Trending
Prev Story
Next Story

नेपाली सडकमा गुड्छन् ६३ हजार विद्युतीय सवारी

Ekantipur •
July 30, 2026 • 07:17 AM
1
1 reads 0 reactions

नयाँ सवारीसाधन बिक्रीको क्षेत्रमा विद्युतीय सवारीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा रहेको ‘राष्ट्रिय यातायात नीति–२०८३’ को दाबी।

नेपाली सडकमा गुड्छन् ६३ हजार विद्युतीय सवारी

नयाँ सवारीसाधन बिक्रीको क्षेत्रमा विद्युतीय सवारीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा रहेको ‘राष्ट्रिय यातायात नीति–२०८३’ को दाबी।

काठमाडौँ — पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ्दो छ । विशेषतः विभिन्न कम्पनीका विद्युतीय कारको माग बढी छ । मागअनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ । तर त्यसअनुसार सडक पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ ।

अहिले नेपाली सडकमा मात्र ६३ हजार विद्युतीय सवारी गुड्छन् । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय यातायात नीति–२०८३’ अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म नेपालमा दर्ता भएका कुल विद्युतीय सवारीसाधनको संख्या ६३ हजार २ सय ८० छ । पछिल्लो एक दशकमा विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै जाँदा दर्ता संख्या यति पुगेको हो ।

विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन आयातमा कमी ल्याई मुलुकभित्रै उत्पादित विद्युत् ऊर्जाको उपयोग विस्तार भएको नीतिमा उल्लेख छ । ‘चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन, सुरक्षा मापदण्ड, रिसाइकल प्रणाली तथा सञ्चालनसम्बन्धी व्यवस्था विभिन्न नीतिगत, संस्थागत तथा कार्यान्वयन तहका कुरा अझै विकासकै चरणमा छन्,’ जारी राष्ट्रिय यातायात नीतिमा भनिएको छ, ‘तर सरकारले पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ ।’

कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारीसाधनको आयात तीव्र बढेको छ । नेपालमा हाल नयाँ आयात हुने निजी कारमध्ये विद्युतीय सवारी (ईभी) को हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको पूर्वाधार विकास मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीतिमा उल्लेख छ ।

नयाँ सवारीसाधन बिक्रीको क्षेत्रमा विद्युतीय सवारीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा रहेको नीतिमा प्रस्ट पारिएको छ । पहिलोमा भने नर्वे छ । विद्युतीय सवारी प्रयोगकर्ता बर्सेनि बढ्दै गएको तथ्यांकबाट पुष्टि हुने यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले बताए । ‘दर्ता भएका विद्युतीय सवारीमा स्कुटरसहित चारपांग्रे सवारी बढी छन्,’ उनले भने, ‘नीतिमा उल्लेख गरिएको विद्युतीय सवारीको संख्या पछिल्लो ८–१० वर्षमा दर्ता भएको हो ।’

विगतका भौतिक तथा संस्थागत उपलब्धिका बाबजुद नीति तर्जुमा भइरहेको वर्तमान अवस्थामा तीव्र सहरीकरण, आर्थिक गतिविधिको विस्तार तथा सवारीसाधनको तीव्र वृद्धिसँगै यातायात प्रणाली संक्रमणको चरणमा प्रवेश गरेको देखिएको नीतिमा औंल्याइएको छ । सवारी आयात र यसको प्रयोगकर्ता बढिरहँदा त्योअनुसार सडक पूर्वाधार अझै बन्न नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले जनाए ।

‘विगतमा सडक विस्तारमा ध्यान नदिएजस्तो लाग्थ्यो । पछिल्लो केही वर्षयता भने समय सडक विस्तार, नयाँ सडक निर्माण र मर्मतसम्भारको काम भइरहेको छ । तर जति हुनुपर्ने हो, त्यो हुन सकेजस्तो लाग्दैन,’ थापाले भने, ‘पहाडी र हिमाली क्षेत्रमा सडक त थपिए । तर कच्ची छन्, कालोपत्र कमै मात्र गरिएको छ, विद्युतीय सवारी कच्ची सडकमा चलाउन सक्ने अवस्था छैन ।’ यी विषयमा पनि सरकारको ध्यान जान सके हिमाली र पहाडी जिल्लामा पेट्रोलियम मात्र नभई विद्युतीय सवारीलाई पनि पुर्‍याउन सकिने उनको भनाइ छ । तर दर्ता भएका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् ।

२०८२/८३ को फागुनसम्म देशभर ६२ लाख ४९ हजार ७ सय ३२ सवारीसाधन दर्ता भएकामा ५० लाखभन्दा बढी मोटरसाइकल छन् । यसरी हेर्दा मोटरसाइकलको हिस्सा ८० प्रतिशतभन्दा बढी पुगेको नीतिमा उल्लेख छ । स्मार्ट ड्राइभिङ लाइसेन्स, डिजिटल ट्राफिक प्रवर्तन, सवारी फिटनेस परीक्षण केन्द्र, इम्बोस्ड नम्बर प्लेट तथा युरो–६ उत्सर्जन मापदण्ड कार्यान्वयनमा आएपछि दुर्घटनाबाट हुने मृत्युदरमा केही सुधार देखिए तापनि दुर्घटनाको समग्र संख्या अझै उच्च अवस्थामा रहेको नीतिमा उल्लेख छ ।

विश्वव्यापी रूपमा वार्षिक करिब १२ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । ‘नेपालमा दैनिक सरदर करिब ७ जनाको मृत्यु हुने अवस्था छ,’ राष्ट्रिय यातायात नीतिमा भनिएको छ, ‘यसबाट देशको अर्थतन्त्रले बर्सेनि ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ ।’

सरकारले विद्युतीय तथा वैकल्पिक ऊर्जामा आधारित सवारीसाधन, हरित र जलवायु अनुकूल इन्जिनियरिङ पूर्वाधारलाई प्राथमिकता दिई दिगो यातायात प्रणाली विकास गर्ने नीति लिने ‘राष्ट्रिय यातायात नीतिमा उल्लेख छ । विद्युतीय तथा वैकल्पिक ऊर्जामा आधारित सवारीसाधनको प्रयोग विस्तार गर्दै ई–मोबिलिटी ट्रान्जिसनलाई चरणबद्ध रूपमा अघि बढाउने सरकारको रणनीति छ ।

सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिइने र चार्जिङ पूर्वाधार, ब्याट्री स्वापिङ र ग्रीन करिडोरको विकासका लागि एकीकृत ढाँचा लागू गर्ने रणनीति सरकारको छ । संघ, प्रदेश र स्थानीय तहका सरकारी सवारी तथा नगर यातायात प्रणालीमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गरिने विषय पनि जारी राष्ट्रिय यातायात नीतिमा उल्लेख छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ। काठमाडौँका प्रमुख जिल्...

#सवारी #सडकमा
Compare →
Onlinekhabar
9h ago
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे …

#सवारीसाधन #सडकमा #सवारी
Compare →
Nagarik News
9h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#सवारीसाधन #सडकमा
Compare →
Arthasansar
15h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी
Compare →

Related Stories

National (Nepal)
Build #2612