साउदी अरबमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम बढिरहेका बेला रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन र स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।
काठमाडौँ — साउदी अरबमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम बढिरहेका बेला रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन र स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।
राजदूतावासले सोमबार जारी गरेको सूचनामा सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन, साउदीका आधिकारिक निकायले जारी गरेका सूचनालाई नियमित रूपमा हेर्न र सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको हो।
यमनका हुथी विद्रोही समूह र साउदी अरबबीचको द्वन्द्व चर्किएका बेला साउदीका विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमणका घटना भएका छन्। मंगलबार साउदी नेतृत्वको गठबन्धनले पूर्वी र दक्षिणी क्षेत्रमा लक्षित तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र र चारवटा ड्रोन रोकेको जनाएको छ।
यसअघि गत अक्टोबर २१ मा साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा लक्षित ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि त्यसको भग्नावशेष ठेकेदारको गाडीमा खसेको थियो। घटनामा एक नेपाली र एक फिलिपिनो श्रमिकको मृत्यु भएको थियो भने पाकिस्तानी र भारतीय श्रमिक घाइते भएका थिए।
सोही दिन दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो। आठ जना घाइतेमध्ये एक नेपाली थिए। यी घटनापछि साउदीमा कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढेको छ।
राजदूतावासले साउदीका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि आग्रह गरेको छ। अपुष्ट सामग्री अरूलाई पठाउनसमेत नहुने सूचनामा उल्लेख छ।
हवाई यात्रा गर्ने नेपालीलाई पनि सावधानी अपनाउन भनिएको छ। साउदी अरबबाट नेपाल वा अन्य देशमा यात्रा गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडानको निर्धारित तालिका परिवर्तन भए–नभएको यकिन गरेर मात्र विमानस्थल जान दूतावासले अनुरोध गरेको छ।
साउदीमा रहेका नेपालीलाई आवश्यक सहयोग परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न पनि भनिएको छ।
साउदी अरबमा करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान छ। पछिल्ला आक्रमणले त्यहाँ कार्यरत नेपालीको सुरक्षा र आवागमनमा थप सतर्कता आवश्यक बनाएको छ।
मोबाइल/ह्वाट्सएप: +966559389600, +966535692658
मोबाइल/ह्वाट्सएप: +966535024169, +966559744253, +966531328957