघु जलविद्युत् आयोजना मर्मत नहुँदा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न बस्ती अन्धकारमा बस्न बाध्य छन्। गत असार २० गते तमाघर खोलामा आएको बाढीका कारण तमाघर लघु जलविद्युत् आयोजनामा क्षति पुगेपछि वडा ५ को हुकामसँगै गर र फुलबाङ तथा वडा ६ को मयाङ गाउँका बासिन्दा प्रभावित भएका हुन्।
खोलाले जलविद्युत् आयोजनाको मुहान र पाइप बगाइदिएको बताउँदै स्थानीय मन्जुती घर्तीले यति लामो समयसम्म आफूहरू विद्युत्विहीन भएको बताइन्। ‘उहिले बिग्रेको बिजुली अहिलेसम्म पनि बनेन। सोलार र दियालोको भरमा बसेका छौं। मोबाइल चार्ज गर्न र अरू काम गर्न पनि समस्या भएको छ,’ उनले भनिन्। २०६८ सालमा ‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत निर्माण थालिएको ८१ किलोवाट क्षमताको यो विद्युत् गृह सामान्य लगानीले मर्मत गर्न सकिने अवस्था नरहेकाले समस्या भएको वडा ५ का वडाध्यक्ष टिकासाई घर्तीले बताए। ‘यो विद्युत् गृह निर्माण गर्दाबेला नै उपभोक्ताले प्रतिघर ७ हजार रुपैयाँ उठाएर र श्रमदानसमेत गरेर बनाएको हो। साथै यसमा गाउँपालिकाबाट पनि त्यसपछि ठूलो बजेट हालेर सञ्चालन गरिरहेका थियौं। तर यसपटकको पहिरोले त ठूलै क्षति गरिदियो। अब चाहिँ पालिकाले बजेट हाल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यसको विकल्पका लागि वडा ४ स्थित घुन्मा खोला लघु जलविद्युत् आयोजनाबाट तार तान्ने तयारी गरिरहेका छौं। सम्भवतः दसैंलगत्तै यो काम सकिने छ।’
यी र आसपासका बस्तीका लागि केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न दुई वर्षअघि नै पोलहरू यहाँ पुर्याइएको भए पनि बाँकी काम अघि बढेको छैन। केन्द्रीय प्रसारण लाइन समयमै पुगेको भए यहाँका बासिन्दाले अहिले यो समस्या भोग्नुपर्ने थिएन। तर काम प्रभावकारी ढंगले अघि नबढ्दा समस्या भएको स्थानीय बताउँछन्।
महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।