नौ विकेट गुमाइसकेको पाकिस्तानलाई शादाब खान र हारिस रउफले सम्हाल्दै कीर्तिमानी साझेदारीमार्फत इंग्ल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाए ।
काठमाडौँ — पाकिस्तानले त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा इंग्ल्यान्डलाई १ विकेटले पराजित गरेको छ ।
लाहोरमा २ सय ४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानको अप्रत्याशित जितका नायक शादाब खान बनेका थिए । उनले अविजित ११३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ नम्बरमा ब्याटिङ गर्न आएका खेलाडीले बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।
उनलाई पाकिस्तानका ब्याटर हारिस रउफले साथ दिएका थिए । खान र रउफले दसौँ विकेटका लागि अविजित ८९ रनको साझेदारी गरेका थिए । एकदिवसीय क्रिकेटमा अन्तिम विकेटका लागि लक्ष्य पूरा गर्दै जित दिलाउने क्रममा बनेको यो कीर्तिमानी साझेदारी हो ।
पाकिस्तानले १ सय ५४ रन बनाउँदा ९ विकेट गुमाएको थियो । तर अन्तिम विकेटका लागि गरेको उत्कृष्ट साझेदारीका कारण पाकिस्तानले जित हात पार्यो । शादाब ९७ रनमा खेलिरहेका बेला गस एट्किन्सनको बलमा एलबीडब्लू आउट भए ।
त्यतिबेला पाकिस्तानलाई जितका लागि २१ रन आवश्यक थियो । शादाबले डीआरएस रिभ्यु मागेका थिए । रिभ्युमा बलले ब्याटको भित्री किनारा छोएको देखिएपछि उनी आउट हुनबाट जोगिए । त्यसपछि रउफले हेनरी क्रोकोम्बको बलमा सानदार चौका प्रहार गर्दै पाकिस्तानलाई जित दिलाएका हुन् । यसअघि इंग्ल्यान्डले बेन डकेटको १ सय ५ रनको योगदानमा २ सय ४१ रनको योगफल तयार पारेको थियो ।
श्रीलंकासँग पराजित भएको तीन दिनपछि ह्यारी ब्रुकको कप्तानीमा रहेको इंग्ल्यान्डले पाकिस्तानसँग अर्को निराशाजनक हार बेहोरेको छ । हारसँगै इंग्ल्यान्ड सिरिजबाट लगभग बाहिरिएको छ ।
मंगलबार पाकिस्तानविरुद्ध श्रीलंका विजयी भएमा इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिनेछ । अंकतालिकामा पाकिस्तान ६ अंकसहित पहिलो स्थानमा रहँदा श्रीलंका दुई अंकसहित दोस्रो स्थानमा छ । इंग्ल्यान्ड भने अंकविहीन छ ।
अनिल बोगटी रेडियो कान्तिपुरमा आवद्ध छन् ।