सीपीमाथि पार्टीमा गुट सिर्जना गरेको र पार्टीको घोषित नीतिविपरीत काम गरेको आरोप लगाएर महासचिव गौतमले केन्द्रीय समितिमा विभागको प्रमुखबाट हटाउने प्रस्ताव गरेका थिए ।
काठमाडौं — एमालेसँग चित्त नबुझेर नेकपा (माले) गठन गरेको २ वर्ष भइसकेको थियो । पार्टी विभाजनपछि २०५६ सालको वैशाख र जेठमा भएको आमनिर्वाचनमा मालेका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् । यसले पार्टी नेतृत्व र संगठनको विषयमा प्रश्न खडा गरेको थियो ।
पार्टी विभाजन नै उचित थियो कि थिएन भन्ने प्रश्न स्वभाविक थियो । विभाजनपछि २१ फागुन २०५४ मा गठन गरेको पार्टीको अध्यक्ष थिइन् साहना प्रधान र महासचिव थिए वामदेव गौतम । संगठन विभागको जिम्मेवारी सीपी मैनालीलाई दिइएको थियो । पार्टीले सर्वाधिक हार बेहोरेकाले कसरी अघि बढ्ने एक प्रकारको अन्योल थियो । त्यही अन्योलको बीचमा पनि पार्टीको आन्तरिक विवाद भने चुलिँदै गएको थियो ।
२०२८ सालमा भएको झापाको सशस्त्र आन्दोलनसँग जोडिएका तत्कालीन नेकपा मालेका महासचिव सीपी मैनाली र वामदेव गौतमबीच फाटो सुरु भएको थियो । चुनावी परिणामले पार्टी कमजोर देखिएको र मालेका नेताकार्यकर्ता एमालेमा फर्कन लागेको पृष्ठभूमिमा सीपीमाथि कारबाही अघि बढाएकोमा पार्टीभित्रै असन्तुष्टि सुरु भएको थियो ।
मालेका संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका सीपीमाथि विशेषतः अनुशासनको कारबाहीको चेतावनी दिइएको थियो । १० चैत २०५६ मा सुरु भएको मालेको १२औं केन्द्रीय समिति बैठकले विभागीय प्रमुखबाट हटाइएको थियो भने माफी नमागे थप कारबाही गर्ने चेतावनी दिइएको थियो । सीपीमाथि पार्टीमा गुट सिर्जना गरेको र पार्टीको घोषित नीति विपरीत काम गरेको आरोप लगाएर महासचिव गौतमले केन्द्रीय समितिमा विभागको प्रमुखबाट हटाउने प्रस्ताव गरेका थिए । विभागीय प्रमुखबाट हटाउनुअघि पार्टी कार्यालयका सचिव किरण गुरुङले लिखित आत्मालोचना नगरे हटाउने निर्णय गरिएको जानकारी दिएका थिए । सीपीले बैठकमा अनुशासन उल्लंघन गरेको लिखित रुपमा स्विकार्दै माफी मागेका थिए । तर केन्द्रीय समितिलाई आत्मालोचना चित्त नबुझेको भन्दै उनलाई विभागीय प्रमुखबाट हटाइएको थियो ।
महासचिव गौतम र सीपीबीच जनताको बहुदलीय जनवाद र नौलो जनवादलाई लिएर केही सैद्धान्तिक मतभेद पनि थियो । सीपीले पार्टीको नेतृत्व परिवर्तन र केन्द्रीय नेतृत्व भंग गर्नुपर्ने माग गरेका थिए । उनले पार्टीभित्र रहेको गलत प्रवृत्तिको विरोध गर्दै आएको बताएका थिए । उनले गौतमलाई दरबार परस्तको आरोप लगाएर यस्तो नेतृत्वबाट पार्टी अघि नबढ्ने धारणा सार्वजनिक रुपमा राख्दै आएका थिए । सीपीलाई विभागको प्रमुखबाट हटाएपछि पोलिटब्युरो सदस्य अशोक राईलाई नियुक्त गरिएको थियो । विभागका सदस्यहरूमा त्रिलोचन ढकाल, केशवलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जितेन्द्र देव, नेत्र पन्थी र गोपाल शाक्यलाई नियुक्त गरिएको थियो । सीपीलाई १५ दिनभित्र चित्त बुझ्दो लिखित आदेश नदिए थप कारबाही गर्ने जिम्मेवारी पोलिटब्युरोलाई नै दिइएको थियो ।
सीपी पक्षका केन्द्रीय सदस्य हरि रोक्कालाई पार्टीलाई नसोधी तेस्रो धारको खोजी गर्ने पार्टीको नेतृत्व गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । रोक्काले एकता केन्द्र र मसालसँग मिलेर ८ र ९ चैत २०५६ मा ‘नेपाली कम्युनिस्ट आन्दोलनको तात्कालिक कार्यदिशा’ विषयक गोष्ठीको संयोजन गरेका थिए । उक्त गोष्ठी पार्टीलाई नसोधी गरिएको आरोप रोक्कामाथि थियो । रोक्काले भने सीपीलाई विभागीय प्रमुखबाट हटाउने निर्णयले पार्टीमा शक्ति ध्रुवीकरण हुने र पार्टीलाई संकटमा पार्ने चेतावनी दिएका थिए । कारबाहीले पार्टीमा दुई खेमाको संघर्ष चल्ने धारणा रोक्काको थियो । उनले पार्टीमा रहेको राजनीतिक समस्यालाई महासचिव गौतमले प्राविधिक कानुनी रुपमा हल गर्न खोजेको बताएका थिए । सीपीले पार्टीमा बसेर काम गर्न नसक्ने बताउँदै आएको प्रसंग जोड्दै रोक्काले हटाउनुको तुक नभएको तर्क गरेका थिए । सीपीले आफैं हट्न चाहेको दाबी गर्दै रोक्काले भनेका थिए, ‘बरु साधारण सदस्यबाट हटाएको भए हुन्थ्यो ।’ केन्द्रीय समितिको बैठकले देशभक्त र प्रजातान्त्रिक मोर्चा बनाउने बारेमा गृहकार्य गर्न पोलिटब्युरोलाई जिम्मेवारी दिइएको थियो । त्यतिबेला साना कम्युनिस्ट पार्टीबीच सहकार्य चलिरहेको थियो ।
विशेषतः महाकाली सन्धि पारित गराउने र नगराउने समूह बनेपछि एमालेमा झगडाको खाडल निकै ठुलो भएको थियो । उक्त खाडल बढ्दै गएर भएको पार्टी विभाजनले २०५६ सालको आमनिर्वाचनमा कांग्रेसलाई सहज भएको थियो । एमालेबाट फुटेर बनेको मालेले निर्वाचनमा एक सिट पनि नजितेपछि पार्टी संकटमा परेका बेला सीपीमाथिको कारबाहीले आन्तरिक द्वन्द्व झन् चर्केको थियो । पार्टी जतिसुकै सानो वा कमजोर किन नहोस् कम्युनिस्ट पार्टीभित्र केही समस्या आयो कि विभाजन मै गइहाल्ने मनस्थिति मालेमा पनि देखिएको थियो । समस्या आफ्नो हुन्छ तर कुन देशलाई हेर्ने दृष्टिकोण के हुने ? कुन दल र राजनीतिक शक्तिलाई कसरी हेर्ने ? दरबारलाई हेर्ने दृष्टिकोण के हुने ? जस्ता विषयमा महिनौं छलफल हुने र यसले विभाजनको मनस्थिति ल्याउने गरेको नेपालका कम्युनिस्ट पार्टीहरूको चरित्र मालेमा पनि देखिएको थियो ।
पार्टी गठन गरेको २ वर्षमा मालेमा देखिएको विभाजित मनस्थिति र सीपीलाई संगठन विभागबाट हटाएर कारबाहीको तयारी गर्न खोजेको सन्दर्भलाई कान्तिपुरले १७ चैत २०५६ मा ‘मालेद्वारा सीपीलाई संगठन विभागको प्रमुखबाट हटाउने निर्णय’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । -प्रस्तुतिः ऋषिराम पौड्याल