किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ प्रदर्शनपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट सुरुआत गरेको छ ।
काठमाडौँ — किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ प्रर्दशनपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट सुरुआत गरेको छ । किशोरले ४ र शेरले ३ विकेट लिएपछि लुम्बिनीले पहिलो दिनको खेलमा सुदूरपश्चिमलाई केवल ८७ रनमै अलआउट गरेको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो ।
दाहिने हाते तीब्र बलर किशोरले ४ ओभरमा २८ रन खर्चेर उत्कृष्ट बलिङ गरे । गत सिजन १७ विकेट लिएर सनसनी बलिङ गरेका अफ स्पिनर शेरले ३ ओभरमा १० रनमात्र खर्चेर ३ विकेट लिएका हुन् ।
पावर प्लेको ६ ओभरमा शीर्ष ४ विकेट गुमाएपछि सुदूरपश्चिम फेरि माथि उठ्न सकेन् । शेर मल्लले चौथो ओभरमा विनोद भण्डारीलाई एलबीडब्लु आउट गरे भने किशोरले आरिफ शेखलाई शुन्य र ब्रान्डन म्यामलेनलाई २ रनमा आउट गरी एकै ओभरमा दुई सफलता पाए ।
सुदूरपश्चिमको टोलीमा फर्किएका सैफ जैब पनि १४ बलमा २ चौका प्रहार गरी १३ रन बनाई छैटौं ओभरमा अमेरिकी बलर स्याडली भान साकवाईबाट आउट भए । तिलक भण्डारीले इशान पाण्डेलाई ७ रनमा आउट गरी नवौं ओभरमा लुम्बिनीलाई पाॅचौं सफलता दिलाए ।
शरेले सेरफेन रदरफोर्डलाई १ र स्कट कुग्लेनलाई शुन्यमा आउट गरे । किशोरले लगातार बलमा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीलाई बोल्ड गरी हृयाट्रिक नजिक पुगे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक २७ रन बनाउनेक्रममा २३ बल खेली २ चौका प्रहार गरे । हेमन्तले खाता खोल्न भ्याएनन् ।
कप्तान रोहित पौडेलले अविनाश बोहरालाई बोल्ड गरे । अनिल खरेल १५ रनमा अविजित रहे । गत सिजनमा लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।