पहाडका टाढाटाढाका गाउँमा पनि क्रिकेटको चर्चा छ । फरक यत्ति हो, सहरका समर्थकहरू मोबाइल, टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट खेल हेर्दै आफ्नो टिमलाई समर्थन गरिरहेका बेला दुर्गम गाउँका समर्थकलाई भने खेल हेर्न सहज भएको छैन ।
अछाम — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्ससँग सुदूरपश्चिम रोयल्स भिडिरहँदा सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रेमीको ध्यान पनि काठमाडौंस्थित त्रिवि क्रिकेट खेल मैदानतिरै तानिएको छ । कसले कति रन बनायो ?, कुन खेलाडीले कति विकेट लियो ? वा आफ्नो टिम जिततर्फ अघि बढ्यो कि पछि पर्यो भन्ने चासो सहरबजारमा मात्र सीमित छैन ।
पहाडका टाढाटाढाका गाउँमा पनि क्रिकेटको चर्चा छ । फरक यत्ति हो, सहरका खेल समर्थकहरू मोबाइल, टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट खेल हेर्दै आफ्नो टिमलाई समर्थन गरिरहेका बेला दुर्गम गाउँका समर्थकलाई भने खेल हेर्न सहज भएको छैन ।
अछामको मंगलसेन नगरपालिका–८ ज्ञ्यानेगौडीका १८ वर्षीय निराजन भण्डारीलाई दसैं–तिहार बिदामा यसपटकको गाउँमै बसेर एनपीएल हेर्ने रहर थियो । पढाइको सिलसिलामा काठमाडौं बस्ने उनी बिदामा घर आएका थिए । सुदूरपश्चिम रोयल्सको खेल हेर्ने उत्साह त थियो, तर आफ्नै गाउँमा बसेर खेल हेर्न सक्ने अवस्था भएन । फोनको नेटवर्कसमेत राम्रोसँग नटिप्ने भएपछि उनी सोमबारको खेल हेर्न मामाघर पुगे ।
सदरमुकाम मंगलसेनभित्रै पर्ने गाउँमा बसेर खेल हेर्न नपाएपछि अर्को ठाउँ पुग्नुपर्ने बाध्यता निराजनका लागि सामान्य जस्तै बनिसकेको छ । एनपीएलका खेल भइरहँदा भने यही बाध्यता उनलाई बढी खट्किन्छ । आफूले समर्थन गर्ने टिम मैदानमा खेलिरहेको हुन्छ, तर गाउँमा बसेर त्यसको प्रत्यक्ष प्रसारण हेर्न नसकिने बाध्यता रहेको उनी बताउँछन् ।
‘हिजो (सोमबार) भएको सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सको खेल हेर्न मामाघर पुगेँ । मेरो गाउँमा फोनको नेटवर्कसमेत राम्रोसँग टिप्दैन । हरेक दिन घर छोडेर खेल हेर्न नेट चल्ने ठाउँमा जान पनि सम्भव छैन,’ उनले भने, ‘एनपीएलका सबै खेल र विशेषगरी आफूले मन पराएको टिमको खेल इन्टरनेटको पहुँच नभएकै कारण हेर्न नपाउँदा पीडा हुन्छ ।’
क्रिकेटप्रतिको लगाव हुँदाहुँदै पनि खेल हेर्नकै लागि हरेक दिन ठाउँ खोज्दै हिंड्नुपर्ने भएपछि निराजनले बिदा छोट्याएर काठमाडौं फर्किने योजना बनाएका छन् । गाउँमा आफन्तसँग बसेर चाडपर्व मनाउने र फुर्सदको समय खेल हेरेर बिताउने उनको चाहना इन्टरनेटको अभावले पूरा हुन सकेन । ‘म पढाइको सिलसिलामा काठमाडौं बस्छु । एक महिनाको बिदामा गाउँ आएको हुँ । हरेक दिन एनपीएल हेर्न संघर्ष गर्नुभन्दा तिहारअघि नै काठमाडौं फर्किन्छु,’ उनले भने ।
अछामकै ढकारी गाउँपालिका–७ ढुंगाचाल्नाका निर्मल बुढाको अनुभव पनि फरक छैन । ढकारीका गाउँमा पछिल्लो समय बालबालिका र युवामा क्रिकेटप्रतिको चासो बढ्दै गएको उनी बताउँछन् । तर, खेल हेर्न चाहने सबैले सहजै प्रत्यक्ष प्रसारण हेर्न पाउँदैनन् । कुन ठाउँमा नेटवर्क चल्छ भन्ने थाहा पाएपछि त्यतै पुगेर खेल हेर्नुपर्ने अवस्था छ ।
सोमबारको खेल हेर्न निर्मल आफ्नो गाउँबाट छिमेकी रुज गाउँ पुगे । त्यहाँ नेपाल टेलिकमको मोबाइल डेटा चल्ने भएकाले खेल हेर्न सम्भव भयो । गाउँमा बसेर हरेक खेल हेर्न ठाउँ परिवर्तन गर्नुपर्ने बाध्यतामा निर्मल पुगेका छन् । ‘सोमबारको खेल हेर्न रुज भन्ने गाउमा गयौं । त्यता एनटीसीको डाटा चल्छ । एक गाउँबाट अर्को गाउँ, जहाँजहाँ अग्लो ठाउँ छ । त्यतै गएर हेर्नुपर्ने बाध्यता छ,’ उनले भने ।
निर्मलका अनुसार ढकारीका धेरै बस्तीमा बिजुलीसमेत पुगेको छैन । वडा कार्यालय रहेका क्षेत्र आसपासका बस्तीमा केही सुविधा भए पनि अन्य ठाउँमा विद्युत् र इन्टरनेटको पहुँच कमजोर छ । यस्तो अवस्थामा मोबाइलमा प्रत्यक्ष प्रसारण हेर्नु स्थानीयका लागि सहज विकल्प बन्न सकेको छैन ।
इन्टरनेट चल्ने ठाउँमा पुग्न सके मात्र खेल हेर्न पाउने अवस्था छ । ‘सहरबजारमा नेट चल्छ । सहजै खेल हेर्न सकिन्छ । सार्वजनिक ठाउँमा पनि एनपीएल हेर्न सकिने व्यवस्था छ । जहाँ कुनै सुविधा छैन, त्यस्तो ठाउँ कसैको नजर पर्दैन,’ उनले भने, ‘एनपीएल हेर्न चाहनेहरू गाउँमा पनि छन् भन्ने कसैले बुझ्दैनन् ।’
उनका अनुसार ढकारी, तितौडालगायतका ठाउँमा नेपाल टेलिकमका टावर जडान गरिए पनि सञ्चालनमा नआउँदा स्थानीयले सेवा पाउन सकेका छैनन् । ‘टावर बनेर पनि सेवा नचल्नुले दुर्गम बस्तीमा सञ्चार सुविधाको समस्या कति जटिल छ भन्ने देखाउँछ । खेल हेर्न चाहने मजस्ता धेरैका लागि नेटवर्कको अभाव खेल हेर्न नपाउनु मात्रै होइन । संचार सेवाबाट कतिसम्म वञ्चित छन् भन्ने देखाउँछ ।’
तुर्माखाँद गाउँपालिका–४ का कमल बुढा भलिबल खेलाडी हुन् । खेलकुदसँग उनको सम्बन्ध मैदानमा खेल्ने र खेल हेर्ने दुवैसँग जोडिएको छ । पछिल्लो समय गाउँगाउँमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको उनी देख्छन् । तर, आफू बस्ने गाउँमा इन्टरनेट नहुँदा खेलको प्रत्यक्ष प्रसारण हेर्न र नियमित अपडेट लिन सहज छैन ।
सोमबारको एनपीएल खेल हेर्न उनी गाउँपालिकाको केन्द्र तुर्माखाँद बजार पुगे । बजारमा इन्टरनेटको सुविधा भएकाले खेल हेर्न पाए । गाउँमा भने इन्टरनेट सेवा त परको कुरा, फोन गर्नसमेत समस्या रहेको उनले बताए । ‘सोमबार तुर्माखाँद बजारमा बसेर एनपीएल हेरेँ । गाउँमा नेट त के, फोनसमेत लाग्दैन । गाउँमा बस्नेहरूले कसले कति रन हान्यो, कति विकेट गए, व्यक्तिगत रन कति भयो जस्ता प्रश्न सोधेर फोनबाटै जानकारी दिनुपर्यो,’ उनले भने, ‘यस्तो अवस्था देख्दा दुःख लागेको छ ।’
उनका अनुसार सुदूरपश्चिममा क्रिकेटप्रतिको आकर्षण बुझ्न एनपीएलको प्रसारण मात्र हेरेर पुग्दैन । आफ्नो भूगोल र सामाजिक परिवेशसँग जोडिएको टिमप्रतिको लगाव पनि महत्वपूर्ण छ ।‘हरेक प्रदेशबाट प्रदेशकै प्रतिनिधित्व गर्ने टिम भएकाले यसका खेलले स्थानीय समर्थकलाई एउटै भावनात्मक धागोमा जोड्छन् । टिमले राम्रो प्रदर्शन गर्दा खुसी हुने र हार्दा निराश हुने समर्थकको सम्बन्ध खेलको नतिजासँग मात्र होइन, आफूले प्रतिनिधित्व गरेको ठाउँको पहिचानसँग पनि गाँसिएको हुन्छ,’ कमलले भने, ‘एनपीएलको मैदानमा बनाउने रन र लिने विकेटसँग जोडिन चाहने समर्थकका लागि भूगोलले अझै ठूलो अवरोध खडा गरेको छ ।’
मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।