हेटौँडा बजारबाट पथलैयातर्फ गईरहेको बीआरआई एपी ६०७३ नम्वरको गाडी मंगलबार दिउँसो जाँच गर्ने क्रममा चालकको सिटमुनि फल्सबटम बनाएर लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो ।
हेटौँडा — प्रहरीले हेटौँडाबाट साढे ४२ केजी लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पथलैया हेटौँडा सडक खण्डमा पर्ने हेटौँडा उपमहानगरपालिका—१५ पिपलबोटमा भारतीय गाडी रोकेर चेकजाँच गर्ने क्रममा साढे ४२ केजी गाँजा फेला पारेको प्रहरीले बताएको छ ।
प्रहरीले गाडी चालक भारत बैसाली महुवा टोलका २५ वर्षीय बिर्जुकुमार राय र सोही गाडीमा रहेका भारत महुवाका २६ वर्षीय मन्जयकुमार रायलाई नियन्त्रणमा लिएको छ ।
हेटौँडा बजारवाट पथलैयातर्फ गईरहेको बीआरआई एपी ६०७३ नम्वरको गाडी मंगलबार दिउँसो प्रहरीले जाँच गर्ने क्रममा चालकको सिटमुनि फल्सबटम बनाएर लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो । प्रहरीका अनुसार फल्सबटममा प्लाष्टिकले प्याक गरेको १९ पोका गाँजा थिए । प्रहरीले भारतीय गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।