हमासको आक्रमण रोक्न नसकेको भन्दै आलोचना खेपिरहेका नेतान्याहुसामु युद्ध, भ्रष्टाचार आरोप र विभाजित जनमतबीच सत्ता जोगाउने चुनौती
तेल अभिभ — इजरायलको संसद्का १२० सिटका लागि मंगलबार निर्वाचन सुरु भएको छ । यस निर्वाचनमा कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्ने सम्भावना कम रहेको निर्वाचनपूर्वका जनमत सर्वेक्षणहरुले देखाएका छन् ।
मत सर्वेक्षणहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी र उसका सहयोगीहरूलाई पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको गठबन्धनले कडा चुनौती दिने देखाएका छन्।
नेतान्याहुले चुनावी अभियानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्ध र युद्धकालीन नेतृत्वलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। ट्रम्पले पनि उनलाई समर्थन गरेका छन्। आइतबार नेतान्याहुले आफू सत्तामा रहे मात्रै ट्रम्पले इरानको खतरा अन्त्य गर्न पुनः कदम चाल्न सक्ने बताएका थिए।
आइजेनकोटले भने मतदातालाई डर देखाउने, झूट बोल्ने र धम्की दिने अभियान नेतान्याहुले चलाइरहेको आरोप लगाएका छन्। जनताले चुनेका जुनसुकै नेतासँग ट्रम्पले सहकार्य गर्ने उनले बताएका छन्।
सुरक्षा विफलतामाथि जवाफदेहिताको प्रश्न
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण इजरायली इतिहासकै सबैभन्दा ठूलो सुरक्षा विफलतामध्ये एक थियो। उक्त आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो।
आक्रमण रोक्न नसक्दाको जिम्मेवारी नेतान्याहुले लिनुपर्ने आलोचकहरुले बताएका छन् । उनीहरुले यस विषयमा स्वतन्त्र राष्ट्रिय छानबिनको माग गरेका छन्। नेतान्याहुले भने त्यसको जिम्मेवारी स्वीकार गरेका छैनन्।
उनले गाजा, लेबनान र इरानसँगका युद्धले इजरायललाई सुरक्षित बनाएको दाबी गर्दै आएका छन्। तर, युद्धका कारण इजरायल अन्तर्राष्ट्रिय रूपमा थप एक्लिएको छ र गाजामा ठूलो मानवीय क्षति भएको छ।
सर्वेक्षणहरुले कुनै पनि पार्टीले बहुमत नल्याउने देखाएका छन् । त्यहीकारण, लिकुड पार्टीले पहिलो स्थान हासिल गरे पनि नेतान्याहुले सरकार गठन गर्न अतिदक्षिणपन्थी नेता इतामार बेन गभिर र बेजालेल स्मोट्रिचको समर्थनमा भर पर्नुपर्ने हुन सक्छ। उनीहरूको समर्थनले नेतान्याहुको गठबन्धनलाई बहुमतनजिक पुर्याउन सक्नेछ।
आइजेनकोट पूर्वसैन्य प्रमुख हुन् र सुरक्षाका विषयमा कडा धारणा राख्छन्। उनी पनि प्यालेस्टिनी राज्य स्थापनाका लागि प्रस्तावित दुई-राज्य समाधानको विपक्षमा छन्। तर, वेस्ट बैंकमा यहुदी बस्तीका बासिन्दाबाट प्यालेस्टिनीमाथि हुने हिंसाको उनले आलोचना गर्दै आएका छन्।
इजरायलको अरब अल्पसंख्यक समुदायको मतदानले पनि परिणाम प्रभावित गर्न सक्छ। उक्त समुदायको ठूलो सहभागिताले नेतान्याहुविरोधी पक्षलाई संसदीय समर्थन जुटाउन मद्दत पुग्न सक्छ। यद्यपि आइजेनकोटले अरब पार्टीहरूसँग प्रत्यक्ष गठबन्धन गर्ने सम्भावना अस्वीकार गरेका छन्।
नेतान्याहु भ्रष्टाचारसम्बन्धी मुद्दाको सामना पनि गरिरहेका छन्। उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्।
कुनै पनि पक्षले सरकार गठन गर्न आवश्यक बहुमत जुटाउन नसके राजनीतिक गतिरोध लम्बिन सक्छ। त्यस्तो अवस्थामा अर्को निर्वाचन नहुँदासम्म नेतान्याहु कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम रहन सक्नेछन्।