ट्रम्पले इरान युद्ध सानो विषय रहेको दाबी गरिहेका छन् । तर आसन्न निर्वाचनमा उनको रिपब्लिकन पार्टीका लागि यो निकै ठूलो राजनीतिक चुनौती बन्दै छ
वासिङ्टन — नुर दुबोले अमेरिकामा हुने निर्वाचनहरुमा सामान्यतः रिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई नै भोट हाल्ने गर्छन् । उनी बस्ने ओहायो राज्य रिपब्लिकन पार्टीको प्रभाव क्षेत्र हो ।
पार्टीको आर्थिक नीतिसँग आफ्नो विचार मिल्ने उनले बताए । यद्यपि, उनी कहिल्यै पनि राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थक भएनन् । ट्रम्पले आप्रवासीहरूप्रति प्रयोग गर्ने कठोर र अमर्यादित शब्दहरू उनलाई मन पर्दैन ।
यस पटकको संसदीय निर्वाचन ३ नोभेम्बरमा हुँदैछ । तर, विभिन्न राज्यमा कतिपय मतदान केन्द्रहरु त्यसअघि नै अर्ली भोटिङका लागि खुला छन् । त्यस्तै, कतिपयले मेल इन अर्थात् हुलाकमार्फत पनि मतदात गरेका छन् ।
अमेरिकाका झन्डै २१ करोड मतदातामध्ये सोमबारसम्म ३ करोड १० लाखभन्दा धेरैले अर्ली भोटिङ र मेल–इनमार्फत मतदान गरिसकेका छन् ।
४४ वर्षीय दुबोले यसपटक डेमोक्रेटिक पार्टीलाई मतदान गरेको बताए । इरानसँग युद्ध गर्ने ट्रम्पको निर्णयप्रतिको तीव्र असन्तुष्टिले उनको मत परिवर्तन हुनुको प्रमुख कारक हो ।
‘ रिपब्लिकन सांसद्हरू कहाँ छन् ?’ कोलम्बस शहरस्थित एक ढुवानी कम्पनीमा काम गर्ने दुबोले प्रश्न गरे, ‘रिपब्लिकनहरूले ट्रम्पलाई किन जबाफदेही बनाइरहेका छैनन् ?’ इन्धनको बढ्दो मूल्यले अर्थतन्त्रमा पारेको प्रत्यक्ष प्रभाव उनको कार्यस्थलमा पनि महसुस भएको छ ।
ट्रम्पले इरान युद्ध सानो विषय रहेको दाबी गरिहेका छन् । तर आसन्न निर्वाचनमा उनको रिपब्लिकन पार्टीका लागि यो निकै ठूलो राजनीतिक चुनौती बन्दै छ ।
ट्रम्पले सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन अभियानका दौरान अमेरिकालाई वैदेशिक युद्धबाट टाढै राख्ने बाचा गरेका गरेका थिए । चुनावी विजय र्यालीमा पनि उनले यही वाचा दोहोर्याएका थिए । तर, कालान्तरमा आफैं युद्धमा होमिए ।
२८ फेब्रुअरीमा इजरायलसँग मिलेर अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले पनि हर्मुज जलमार्गसहित पश्चिम एशियाका ढुवानी मार्गहरुमा अवरोध सिर्जना गरिरहेको छ । यस युद्धमा इरानमा ठूलो संख्यामा मानिस मारिएका छन् । अमेरिकाले धेरै धनराशी खर्च गरिसकेको छ ।
सुरुमा केही सातामात्र चल्ने दाबी गरिएको इरान युद्ध आठ महिना पुग्न लाग्दा पनि सकिने कुनै छाँट छैन । इन्धनको आकाशिँदो मूल्य र लम्बिँदो द्वन्द्वका कारण मतदाताहरूमा निराशा छाएको छ । यसको प्रत्यक्ष असर निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूमाथि परिरहेको छ ।
गत साता सार्वजनिक भएको ‘एपी–एनओआरसी’ को सर्वेक्षणअनुसार अमेरिकामा अधिकांश मतदाताहरु इरान युद्ध अन्त्य होस् भन्ने चाहन्छन् । युद्ध अन्त्यपछि मात्रै महँगी नियन्त्रण र विश्व अर्थतन्त्रमा देखिएको प्रतिकुल असर कम हुने उनीहरुको बुझाई छ ।
मतदातामाझ आफ्ना एजेन्डा लैजान रिपब्लिकनहरूका लागि परिस्थिति थप जटिल बन्दै गएको छ । इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरबका तेल प्रशोधन केन्द्र र विमानस्थलहरूमा शृंखलाबद्ध आक्रमण गरेपछि द्वन्द्व अझ चर्कँदो छ । जबाफमा साउदी नेतृत्वको गठबन्धनले पनि हुथी नियन्त्रित क्षेत्रमा घातक हमला जारी राखेको छ ।
यसैबीच, इरानले पश्चिम एशिया र अन्य क्षेत्रमा रहेका अमेरिकी कर्मचारीहरूलाई लक्षित गर्न सक्ने सुचना अमेरिकी गुप्तचरहरुले दिएका छन । यसपछि अमेरिकी विदेश मन्त्रालयले पश्चिम एशियाका चारवटा दूतावासबाट आफ्ना कर्मचारीको संख्या कटौती भइरहेको जनाएको छ ।
युद्धको प्रभावलाई सामान्य मान्दै ट्रम्प
अमेरिकामा इन्धनको मूल्य कीर्तिमानी विन्दु नजिक छ । गत जुन महिनादेखि यहाँ पेट्रोलको मूल्य प्रति ग्यालोन ४ डलरभन्दा माथि छ । घट्ने कुनै छाँट पनि देखिएको छैन । जसकारण, आयवा, कान्सास, ओहायो र टेक्ससजस्ता रिपब्लिकनका पार्टीका प्रभाव क्षेत्रमै डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुले कडा चुनौती दिनसक्ने अवस्था बनिरहेको छ ।
यही समय ट्रम्पले दुविधाग्रस्त अभिव्यक्ति दिइरहेका छन् । उनी कहिले युद्ध अन्त्य हुनै लागेको दाबी गर्छन् । कहिले निर्वाचनलगत्तै इरानमाथि थप बम आक्रमण गर्ने चेतावनी दिन्छन् ।
इरानलाई आणविक हतियार बनाउन नदिनका लागि आक्रमण गरिएको उनको दाबी छ । यस युद्धले तत्काल मूल्यवृद्धि बढाएपनि इरानलाई आणविक हतियार निर्माणबाट रोक्ने तर्क उनले गर्दै आएका छन् ।
मिसिगनमा आयोजित एक चुनावी सभामा ट्रम्पले युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नरहेको बताए । उनले युद्धको आर्थिक प्रभाव सोचेभन्दा निकै कम रहेको दाबी गरे ।
‘मलाई त पेट्रोलको मूल्य दोब्बर वा तेब्बर हुन्छ भन्ने लागेको थियो । सन्काहाहरूको हातबाट आणविक हतियार खोस्नका लागि हामीले जस्तोसुकै मूल्य चुकाउनु्पर्ने हुन्छ ।यो त सानो मूल्य हो ।’
लेहाइ विश्वविद्यालयका प्राध्यापक तथा जनमत विशेषज्ञ क्रिस्टोफर बोरिकका अनुसार इरानबारे ट्रम्पको यो दोहोरो र विरोधाभासपूर्ण सन्देशले रिपब्लिकन उम्मेदवारहरूलाई निकै असजिलो स्थितिमा पुर्याइदिएको छ ।
‘युद्धबारे ट्रम्पको सन्देश र दाबीहरूबाट प्रभावित हुने मतदाताको संख्या तीव्र रूपमा घट्दो छ,’ बोरिकले भने, ‘द्वन्द्वको प्रभावले निराश बनेका मतदाताहरूको नकारात्मक दृष्टिकोण बदल्न यस्ता दाबीहरुले सक्दैनन् ।’
गत मे महिनामा ह्वात्तै बढेको पेट्रोलको तेलको मूल्य जुन महिनामा इरानसँग युद्धविराम सहमतिमा हस्ताक्षर भएपछि केही घटेको थियो । तर, यो सहमति लामो समय टिक्न सकेन । फेरि युद्ध भड्कियो र सेप्टेम्बरमा मूल्य पुनः उकालो लाग्यो ।
राजनीतिक विश्लेषकहरुले विभिन्न आन्तरिक सर्वेक्षणहरू उद्धृत गर्र्दै खाद्यान्नको मूल्यवृद्धि र गाडी भाडासँग जोडेर मतदाताले इरान युद्धलाई हेर्न थालेको बताएका छन् ।
युद्धका कारण सर्वसाधारणलाई जीवनयापन गर्न कठिनाइ भइरहेको भन्दै आरोप ट्रम्पले भने स्विकारेका छैनन् । उनले डेमोक्रेटिक पार्टीले यस्ता भ्रम वा अफवाह फैलाएको दाबी गरिरहेका छन् ।
तर, महँगीले धैर्यताको बाँध टुट्न लागेको मतदाताहरु बताइरहेका छन् । ५९ वर्षीय क्ले कोए इरानमाथिको आक्रमण जायज ठान्छन् । किनकि, उनले इरानलाई अमेरिकाको सुरक्षा चुनौती ठान्ने गरेका छन् । उनलाई केही समय महँगी खेपेरै भएपनि इरानलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । तर, कारमा पेट्रोल भर्दा कहिलेकाहीँ झस्कने गरेको अनुभव उनले सुनाए ।
‘के मलाई मूल्यवृद्धि मन परेको छ र ? पक्कै छैन । म त यो पुरानो गाडी गुडाउँछु,’ मिसिगनको डिभिटमा बस्ने कोएले भने, ‘तर, जीवनमा यस्तो मोड पनि आउँछ, जहाँ केही पाउनका लागि केही गुमाउनुपर्छ ।’
रिपब्लिकन समर्थक केही मतदाताहरू भने ट्रम्पले युद्ध केही साताभित्रै सकिने दाबी गरेर गम्भीर भुल गरेको टिप्पणी गर्छन् ।
आयोवाकी ६१ वर्षीया एलिजाबेथ मार्लेटले ट्रम्पले विगतमा युद्धको निश्चित समयसीमा नतोकेको भए राम्रो हुने बताइन् । इरानलाई आत्मसमर्पण गराउन अमेरिकी सेनालाई अझ सशक्त रूपमा प्रस्तुत हुन आदेश दिनुपर्ने धारणा पनि उनले व्यक्त गरिन् । यी सबैका बाबजुद उनी ट्रम्पकै पक्षमा छिन् ।
‘युद्ध सकिन अपेक्षाभन्दा बढी समय लागे पनि हामीले आफ्ना कमान्डर–इन–चिफलाई साथ दिनुपर्छ,’ आयोवाको रिपब्लिकन बाहुल्य उत्तर–पश्चिम क्षेत्रकी गाईपालक मार्लेटले भनिन्, ‘जीवन यस्तै हो, र आफूले सुरु गरिसकेको कामबाट हामी पछि हट्न सक्दैनौ“ ।’
इरान द्वन्द्वलाई लिएर थोरैमात्र रिपब्लिकन सांसद्हरुले ट्रम्पको विरोध गरेका छन् । तर, महँगीले आक्रान्त मतदातासामु युद्धको औचित्य पुष्टि गर्न पनि उनीहरुलाई सहज छैन । त्यस्तै, युद्ध कहिले टुंगिन्छ भन्ने पनि स्पष्ट छैन ।
इरान युद्ध सानो विषय रहेको भन्दै ट्रम्पले यस निर्वाचनमा उक्त युद्धले कुनै प्रभाव नपार्ने जिकिर गरिरहे.का छन् । त्यस्तै, द्वन्द्वप्रतिको आफ्नो रणनीतिमा यस निर्वाचनको परिणामले पनि कुनै असर नपार्ने उनको दाबी छ ।
तर, पार्टीका केही रणनीतिकारहरूले भने विगत केही महिनादेखि नै युद्धले निर्वाचनमा पार्ने प्रभावबारे चेतावनी दिइरहेका थिए । रिपब्लिकन पार्टीको नेतृत्वलाई सल्लाह–सुझाव दिदैं आएका पाँचजना रणनीतिकारहरुले ‘एसोसिएटेड प्रेस’ (एपी) सँग कुरा गर्दै युद्धका कारण पार्टीका उम्मेदवारहरुले निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउनसक्ने संकेत गरे ।
गत जुन महिनामा ट्रम्पले तेहरानसँग अस्थायी युद्धविराम सम्झौता गरेपछि ट्रम्प र ह्वाइट हाउसका अधिकारीहरू केही विश्वस्त देखिएका थिए। तर, त्यो सम्झौता केही सातामै भङ्ग भयो।
ट्रम्पको इरान युद्ध सुरु गर्ने निर्णयलाई उनका केही समर्थकहरूले ‘अमेरिका फस्र्ट’ (पहिला अमेरिका) अभियानको मुख्य सिद्धान्तमाथिकै विश्वासघातका रूपमा लिएका छन् । ट्रम्पले अघिल्ला राष्ट्रपतिहरूझैँ अमेरिकालाई अन्त्यहिन युद्धहरूमा नफसाउने बाचा गरेका थिए ।
अलबामास्थित अउबर्न विश्वविद्यालयका २१ वर्षीय विद्यार्थी सन ओब्रायनले ट्रम्पको इरानसम्बन्धी निर्णयले आफूलाई निकै निराश बनाएको बताए । यसै वर्षको सुरुवातमा कन्जरभेटिभराजनीतिक शक्तिहरूको ठूलो भेला ’कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स’ (सीपीएसी) मा सहभागी भएका ओब्रायन अहिले आफ्नो राजनीतिक सोचमाथि नै पुनर्विचार गर्दैछन् ।