Trending
Prev Story
Next Story

बुढीगण्डकीले बगाएको बाटो बनाउन जुटे धार्चेवासी

Ekantipur •
October 15, 2026 • 12:39 PM
1
1 reads 0 reactions

कुटो, कोदालो र गैँती बोकेका स्थानीयले काठको भर्‍याङ, डोरी तथा ढुंगा प्रयोग गरी जोखिमपूर्ण भीरमा पैदलमार्ग बनाइरहेका छन्।

बुढीगण्डकीले बगाएको बाटो बनाउन जुटे धार्चेवासी

कुटो, कोदालो र गैँती बोकेका स्थानीयले काठको भर्‍याङ, डोरी तथा ढुंगा प्रयोग गरी जोखिमपूर्ण भीरमा पैदलमार्ग बनाइरहेका छन्।

गोरखा — आइतबार बुढीगण्डकीको बाढीले बाटो क्षतिग्रस्त बनाएपछि गोरखाको धार्चे गाउँपालिकाका स्थानीय वैकल्पिक बाटो निर्माणमा कस्सिएका छन्।

धार्चे–३ को खोर्लाबेंसीदेखि लुस्याङसम्म वैकल्पिक बाटो बनाउन रुन्चेत र खोर्लाबेंसीका स्थानीय बुधबारदेखि खटिएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए। ‘एक सय जना जति स्थानीय युवा बाटो निर्माणमा खटिनुभएकाे छ,’ उनले भने।

खोर्लाबेंसीमा बाटो अवरुद्ध हुँदा धार्चेका तीनवटा वडा र चुमनुब्री गाउँपालिका नै पैदलमार्गबाट समेत विच्छेद भएका छन्। ‘खोर्लाबेंसी र तातोपानीबीच कटान गरेको भागभन्दा माथि अप्ठ्यारो भीरमा एक सय मिटर जति काठको भर्‍याङ राखेका छौं, सय मिटरजति डोरी राखेर वैकल्पिक बाटो माथि भीरबाट बनायौं,’ उनले भने, ‘यो वैकल्पिक बाटो भएपछि रुन्चेत, उहिया, हुल्चोकका स्थानीयलाई गाउँसम्म हिँडेर पुग्न सहज बन्छ।’

गाउँपालिकाको समन्वयमा गाउँलेहरू कुटो, कोदालो र गैँती लिएर बाटो निर्माणमा कस्सिएका हुन्। ‘खोर्लाबेंसी–तातोपानीबीचको बाटोमा बूढीगण्डकी हिँडेको छ, माथि भीरबाट बाटो बनाउनुको विकल्प छैन,’ उनले भने, ‘भीरमा खोस्रिएर जसोतसो बाटो बनाएका छौं।’

खोर्लाबेंसी डम्पिङमाथि तीन सय मिटर जति उकालो बाटोमा काठ र ढुंगा राखेर बाटो बनाइएको उनले बताए। ‘आज यो बाटो बनेपछि एक सय जना स्थानीय यहाँबाट गाउँतर्फ गएका छन्,’ उनले भने, ‘यो बलजफ्ती खुलेको बाटो भएकाले बालबालिका र वृद्धवृद्धालाई हिँड्न अझै गाह्रो छ। भोलि बाटो अझै सहज बनाउने प्रयास गर्छौं।’

तातोपानी र खोर्लाबेंसीबीचको डम्पिङमा भित्ता छोएर सय मिटर जति सडक कटान भएको उनले बताए। ‘डम्पिङको बुढीगण्डकीले कटान गरेको सडक खोल्न ब्लास्टिङ गर्नुको विकल्प छैन,’ उनले भने, ‘यो स्थानीय सरकारबाट सम्भव छैन। सम्बन्धित निकायलाई बाटो खोल्न पनि भनेका छौं।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612