Trending
Prev Story
Next Story

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

Ekantipur •
October 15, 2026 • 06:21 PM
2
2 reads 0 reactions

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।

काठमाडौं — पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रमबीच कक्षा १२ मा अध्ययनरत डोम समुदायकी १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारासँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा राखेर उपन्यास रचिएको छ ।

कार्यक्रममा अञ्जुकुमारी मरिकले आफू विभेदकारी समाजसँग जुध्दै यहाँसम्म आइपुगेको कथा सुनाएकी थिइन् । ‘म १२ जिल्लामा बसोबास गर्ने डोम समुदायबाट छात्रवृत्तिमा कक्षा १२ मा अध्ययन गर्ने एक मात्र छोरी हुँ । मेरो यो यात्रामा बुबाको ठुलो योगदान छ,’ उनले भनिन् ।

उनले थपिन्, ‘हाम्रो समाजमा शिक्षाको मात्र होइन, जातिभेदको गहिरो पीडा छ । अनौठो कुरा के छ भने, बच्चा जन्मँदा वा विवाह जस्ता शुभ कार्यमा हाम्रो समुदायले दिएको आशीर्वाद र छोएको पानीलाई चोखो मानिन्छ तर अन्य समयमा हामीले छोएको पानी अशुद्ध ठहरिन्छ । मरेको मानिसलाई मुखाग्नी दिएपछि स्वर्गमा बास पाइन्छ भन्ने समाजले त्यही मरिक समुदायलाई भने अछुत मान्छ ।’

आफ्नो भविष्यको संकल्पबारे उनले भनिन्, ‘बाटो सहज छैन तर म समाजका छोरीहरूका लागि उदाहरण बन्न चाहन्छु । एक दिन हाम्रो समुदायका छोरीहरूलाई जातले होइन, उनीहरूको शिक्षा र क्षमताले चिनिनेछ ।’

कार्यक्रममा डा. रामजी रामले 'मगनी मरिक'ले मधेशको सीमान्तकृत समुदायको वास्तविक विडम्बना र राजनीतिक व्यवस्थामाथिको गम्भीर प्रश्न उठाएको बताए ।

‘हामी गणतन्त्र हेरिरहेका छौँ तर त्यो गणतन्त्रभित्र पनि अझै 'जाततन्त्र' जीवितै छ । राजा ढाल्नेहरूले राजतन्त्रकै चेतना र सफ्टवेयर बोकेर हिँडेका छन् कि छैनन् र गणतन्त्रमा जाततन्त्र ढाल्न सकियो कि सकिएन भन्ने प्रश्न यो पुस्तकले उब्जाएको छ,’ डा. रामजीले टिप्पणी गरे । मधेशमा पानी खान नपाउने, नेता र क्यामराहरू घेराभित्र मात्र सीमित हुने यथार्थबीच लेखकले भुइँमान्छेका घरमै पुगेर उनीहरूको आवाज लेख्ने हिम्मत गरेकोमा उनले प्रशंसा गरे ।

उपन्यासको पृष्ठभूमि र लेखन अनुभवबारे कान्तिपुरकर्मीसमेत रहेका लेखक सापकोटाले दुई दशक लामो पत्रकारिताका क्रममा रिपोर्टिङ गर्दा छुटेका अनुभूतिहरू नै 'मगनी मरिक' को आधार बनेको बताए । ‘मधेशमा जातप्रथा, गरिबी, कमजोर स्वास्थ्य र शिक्षाको अवस्था भयावह छ । पत्रकारिता गर्दा धेरै कुराहरू छुट्थे, जसलाई म डायरीमा लेख्ने गर्थेँ,’ सापकोटाले भने।

गाउँ–गाउँ पुग्दा भाषा र संवादका अनेकौं अप्ठ्याराहरू सामना गर्नुपरेको सम्झँदै उनले थपे, ‘त्यहाँका पात्रहरूको घरमै पुगेर उनीहरूको जीवनशैली र मनोदशा नजिकबाट देखेपछि मात्रै यो पुस्तक तयार भयो । मधेशबाट काठमाडौं डेढ-दुई सय किलोमिटर मात्र टाढा छ तर त्यहाँको पीडा र उत्पीडनको आवाज काठमाडौंसम्म आइपुग्न अझै धेरै समय लाग्छ ।’ अञ्जु जस्ता मधेशका छोरीहरूलाई मञ्चमा ल्याएर उनीहरूकै कथा प्रस्तुत गर्न पाउँदा खुसी लागेको पनि उनले बताए ।

कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै लेखक श्याम साहले उपन्यास आकारमा सानो भए पनि यसले पाठकलाई झट्का दिने बताए । मधेशको जातीय उत्पीडन, वैदेशिक रोजगारी, मानव तस्करी र प्रशासन तन्त्रको संवेदनाहीनतालाई पुस्तकले उजागर गरेको उनको भनाइ छ ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते प्रतिष्ठित बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते प्रतिष्ठित बुकर पुरस्कार

काठमाडौं : बेलायती लेखक एम जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द इन्ड अफ एभ्रिथिङ’का लागि सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन्। ८१ वर्षको उमेरमा यो सम्मान पाउने उनी इतिहासकै सबैभन्दा पाका लेखक...

#लेखक #उपन्यास
Compare →
Nagarik News
1w ago
इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

#सापकोटा
Compare →

Related Stories

National (Nepal)
Build #2611