९ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरोकारवालाबीच यस्तो छलफल भएको हो । छलफलमा पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालक सहभागी थिए ।
छलफलमा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सेवा सञ्चालन क्रममा देखिएका समस्या पहिचान गर्दै सेवा प्रभावकारी बनाउने तथा तिनको समाधानका सम्भावित उपायबारे विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ ।
अहिले जहाज अभावले कर्णाली सहित देशभरिका पहाडी भेगका विमानस्थलमा यात्रु चाप भए पनि नियमित उडान हुन सकेको छैन ।