टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले कीर्तिपुरमा चितवनलाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ रवि बोपाराले पहिलोपटक कप्तानी गर्दैछन्।
काठमाडौँ — विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि चितवनलाई ब्याटिङको निम्तो दिएका हुन्।
चितवनबाट रवि बोपाराले पहिलो पटक कप्तानी गरेका छन्। अघिल्ला दुई सिजन कुशल मल्लले चितवनको कप्तानी गरेका थिए। पहिलो सिजन प्लेअफमा पुगेको चितवन दोस्रो सिजन भने शीर्ष चारमा पर्न सकेको थिएन। बोपारा एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीमध्ये एक हुन्।
पूर्वकप्तान कुशल मल्ल भने चितवनको प्लेइङ ११ मा छैनन्। रवि बोपाराको कप्तानीमा चितवनबाट देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल, विवेककुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, डेबिड मलान, ड्यान मोस्ली र टम टेलर खेलिरहेका छन्।
विराटनगरबाट कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, इमरान शेख, प्रतिश जिसी, बसिर अहमद, नरेन साउद, रुपेश सिंह, आन्द्रे रसेल, चरिथ असलंका, एन्जेलो म्याथ्युज र शुभम रञ्जाने खेलिरहेका छन्।
चितवन राइनोजले अनुबन्ध गरेका पाकिस्तानी खेलाडी हसन अली, उसामा मिर र मोहम्मद नवाज भने खेल्ने छैनन्। उनीहरू चितवनको वार्मअपमा देखिएका थिएनन्।
पाकिस्तान क्रिकेट बोर्डले एनपीएल खेलेबापत प्रतिखेलाडी २५ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने बताएको थियो। त्यसपछि चितवन पाकिस्तानी खेलाडीलाई खेलाउने निर्णयबाट पछि हटेको बताइएको छ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पाकिस्तानी खेलाडीलाई एनपीएलमा खेलाउन चाहेमा पाकिस्तान क्रिकेट बोर्डले तोकेको शुल्क तिर्नुपर्ने र त्यसबाहेक अर्को विकल्प नरहेको बताएका छन्। पाकिस्तानी खेलाडी नखेल्ने भएपछि चितवनले विदेशी खेलाडीको कोटामा सबै इंग्लिस खेलाडीलाई खेलाएको छ।