प्रभासको अस्थीर करिअर ग्राफ, अघिल्लो फिल्म ‘द राजासाब’को असफलतासँगै ठूलो बजेटको फिल्म ‘स्पिरिट’ सलमानको ‘मोन्स्टर’सँग भिड्नु पर्दाको घाटालाई हेरेर निर्माताले साबिकको मितिमा रिलिज नगर्ने बताएका छन् ।
काठमाडौँ — सन् २००२ मा फिल्म ‘ईश्वर’ बाट फिल्मी यात्रा सुरु गरेका प्रभासका करिब २५ वर्षमा २५ वटै फिल्म प्रदर्शनमा आए । उनको फिल्मी करिअर सन् २०१५ को फिल्म ‘बाहुबली : द बिगिनिङ’ पछि केवल दक्षिण भारतीय फिल्मका दर्शकमाझ मात्र सीमित रहेन, बरु देशकै सीमा नाघेर विश्वव्यापी बन्न पुग्यो । यसपछि नै उनको क्रेज पनि भारतीय अभिनेता शाहरुख खान, आमिर खानदेखि पान–इन्डिया एक्टर रजनीकान्त, यशलगायतको जस्तै विश्वव्यापी बनिसकेको छ ।
विशेषगरी उनको लोकप्रियता जापानमा देखिन्छ । उनको ‘बाहुबली’ र ‘साहो’ फिल्मले जापानमा लोभलाग्दो कमाई गर्न सफल भएको थियो । त्यसो त कलेक्सनका हिसाबले उनका फिल्मले तेलुगु र हिन्दी दुवै समुदायको दर्शकको बाहुल्यता रहेका उत्तर अमेरिका क्षेत्रमा लाखौं डलर भन्दा बढीको व्यापार गरिरहेका छन् ।
‘बाहुबली’ बाट प्रभासको स्टारडम जति चुलियो, त्यति नै अस्थीर पनि रह्यो । लगत्तै रिलिज भएको उनको फिल्म ‘साहो’ (२०१९० ले अपेक्षकृत कमाई गर्न त सकेन नै, समीक्षात्मक रूपमा पनि सुखद रहेन । ३ सय ५० करोड भारु बजेटको यस फिल्मले मुश्किलले लगानी उठाएको थियो । तेलुगु भाषामा यसले लगानी उठाउन नसकिंरहँदा हिन्दी भर्सनबाट र ग्लोबल रिलजबाट भरथेग भएको थियो । निर्माता डुब्नबाट बालबाल बचेपनि समीक्षात्मक हिसाबले भने फिल्मले सकारात्मक प्रतिक्रिया बटुल्न पाएन ।
त्यसपछि सन् २०२२ मा आएको ‘राधे श्याम’ को अवस्था त झनै चौपट थियो । झन्डै ३ सय करोड भारु बजेटको यस फिल्मले मुश्किलले आधा लगानी मात्र उठाउन सक्यो । कमजोर कथा, पटकथाका कारण दर्शकले यस फिल्मलाई रुचाएनन् । प्रभासको ‘स्टारडम’ लाई धक्का दिन फेरि आईपुग्यो, ‘आदिपुरुष’ । सन् २०२३ मा आएको ६ सय करोड भन्दा बढि बजेटको बताइएको उक्त फिल्मको कमजोर भिजुअल इफेक्ट्स (भीएफएक्स), पटकथा, संवाद र प्रस्तुतिले यतिधेरै हावा खायो की दर्शकले यसलाई ‘कार्टुन’ फिल्म भनेर हाँसोमा उडाए । इनिसियल ओपनिंग बम्पर गरेको भएपनि यस फिल्मले विश्वभरबाट लगानीको आधा पनि उठाउन सकेन ।
‘बाहुबली’ बाट एकाएक चुलिएको प्रभासको करिअरलाई धुलिसात बनाउन एकपछि अर्को गरी आएका यी फिल्म काफी थिए । तर २०२३ मै आएको अर्को फिल्म ‘सलार–१’ को आंशिक सफलताले धेरै हदसम्म ‘ड्यामेज कन्ट्रोल’ गर्यो । झन्डै ३ सय करोड भारु बजेटको यस फिल्मले लगानीको दोब्बर बढी कमाई गरेर निर्मातालाई त खुशी दियो नै, त्यो भन्दा ठूलो राहत प्रभासलाई दिलायो । दर्शकले पनि उनलाई मास–एक्सन फिल्ममा नै हेर्न रुचाएको सन्देश पनि दिए । ‘कल्की २८९८ एडी’ ले पनि उनलाई थप राहत दियो । यस फिल्मले पैसा मात्रै कमाएन, समीक्षात्मक रूपमा पनि तारिफ बटुल्यो । प्रभासको करिअरमा ‘बाहुबली–२’ पछि एक हजार करोड क्लबमा प्रवेश गर्ने यो उनको दोस्रो फिल्म बन्यो ।
प्रभासले राहतको स्वास फेर्दै मात्र के थिए, यसै वर्षको जनवरीमा रिलिज भएको ‘द राजासाब’ ले फेरि उनलाई निराश पार्यो । झन्डै ५ सय करोड भारुसम्मको बीग बजेट रहेको यस फिल्मले पनि लगानीको आधा हिस्सा (२१० करोड भारु) पनि उठाउन सकेन । निर्माता त चुर्लुम्म डुबे नै, प्रभासलाई पनि पुनः एकपटक नराम्रोसँग झस्कायो । हालै मात्र ‘द राजासाब’ का निर्माताले फिल्म डुबेपछिको आफ्नो निराशालाई मिडियासामू पोखेका छन् । यस फिल्मलाई निर्माता टीजी विश्वप्रसादले लगानी गरेका थिए ।
फिल्मबाट ३ सय करोड झ्वाम पारेका निर्माता विश्वप्रसादले अझै पनि आफु असफलताको चोटबाट उठ्न संघर्ष गरिरहेको बताए । एक पत्रकार सम्मेलन गर्दै उनले भने, ‘हामीले यस फिल्मको स्टार र बजेटको स्केलका हिसाबले सबैभन्दा बढि स्क्रिनसहित ठूलो रिलिज गरेका थियौं । तर दूर्भाग्य, फिल्मको रिलिज डेट (९ जनवरी) का कारण पनि मार खान पर्यो । यसका अलावा अरु पनि थुप्रै कारण थिए, जसले गर्दा असफलता व्योहोर्नु पर्यो’ हाल, प्रभासकै नयाँ फिल्म ‘स्पिरिट’ का वितरकसमेत रहेका टीजी विश्वप्रसादले बताए ।
‘द राजासाब’ को असफलता यतिबेला प्रभासको आगामी फिल्म ‘स्पिरिट’ लाई परिरहेको छ । ५ मार्च २०२७ मा रिलिज तय गरिएको सन्दिप रेड्डी भांगा निर्देशित यस फिल्म पहिले पनि नायिका दिपिका पादूकोणलाई निकालिएपछि निकै विवादमा आएको थियो । आठ भाषामा रिलिज गर्ने तरखरमा रहेको ‘स्पिरिट’ मा प्रभास प्रहरी अधिकारीको भूमिकामा छन् भने यसमा तृप्ति डिमरी, विवेक ओबराय, प्रकाशराजलगायतको पनि अभिनय रहेको छ ।
आगामी वर्षको ईदलाई लक्ष्यित गरी रिलिज गर्न लागिएको यस फिल्मको १० मार्चमा रिलिज तय भएको सलमान खान स्टारर ‘मोन्स्टर’ सँग भिडन्त हुने ठानिएको थियो । तर यतिबेला प्रभासको फिल्म उक्त डेटमा रिलिज नहुने लगभग निश्चित भएको छ । प्रभासको अस्थीर करिअर, अघिल्लो फिल्मको असफलतासँगै ठूलो बजेटको फिल्म सलमानको फिल्मसँग भिड्नु पर्दाको घाटालाई हेरेर निर्माताले साबिकको मितिमा रिलिज नगर्ने बताएका हुन् ।