पहिले १५७ रन बनाएको चितवनका लागि कमलसिंह ऐरीले चार र रिजन ढकालले दुई विकेट लिएपछि विराटनगर १४९ रनमै रोकियो।
काठमाडौँ — वेस्ट इन्डिजका आन्द्रे रसेलले दर्शकलाई रोमाञ्चक बनाउँदै १७ बलमा ३३ रन जोडे पनि विराटनगरको तल्लो क्रम सम्हालिन नसक्दा चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। कमलसिंह ऐरी र रिजन ढकालले बलिङमा राम्रो पार्टनरसिप गरेपछि उसले नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गरेको हो। कमलले चार विकेट लिए भने रिजनको नाममा २ विकेट रह्यो।
खेलको पहिलो इनिङमा राम्रो सुरुआत गरेको चितवनका देव खनाल र डाविड मलानले ५८ रनको अर्धशतकीय साझेदारी गरेका थिए। आठौं ओभरको अन्तिम बलमा देव खनाललाई चरिथा अशलंकाले लोकेश बमबाट स्टम्पिङ गराए। उनले १५ बलमा १२ रन जोडे।
तेस्रो नम्बरका अर्जुन साउँद तीन रनमा म्याथ्युजको सिकार बने। रवि बोपारा र डाविडले ११ रनको मात्रै साझेदारी गरे। एनपीएलका हाइप्रोफाइल खेलाडी आन्द्रे रशेलले डाविडलाई ७० रन बनाएको अवस्थामा बोल्ड गरे। तर यतिबेला चितवनको खातामा ९० रन पुगिसकेको थियो। जहाँ डाविडले समान पाँच-पाँच छक्का र चौका प्रहार गरेका थिए।
खेलमा कप्तानीको जिम्मेवारी पाएका रवी बोपाराले भने अविजित रहँदै २६ बलमा ३२ रनको योगदान गरे। डान मुस्लेको नाममा पनि २९ रन रह्यो। यससँगै उसले तीन विकेट क्षतिमा एक सय ५७ रन बनाएको हो।
विराटनगरका लागि म्याथ्युजले सबैभन्दा राम्रो बलिङ प्रदर्शन गरे।
जवाफमा विराटनगरले उत्कृष्ट ओपनिङ गर्यो। लोकेश बमले १४ बलमै २६ रन बनाए। यसक्रममा उनले चार चौका र एक छक्का प्रहार गरेका थिए। असलंक भने ८ रनमै पवेलियन फर्किए। विराटनगरको पहिलो विकेट रन्जित कुमारको नाममा रहँदा दोस्रो विकेट मोस्लेले लिएका थिए।
क्रिजमा सेट भइसकेका इमरान शेख ३१ बलमा ३९ रन बनाएर आउट भए। इमरानसँग उनको साझेदारीलाई मौसम ढकालले विवेक यादवको क्याचबाट तोडेका थिए। सेट हुन लागेका बशिर अहमद १३ बलमा १३ रन बनाएर आउट भए। कमल सिंह ऐरीले सीधा स्टम्पमा प्रहार गर्दा उनलाई बोल्ड गरेका हुन्। यससँगै विराटनगर ब्याकफुटमा पुगेको थियो।
त्यसपछि आन्द्रे रशेलको लगातार बाउन्ड्रीले विराटनगरका समर्थकलाई उत्साही बनाएको थियो। १५ र १६ औं ओभरमा विराटनगरलाई लयमा फर्काएका थिए। रशेलले एक चौका र चार छक्कासहित ३३ रन बनाएका उनलाई कमलले क्याचआउट गराएका हुन्।
त्यसपछि पनि उनले २ विकेट लिएर विराटनगरको तल्लो क्रमको ब्याटिङलाई धराशायी बनाए। एन्जेलो माथ्थिउजलाई १४ रनमा पवेलियन फर्काएका उनले पहिलो बल फेस गरेका रुपेशलाई कमलले नै आउट गराए।
रिजन ढकालले प्रतिशलाई गोल्डेन डक गराएपछि खेल रोमाञ्चक फिनिसको अवस्थामा पुगेको हो। अन्तिम १० बल बाँकी रहँदा २ विकेट मात्रै हातमा भएको विराटनगरलाई १६ रन आवश्यक थियो। तर रिजनले कप्तान सन्दीपलाई बोल्ड गरे।
अर्को बलमा देव खनालले नरेन साउँदको क्याच मिस गरे पनि अन्तिम २ बल बाँकी रहँदा टम टेलरले सुभम रन्जानेलाई बोल्ड गरेर खेल चितवनको पोल्टामा पारेका हुन्। यससँगै नाटकीय खेलमा जित निकालेर चितवनले पहिलो २ अंक सुरक्षित गरेको हो।
विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।