पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो ।
पाल्पा — पाल्पा च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारका दुवै खेलमा पाल्पाली क्रिकेट प्लेयर्स र करुवा क्रिकेट क्लबले सहज जित निकालेका छन् । पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो ।
पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यू एमएमसिटीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो । उसका लागि प्रशान्त पाण्डेयले २४, केशव रायमाझीले २३ र सुशान्त पाण्डेयले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यू एमएमसिटीले अतिरिक्त ११ रन पाएको थियो ।
बलिङतर्फ पाल्पालीका रुपेश बस्यालले २ तथा लेखनाथ न्यौपाने, दिपेश पाण्डेय, श्रीधर बस्याल र अमृत अर्यालले एक/एक विकेट लिए ।
१ सय ३ रनको लक्ष्य पछ्याएको पाल्पाली क्रिकेट प्लेयर्सले ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका लागि कुशल ढकालले ३९, सक्षम खड्काले १७ र शिव खनालले १० रन बनाए । पाल्पालीले अतिरिक्त २० रन पाएको थियो ।
बलिङतर्फ न्यू एमएमसिटीका सुशान्त पाण्डेयले २ र हार्दिक बरालले १ विकेट लिए । प्लेयर अफ द म्याच पाल्पाली क्रिकेट प्लेयर्सका कुशल ढकाल घोषित भए ।
दोस्रो खेलमा करुवा क्रिकेट क्लबले असेर्दी क्रिकेट क्लबलाई ८७ रनले हरायो । पहिले ब्याटिङ गरेको करुवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका लागि दिनेश बुढा मगरले ६७, निरबहादुर सार्कीले ५४, मनिष न्यौपानेले ३९, विख्यात वीरजंग राणाले १७ र लीला शर्माले १० रनको योगदान दिए ।
बलिङतर्फ असेर्दीका अनुज अर्यालले २ र प्रदीप अर्यालले १ विकेट लिए ।
२ सय १९ रनको लक्ष्य पछ्याएको असेर्दी १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रनमै समेटियो । उसका लागि यज्ञप्रसाद न्यौपानेले ४३, सुमन पाण्डेयले २२, विष्णु खड्काले १४, प्रदीप अर्यालले १३ र राजन अर्यालले १० रन बनाए ।
बलिङतर्फ करुवाका दिनेश बुढा मगर र अब्सन पाण्डेयले ३/३ तथा विख्यात वीरजंग राणा र निरबहादुर सार्कीले २/२ विकेट लिए । प्लेयर अफ द म्याच करुवाका दिनेश बुढा मगर घोषित भए ।
प्रतियोगितामा जिल्लाका उत्कृष्ट ६ क्लबको सहभागीता रहेको जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष पूर्णराज शाक्यले बताए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।