तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित देशका ८ सहरमा फ्लडलाइट सहितका कम्तीमा ८ हजार दर्शक क्षमता भएका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।
काठमाडौँ — एनपीएलका आगामी संस्करण सबै प्रदेशमा गर्नका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एनपीएलका आगामी संस्करण 'होम एन्ड अवे'का आधारमा खेल्ने व्यवस्थाका लागि आवश्यक काम अगाडि बढाएको बताएका हुन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुने दिन सोमबार मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् । 'होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका ८ प्रमुख सहरहरूमा फ्लडलाइट सहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ,' लम्सालले जानकारी दिएका छन् ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास सरकारले लिएको मन्त्री लम्सालको भनाइ छ । उनले भनेका छन्, 'क्रिकेट संघ (क्यान)ले पनि सोही अनुरूप आवश्यक तयारी अघि बढाओस् ।'
एनपीएलका खेलहरू हालसम्म काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मात्रै आयोजना भइरहेका छन् । एनपीएलमा ८ वटा टीम सहभागी छन् ।
एनपीएल तेस्रो संस्करणलाई सफलताको शुभकामना पनि मन्त्री लम्सालले दिएका छन् ।