बर्दियाको राजापुरमा मदिरा सेवन गरी बुबालाई कुटपिट गर्ने युवकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया — राजापुर नगरपालिका–३ सेन्दामा आइतबार राति छोराले बुबालाई कुटपिट गरी हत्या गरेका छन् । मदिरा सेवन गरी २५ वर्षीय राजेन्द्र थारुको कुटाइबाट गम्भीर घाइते भएका ४६ वर्षीय कल्लु थारुको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, राजापुरले जनाएको छ ।
डीएसपी होमप्रसाद चौधरीले हत्याका आरोपी राजेन्द्रप्रसादलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाए । ‘राति मदिरा सेवन गरी बाबुलाई कुटपिट गरेको अनुसन्धानमा देखिएको छ,’ उनले भने, ‘प्रहरीलाई घटनाको जानकारी राति ११ बजे पाउनासाथ घटनास्थलमा पुगी राजेन्द्रलाई नियन्त्रणमा लिएको हो ।’ उक्त घटना सदरमुकाम गुलरियाबाट करिब ४० किमि पश्चिममा भएको हो ।
कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।