पूर्वसावधानीस्वरूप अफलाइन गरिएका सरकारी साइट सुरक्षा प्याच इन्स्टल गरेसँगै खुल्न थाले । तर, भेन्डरले नै व्यवस्थापनमा गरिरहेका केही पोर्टल अझै खुल्न बाँकी छन् ।
काठमाडौँ — वेबसाइट निर्माण गर्न प्रयोग गरिने प्रोग्रामिङ ल्याङ्वेज ‘पीएचपी’ मा सुरक्षा त्रुटि फेला परेसँगै साइबर आक्रमणका घटनाबाट जोगिन ‘अफलाइन मोड’मा राखिएका नेपाल सरकारका वेबसाइटहरू पुनः खुल्न थालेका छन् ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले आवश्यक सेक्युरिटी प्याच (सुरक्षा अपडेट) तथा अडिट पूरा गरी सरकारी पोर्टललाई अनलाइन गराएको जनाएको छ । तथापी, चिकित्सा शिक्षा आयोग, नागरिक एप लगायत कतिपय पोर्टल तथा एप्लिकेसन अझै खुलिसकेका छैनन् ।
एसडीओसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण तिमिल्सिनाले अधिकांश सरकारी वेबसाइट सुरक्षित रूपमा सञ्चालनमा ल्याइसकिएको बताए । उनका अनुसार साझा वेब प्रणाली ‘जीआईडब्लूआईएमएस’ अन्तर्गतका हजारौँ सरकारी वेबसाइटलाई सेन्ट्रल्ली प्याच गरी पुनः सुचारु गरिएको हो ।
‘हामीले सरकारी वेबसाइटहरू अनलाइन गराइसकेका छौँ,’ तिमिल्सिनाले भने, ‘विभिन्न कार्यालयले आफ्नै छुट्टै भेन्डर वा प्राविधिक टोलीमार्फत गर्नुपर्ने बाँकी प्रणालीहरू पनि सञ्चालनमा आउने क्रममा छन् र अधिकांश साइटहरू अनलाइन भइसकेका छन् । भेन्डरले नै व्यवस्थापन गर्दै आएका केही साइट खुलेका छैनन्, हामीले उहाँहरूलाई सम्पर्क गरिरहेका छौँ ।’
सरकारी निकायका अधिकांश वेबसाइट, सर्भर र प्रणालीलाई एकीकृत रूपमा होस्ट तथा भण्डारण गर्ने ‘एकीकृत डेटा व्यवस्थापन केन्द्र’ का सूचना प्रविधि निर्देशक शिवजीकुमार गुप्ता रौनियारले पनि पीएचपीको सुरक्षा त्रुटि समाधान गरेर अधिकांश सरकारी वेबसाइट पुनः सञ्चालनमा ल्याइसकिएको बताए । ‘पीएचपीको सुरक्षा समस्या समाधान गरेर सोही आधारमा हामी अगाडि बढिरहेका छौँ,’ रौनियारले भने, ‘अधिकांश वेबसाइट लाइभ आइसकेका छन् र सम्बन्धित निकायहरूबाट आउने अनुरोधका आधारमा क्रमिक रूपमा पुनः सञ्चालन गर्दै लगिएको छ ।’
गत बुधबार पीएचपी प्रविधिमा ‘पीएचपी टु सेल’ नामक गम्भीर सुरक्षा त्रुटि रहेको विवरण बाहिरिएको थियो । यसले गर्दा सम्भावित अनधिकृत पहुँच र साइबर आक्रमणबाट जोगाउन पूर्वसावधानीस्वरूप सरकारी तथा बैंकिङ वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए ।
सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।