नागढुंगा–मुग्लिन सडक खण्डमा तत्काललाई छैन समस्या, बुधबारदेखि आइतबारसम्म १ लाख ४१ हजार ३ सय ३२ यात्रु काठमाडौं भित्रिए
काठमाडौँ — पूर्वी तराई जोड्ने बीपी राजमार्ग भएर अहिले राजधानी भित्रने सवारी चाप अत्यधिक छ । दसैंका लागि बाहिरिएका यात्रु यस खण्ड भएर भित्रँदा केही दिनयता दिनहुँ ट्राफिक जाम बढेको यात्रुहरूको गुनासो छ ।
राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किलोमिटर सडकमा क्षति गरेको थियो । अहिले यही खण्डमा धूलो र ट्राफिक जामको सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ । धूलोले गर्दा यहींको त्यहीं देख्न मुस्किल हुने गरेको दिक्तेल–काठमाडौं रुटमा टाटा सुमो चलाउँदै आएका चालक सञ्जय श्रेष्ठले बताए । ‘यो सडक अझै बनेन, धूलोका कारण गाडी चलाउन एकदमै गाह्रो भएको छ,’ श्रेष्ठले भने, ‘सडक नबन्दासम्म पानी हाल्ने व्यवस्था गरिदिएदेखि पनि गाडी चलाउन धेरै नै सहज हुने थियो ।’ धूलोले गर्दा दुर्घटनाको जोखिमसमेत बढेको उनले सुनाए ।
बाढीले क्षति पुर्याएको सडकमा ठाउँ–ठाउँमा खोलाबाटै अस्थायी डाइभर्सन बनाएर सवारीसाधन चलाउने व्यवस्था गरिएको छ । जसले गर्दा खोला किनारको बाटोमा बढी धूलो उड्ने गरेको छ । यता साँघुरा र सिंगल लेनका मोटरेबल पुलका कारण पनि ट्राफिक जाम हुने गरेको छ । यस खण्डमा सडक दुई लेनमा विस्तार भइरहेको छ । तर पुल सिंगल लेनका मात्र छन् । साँघुरा पुलले ट्राफिक जामको सास्ती थपिरहेका बेला नयाँ निर्माणका लागि ठेक्का गर्ने कुनै सुरसार छैन । काभ्रेबाट भक्तपुरतर्फ लाग्दै गर्दा बढी ट्राफिक जाम हुने गरेको छ । पानी हालिरहेको भए पनि धूलोको समस्या रहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए ।
‘दसैंले गर्दा सवारी चाप धेरै छ, बिहानै पानी हाल्ने गरिएको छ,’ योगेशले भने, ‘धूलो निकै उडेको छ, दिउँसो पनि दुई पटक पानी हाल्न निर्माण व्यवसायीलाई भनेका छौं ।’ बजार र बस्ती भएको क्षेत्रमा भने नियमित पानी हालिराखिएको उनको दाबी छ । ओभरटेक गर्ने र लेन मिच्ने प्रवृत्तिले पनि बढी ट्राफिक जाम हुने गरेको योगेशको भनाइ छ । अघिपछि यो राजमार्ग भएर ४ देखि ५ हजार सवारीसाधन ओहोरदोहोर गर्थे ।
अहिले १० हजारभन्दा बढी सवारी चलिरहेको उनले सुनाए । ‘यस वर्षको दसैंमा धूलो र ट्राफिक जामका कारण यात्रुले सास्ती खेप्न परे पनि आगामी वर्षको दसैंमा त्यो सास्ती खेप्नुपर्ने छैन,’ प्रमुख योगेशले भने, ‘कालोपत्र गरेर सडक सहज बनाइसक्छौं ।’ राजमार्गको काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १ गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ ।
यता नागढुंगा–मुग्लिन सडक खण्डमा भने सवारी चाप रहे पनि ट्राफिक जामको समस्या छैन । सबैभन्दा बढी ट्राफिक जाम हुने नागढुंगा उकालोमा सडक भासिएपछि अहिले सवारी सञ्चालनमा रोक लगाइएको र नागढुंगा सुरुङमार्ग खुला गरिएकाले पनि ट्राफिक जाम कम भएको ट्राफिक प्रहरीले जनायो । यस खण्ड भएर अघिपछि १५ हजार हाराहारी सवारी ओहोरदोहोर गर्ने गरेकामा दसैंका बेला यो संख्या तेब्बर हुने गरेको छ । उपत्यका भित्रने यात्रुको संख्या बढ्दो क्रममा रहेको काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए । ‘धेरै ठाउँमा सडकको लेन मिचेर सवारीसाधन चलाउँदा ट्राफिक जाम भएको हो,’ उनले भने, ‘यस्तो कार्यलाई नियन्त्रण गर्न ठाउँ–ठाउँमा ट्राफिक प्रहरी परिचालन गरेका छौं ।’
सीसी क्यामेराबाट उपत्यकाका सडकमा नियमित सवारी सञ्चालनको निगरानी गरिरहेको सुवेदीको भनाइ छ । यस पटक ट्राफिक सचेतना र नियमित निगरानीले गर्दा पनि चाडबाडमा हुने ठूला दुर्घटना न्यूनीकरण गर्न सकिएको एसपी सुवेदीले बताए । ‘यस पटक अनिवार्य रूपमा सवारीसाधनको यान्त्रिक परीक्षण गर्यौं, गाडीको नियमित मर्मत गरे–नगरेको हेर्यौं, टायर, इन्जिन, ब्रेकको अवस्था र वातावरणीय प्रदूषणको अवस्था जाँच्यौं,’ उनले भने, ‘ओभरलोड र लामो दूरीका सवारीमा अनिवार्य दुई जना चालक राख्ने कुरामा कडाइ गर्यौं । प्रस्थानविन्दुमै चालक र सहचालकले मादक पदार्थ र लागू पदार्थ सेवन गरे/नगरेकोबारे अनिवार्य जाँच गर्यौं ।’
ट्राफिक प्रहरीका अनुसार दसैंको टीकाको दिन बुधबारदेखि आइतबारसम्म १ लाख ४१ हजार ३ सय ३२ यात्रु काठमाडौं भित्रिएका छन् ।
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।