Trending
Prev Story
Next Story

क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा आयो । तर, एक वर्ष नबित्दै रोग फेरि बल्झियो । यसपटकको क्यान्सर झन् गम्भीर …

क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा

बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा आयो । तर, एक वर्ष नबित्दै रोग फेरि बल्झियो । यसपटकको क्यान्सर झन् गम्भीर थियो ।

क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेकी किशोरीलाई त्यतिबेला आफ्नो ज्यान बचाउनु नै सबैभन्दा ठूलो चुनौती थियो ।

डाक्टरहरूले तत्काल पहिलेभन्दा कडा केमोथेरापी सुरु गर्नुपर्ने बताए । उपचार ढिला गर्न मिल्ने अवस्था थिएन । त्यसले उनको प्रजनन क्षमतामा पार्न सक्ने असरबारे बेकन सचेत थिइन् ।

त्यतिबेला उनी गाडी चलाउन सिक्ने र विद्यालयको अन्तिम परीक्षाको तयारी गर्ने उमेरमा थिइन् । जीवनका सामान्य सपना देख्ने समयमा उनले क्यान्सरसँग लड्नुपरेको थियो ।

त्यसबीच पनि भविष्यमा आफ्नो सन्तान होस् भन्ने चाहना भने उनले त्यागिनन् । ‘त्यो उमेरमा यस्तो परिस्थितिबाट गुज्रनु निकै कठिन थियो’ उनले बीबीसी वर्ल्ड सर्भिसको कार्यक्रम ‘न्युजआवर’ सँग भनेकी छिन् ।

भविष्यमा आमा बन्ने आशा जोगाउने निर्णय

सामान्यतया महिलाले भविष्यमा गर्भधारण गर्न कठिनाइ हुन सक्ने अवस्थामा आफ्नो डिम्ब निकालेर सुरक्षित राख्न सक्छन् । तर, त्यसका लागि हर्मोनको सुई लगाउँदै केही हप्ता कुर्नुपर्ने हुन्छ ।

बेकनसँग त्यति समय थिएन । क्यान्सरको उपचार तत्काल सुरु गर्नुपर्ने भएकाले डिम्ब निकालेर सुरक्षित राख्ने सामान्य प्रक्रिया उनका लागि सम्भव भएन । त्यसपछि उनले अर्को विकल्प रोजिन् । त्यो विकल्प त्यतिबेला प्रयोगात्मक अवस्थामै थियो ।

उनले डिम्बाशयबाट डिम्ब उत्पादन गर्ने तन्तुका केही टुक्रा निकालेर सुरक्षित राख्ने निर्णय गरिन् । पछि आफू आमा बन्न तयार भएपछि ती तन्तु पुनः शरीरमा प्रत्यारोपण गर्न सकिन्थ्यो ।

बेकनको डिम्बाशयबाट चारवटा साना तन्तुका नमुना निकालिए । ती नमुनालाई भविष्यमा प्रयोग गर्न सकिने आशामा अत्यन्त कम तापक्रममा फ्रिज गरेर राखियो । तर, यसरी सुरक्षित राखिएका तन्तुबाट भविष्यमा बच्चा जन्माउन सकिन्छ भन्ने कुनै निश्चितता थिएन। तैपनि बेकनले आशा मारिनन् ।

क्यान्सर निको भयो, तर ३३ वर्षमै महिनावारी रोकियो

बेकनको क्यान्सर उपचारका लागि बोन म्यारो प्रत्यारोपण गरियो र केमोथेरापी दिइयो । उपचार सफल भयो । उनी क्यान्सरमुक्त भइन् । तर, क्यान्सर नियन्त्रणमा ल्याउन दिइएको कडा उपचारले उनको डिम्बाशयमा गम्भीर असर पुर्‍यायो । डाक्टरहरूले आशंका गरेजस्तै उनी ३३ वर्षको उमेरमै रजोनिवृत्तिको अवस्थामा पुगिन् । अर्थात्, उनको महिनावारी बन्द भयो ।

अब प्राकृतिक रूपमा गर्भधारण गर्ने सम्भावना निकै कम भएको थियो । तर, १९ वर्षको उमेरमा सुरक्षित राखिएका डिम्बाशयका तन्तु अझै भविष्यको आशा बनेर बसेका थिए । बेकनले ती तन्तु पुनः शरीरमा प्रत्यारोपण गर्न सक्ने चिकित्सकको खोजीमा करिब १० वर्ष बिताइन् ।

त्यसमा अर्को समस्या पनि थियो । तन्तु निकालेर सुरक्षित राखिएको समयमा बेलायतमा यस प्रक्रियासम्बन्धी कानुनी व्यवस्था अहिलेको जस्तो थिएन । त्यसैले दुई दशकपछि तन्तु पुनः प्रत्यारोपण गर्न आवश्यक कागजात जुटाउनु चुनौतीपूर्ण बन्यो ।

उनको पहिलो शल्यक्रिया गरेकी डा. सारा म्याथ्युजले यस यात्रामा साथ दिइरहिन् । अन्ततः उनले इजरायलको रमत गानस्थित शेबा मेडिकल सेन्टरमा यो प्रक्रिया गर्न सकिने व्यवस्था मिलाउन सहयोग गरिन् ।

बेकनका लागि दुई दशकभन्दा लामो प्रतीक्षापछि तन्तु पुनः प्रत्यारोपण गर्ने अवसर आएको थियो । तर, उनको आशा फेरि अनिश्चिततामा धकेलियो । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण उनको उपचार प्रक्रिया प्रभावित भयो । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही तीव्र बनायो ।

बेकनलाई आफ्नो जीवनभर जोगाएर राखेको आशा पनि गुम्ने हो कि भन्ने डर लाग्यो । ‘मैले सोचेँ, कतै मेरो एक मात्र आशा पनि समाप्त हुने त होइन ?’ उनले बीबीसीसँग भनेकी छिन् ।

सन् २०२४ मेमा केही समयका लागि युद्धविराम भएपछि उनी इजरायल गइन् । त्यहाँ उनको सुरक्षित राखिएको डिम्बाशयको तन्तु पुनः शरीरमा प्रत्यारोपण गरियो।

उपचारपछि बेलायत फर्किन विमानमा बसेको केही घण्टामै युद्धविराम समाप्त भएको थियो । ‘यस्तो कथा त लेख्न पनि सकिँदैन’ उनले आफ्नो अनुभव सुनाउँदै भनेकी छिन् ।

कसरी काम गर्छ डिम्बाशयको तन्तु प्रत्यारोपणले ?

डिम्बाशयको तन्तु सुरक्षित राख्ने प्रक्रिया भविष्यमा प्रजनन क्षमता जोगाउने एउटा विकल्प हो । विशेषगरी क्यान्सरको उपचारका कारण डिम्बाशयमा असर पर्न सक्ने बालिका, किशोरी तथा महिलाका लागि यो उपयोगी हुन सक्छ ।

यस प्रक्रियामा डिम्बाशयबाट डिम्ब उत्पादन गर्ने तन्तुका साना टुक्रा निकालिन्छन् । ती तन्तुलाई प्रयोगशालामा फ्रिजिङ गरी सुरक्षित राखिन्छ । पछि आवश्यक परेको अवस्थामा तिनलाई पगालेर डिम्बाशयको बाँकी भागमा वा त्यसको नजिक पुनः प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपित तन्तु शरीरका रक्तनलीसँग जोडिन सफल भएमा त्यसले पुनः काम गर्न थाल्न सक्छ । त्यसपछि डिम्बाशयको हर्मोन उत्पादन र डिम्ब बन्ने प्रक्रिया फर्किन सक्ने सम्भावना हुन्छ ।

सन् २०२४ मा प्रकाशित एक अध्ययनअनुसार, यस्तो प्रत्यारोपणपछि ९४ प्रतिशतसम्म महिलामा महिनावारी तथा डिम्ब उत्पादनको चक्र पुनः सुरु हुन सक्छ । त्यस्तै, सन् २०२२ को अर्को अध्ययनले डिम्बाशयको तन्तु प्रत्यारोपण गरिएका करिब २८ प्रतिशत अवस्थामा जीवित शिशुको जन्म भएको देखाएको थियो ।

यद्यपि, सफलता व्यक्तिको उमेर, सुरक्षित राखिएको तन्तुको अवस्था, उपचारको प्रकृति तथा अन्य स्वास्थ्यसम्बन्धी पक्षमा निर्भर गर्छ । सबैमा यसले गर्भधारण सम्भव बनाउँछ भन्ने हुँदैन ।

सन् २०२४ मा डिम्बाशयको तन्तु प्रत्यारोपण गरेको केही महिनापछि बेकनको महिनावारी फर्कियो । यसले उनको शरीरमा डिम्बाशयले पुनः काम गर्न थालेको संकेत दियो ।

उनले प्राकृतिक रूपमा गर्भधारण गर्ने प्रयास गरिन् । तर, सफलता मिलेन । त्यसपछि चिकित्सकले उनलाई र उनका साथीलाई इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) विधि अपनाउन सुझाव दिए ।

उनीहरूले तीनपटक आईभीएफ गराए । अन्ततः गत वर्ष क्रिसमसका दिन बेकनले गर्भवती भएको पुष्टि गर्ने परीक्षण प्राप्त गर्न सफल भइन् । त्यो क्षण उनका लागि वर्षौंदेखिको प्रतीक्षा, संघर्ष र आशाले सार्थकता पाएको क्षण थियो ।

‘१९ वर्षको उमेरमा मेरो शरीरमा रहेको आमा बन्ने क्षमताले ४३ वर्षको उमेरमा मलाई नयाँ जीवन दियो’ उनले भनेकी छिन् ।

बेकनले २०२६ को सेप्टेम्बरमा आफ्नो पहिलो सन्तान छोरालाई जन्म दिइन् । २० वर्षभन्दा लामो समयसम्म सुरक्षित राखिएको डिम्बाशयको तन्तु पुनः प्रत्यारोपण गरेपछि जन्मिएको यो बच्चा विश्वकै पहिलो हुन सक्ने बताइएको छ ।

बेकनले पछिल्लो २५ वर्षदेखि क्यान्सरमुक्त जीवन बिताइरहेकी छिन् ।

‘त्यतिबेलाको निर्णयका लागि आफूलाई धन्यवाद दिन्छु’

बेकनको कथा सार्वजनिक भएपछि धेरै महिलाले उनलाई सन्देश पठाएका छन् । उनीहरूले उनको संघर्ष र दृढताबाट आफूहरूले पनि हिम्मत पाएको बताएका छन् । उनको उपचारमा संलग्न डा. म्याथ्युजका अनुसार अहिले क्यान्सरको उपचार गर्नुअघि नै बिरामीसँग भविष्यमा सन्तान जन्माउने सम्भावना सुरक्षित राख्ने विकल्पबारे छलफल गर्न थालिएको छ ।

बालबालिका तथा किशोरकिशोरीमा हुने क्यान्सरको उपचार सफल हुने सम्भावना बढ्दै गएकाले उपचारपछि उनीहरूले सामान्य जीवन बिताउन र आफ्नो परिवार बनाउन सक्ने सम्भावनालाई पनि महत्त्व दिन थालिएको उनको भनाइ छ ।

‘हामी चाहन्छौँ, यी बालबालिका हुर्किऊन् र सामान्य जीवन बाँचून् । आफ्नो परिवार बनाउन सक्ने सम्भावना पनि त्यस्तो जीवनको महत्त्वपूर्ण हिस्सा हो’ डा. म्याथ्युज भन्छिन् ।

आफ्नो किशोरावस्थालाई सम्झँदा बेकनलाई अहिले पनि अचम्म लाग्छ, त्यति सानो उमेरमा उनले भविष्यका लागि यति ठूलो निर्णय कसरी लिन सकिन् ? कठिन परिस्थितिमा पनि आफ्नो निर्णयमा कसरी अडिग रहिन् ?

तर, आज उनको काखमा छोरा ल्यान्डन छन् । कुनै समय भविष्यमा आमा बन्ने सम्भावना नै अनिश्चित बनेको थियो । त्यही सम्भावना जोगाउन किशोरावस्थामा लिएको निर्णयले दुई दशकभन्दा लामो समयपछि उनलाई मातृत्वको सुख दिएको छ ।

‘मलाई लाग्छ, विगतमा फर्केर हेर्दा आफूले गरेको त्यो निर्णयका लागि आफैँलाई धन्यवाद दिनुपर्छ’ उनी भन्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
14h ago
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ। नेपाल सरकारको ११औं तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्र...

#क्यान्सर
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#क्यान्सर
Compare →

Related Stories

Health & Wellness
Build #2611