पीसीबीले खेलाडीको सहभागितासम्बन्धी अनुमति रोकेको रिपोर्ट, प्रतिखेलाडी २५ हजार डलर मागिएको दाबी
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने पाकिस्तानी क्रिकेटरको सहभागिता अन्योलमा परेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आवश्यक प्रमाणपत्र (एनओसी) जारी गर्ने प्रक्रिया रोकेको र यसअघि अनुमति पाइसकेका खेलाडीको स्वीकृतिसमेत स्थगित गरेको रिपोर्ट सार्वजनिक भएको छ ।
ईएसपीएन क्रिकइन्फोले आइतबार प्रकाशित गरेको समाचारमा एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिलाई उद्धृत गर्दै पीसीबीले यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति रोकिएको उल्लेख गरेको छ । पाकिस्तानी सञ्चारमाध्यम जियो सुपरले पनि उक्त समाचारलाई उद्धृत गर्दै खेलाडीको सहभागितामा अन्योल बढेको जनाएको छ ।
एनपीएलसँग सम्बन्धित व्यक्तिहरूका अनुसार पीसीबीले प्रत्येक पाकिस्तानी खेलाडीका लागि एनओसी जारी गर्न २५ हजार अमेरिकी डलर शुल्क मागेको छ । तर, ईएसपीएनक्रिकइन्फोले बोर्डले उक्त रकम माग गरेको विषयमा औपचारिक लिखित मागको स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ ।
यस विषयमा पाकिस्तान क्रिकेट बोर्डको आधिकारिक धारणा लिन द काठमाडौं पोस्ट ले बोर्डका प्रतिनिधिसँग सम्पर्क गरेको छ । बोर्डको प्रतिक्रिया प्राप्त हुन बाँकी छ ।
एनपीएल सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।
रिपोर्टअनुसार एनपीएल खेल्न आउने केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन् भने नेपाल आउन तयारी गरिरहेका अन्य खेलाडीले समस्या समाधान नहुँदासम्म आफ्नो यात्रा स्थगित गरेका छन् ।
एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीमा टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान साहिबजादा फरहान, हैदर अली, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिरलगायत छन् । उनीहरूमध्ये कोही पनि एनपीएल अवधिमा पाकिस्तानको टेस्ट वा एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको योजनामा नरहेको रिपोर्टमा उल्लेख छ ।
पीसीबीले यसै वर्ष आफ्नो केन्द्रीय अनुबन्ध प्रणालीमा परिवर्तन गर्दै रातो बल र सेतो बल क्रिकेटका लागि छुट्टाछुट्टै संरचना बनाएको थियो । नयाँ व्यवस्थामा ‘ट्र्याक डी’ अन्तर्गत टी–२० विशेषज्ञ खेलाडीलाई वर्गीकृत गर्ने प्रावधान पनि समावेश छ । उक्त व्यवस्थाको उद्देश्य अन्तर्राष्ट्रिय खेलसँग तालिका नजुध्ने अवस्थामा खेलाडीलाई विदेशी टी–२० लिगमा सहभागी हुन थप लचकता प्रदान गर्नु रहेको बताइएको छ ।
तर, पीसीबीले कुन खेलाडीलाई कुन श्रेणीमा राखिएको छ र नयाँ अनुबन्ध प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ वा छैन भन्नेबारे सार्वजनिक रूपमा स्पष्ट पारेको छैन ।
एनओसीसम्बन्धी अन्योलले पाकिस्तानी खेलाडी अनुबन्ध गरेका एनपीएल टोलीको तयारीसमेत प्रभावित हुन सक्ने देखिएको छ । यद्यपि, उनीहरूको सहभागिताबारे अन्तिम निर्णय भइसकेको छैन ।
कर्णाली याक्सका एक अधिकारीका अनुसार, उक्त फ्रेन्चाइज टोली साहिबजादा फरहान र हुसेन तलतको तर्फबाट रकम भुक्तानी गर्न तयार छ ।
'हामीले खेलाडीहरूलाई किनिसकेका छौं, त्यसैले अन्त्यमा उनीहरूले खेल्न नपाउनु राम्रो कुरा हुनेछैन,' नाम नखुलाउने सर्तमा ती अधिकारीले भने ।
नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।