सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ को चिडियाखोलादेखि दोभान बजारसम्मको सडकखण्डमा खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ।
पाल्पा — सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ को चिडियाखोलादेखि दोभान बजारसम्मको सडकखण्डमा खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ।
दोभान बजारदेखि पैठेडाँडा, हेडबक्स, सिद्धबाबा क्षेत्रदेखि चिडियाखोलासम्म नै खाल्डैखाल्डा र धुलाम्मे सडक रहेको छ । यसले सवारीसाधन र यसमा यात्रा गर्नेका लागि जोखिम बढाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका साथै साना सवारीसाधनका लागि यो सडकखण्ड जोखिमपूर्ण बनेको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष अरविन्द पाण्डेयले बताए । उनका अनुसार सुरुङमार्ग निर्माणाधीन रहेको र निर्माण व्यवसायी तथा सरोकारवालाले तत्काल मर्मत गर्नुपर्ने बताए । सिद्धबाबा सुरुङमार्ग आयोजना क्षेत्रमा पर्ने सडकमा साना–ठूला २ सयभन्दा बढी खाल्डाखुल्डी रहेकाले मोटरसाइकल र स्कुटर चालकले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । सडकको दुरवस्थाबारे सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदासमेत मर्मतमा चासो नदिएको पाण्डेयको गुनासो छ ।
यसै सडकखण्डमा खाल्डोका कारण सोमबार स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते भई उपचाररत रहेकी छन् । खाल्डाखुल्डीमा परेर दुर्घटना हुँदा स्कुटरमा सवार गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोककी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मायाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ की ३६ वर्षीया केशरी कुँवर घाइते भएकी थिइन् ।
सडकमा रहेका सामान्य खाल्डासमेत समयमै मर्मत नगर्दा मानवीय क्षति बेहोर्नुपरेको हो । सडकको अवस्थाबारे बारम्बार ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको गुनासो स्थानीयको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक लगायतको उपस्थितिमा भएको सार्वजनिक सुनुवाइमा समेत यस क्षेत्रमा सवारीसाधन र यात्रुले पाएको दुःखका विषयमा गुनासो गर्दासमेत समस्या समाधान नभएको स्थानीय देवबहादुर आलेले बताए । ‘निर्माण कम्पनीले सडकमा रहेका खाल्डाखुल्डी पुर्नुपर्ने हो,’ उनले भने, ‘तर कुनै वास्ता गरेको पाइएको छैन । वर्षाभर हिलाम्मे अहिले पुनः धुलाम्मे सडक बनेको छ ।’
वर्षायाममा हिलाम्मे भएर सवारीसाधन दुर्घटनामा परेका थिए । अहिले खाल्डाखुल्डी र धुलोधुवाँले हैरानी खेप्नुपरेको गुनासो यात्रुको छ । सुरुङ निर्माणमा समेत विभिन्न बहाना गर्दै काममा ढिलाइ भएको छ । तर आयोजना कार्यालयले यसमा चासो दिएको पाइँदैन । राजमार्गको बुटवल–पाल्पा खण्डमा दैनिक ठूलो संख्यामा यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुने गर्छन् । ट्राफिक प्रहरीको तथ्यांकमा दैनिक ५ हजार सवारीसाधन सञ्चालन हुने क्षेत्रमा खाल्डैखाल्डा रहेको छ । यस क्षेत्रमा साँघुरो सडक, घुम्ती र पहिरोका साथै दर्जनौँ खाल्डाखुल्डीका कारण विशेषगरी दुईपाङ्ग्रे सवारीचालकलाई यात्रा गर्न कठिन हुने गरेको स्याङ्जाबाट बुटवल हिँडेका मोटरसाइकल चालक जीवन गैरेले बताए ।
राजमार्ग मर्मतमा भएको ढिलाइ र यहाँ हुने पटक–पटकको दुर्घटनाप्रति सम्बन्धित निकायको जवाफदेहिता खोजे पनि कहिल्यै नपाएको उनले बताए । ‘हामी यात्रा गर्छौं तर जहिलेसुकै जोखिम नै लाग्छ,’ उनले भने, ‘यस क्षेत्रमा आएपछि भगवान्को नाम जपेरै यात्रा नगरी साध्य छैन ।’ यस क्षेत्रका स्थानीयले जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय र सिद्धबाबा सुरुङमार्ग आयोजनाको धेरै पटक ध्यानाकर्षण गराइसकेका छन् ।
थप दुर्घटना हुन नदिन सडकका खाल्डाखुल्डी तत्काल पुर्ने, जोखिमयुक्त स्थानमा चेतावनी संकेत राख्ने र नियमित मर्मतसम्भारको व्यवस्था गर्न तिनाउ गाउँपालिका क्षेत्रका बासिन्दाले पटक–पटक माग गर्दै आएका छन् । तर सुनुवाइ भने हुन नसकेको तिनाउ गाउँपालिका–३ का विष्णुप्रसाद पाण्डेयले बताए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।