Trending
Prev Story
Next Story

तपाईंले देखेको एउटा चराले पनि अर्थ राख्छ

Ekantipur •
October 10, 2026 • 11:14 AM
2
2 reads 0 reactions

‘विश्व आप्रवासी चरा दिवस’ मनाउन लाखौं चराप्रेमी चराको खोजी र अवलोकनमा जुटेका छन् । तिनको बसाइँसराइ मार्ग, गन्तव्य र अस्तित्वमाथि थपिँदै गएका जोखिम बुझ्न सर्वसाधारणले संकलन गर्ने एउटा विवरणले समेत वैज्ञानिक अनुसन्धान र संरक्षणमा योगदान पुर्‍याउन सक्छ ।

तपाईंले देखेको एउटा चराले पनि अर्थ राख्छ

‘विश्व आप्रवासी चरा दिवस’ मनाउन लाखौं चराप्रेमी चराको खोजी र अवलोकनमा जुटेका छन् । तिनको बसाइँसराइ मार्ग, गन्तव्य र अस्तित्वमाथि थपिँदै गएका जोखिम बुझ्न सर्वसाधारणले संकलन गर्ने एउटा विवरणले समेत वैज्ञानिक अनुसन्धान र संरक्षणमा योगदान पुर्‍याउन सक्छ ।

काठमाडौँ — चराले आकाशमा पखेटा फैलाएर उडेको दृश्य तपाईंका लागि सामान्य हुन सक्छ । तर, त्यो कुन प्रजातिको हो, कहाँबाट आयो, कहाँ जाँदै छ र हरेक वर्ष आउने त्यही चरा यसपालि पनि देखियो कि देखिएन ?  यस्ता सामान्य लाग्ने प्रश्नको उत्तरले आप्रवासी चरा (बसाइँसराइ गरेर आउने) को जीवन र तिनको बासस्थानमा आइरहेका परिवर्तन बुझ्न सघाउन सक्छ । त्यसका लागि चराविज्ञ नै हुनुपर्दैन, तपाईंले गरेको एउटा अवलोकन पनि महत्त्वपूर्ण हुन सक्छ ।

विश्वभरका चराप्रेमीका लागि अक्टोबर १० यस्तै दिन हो । हरेक चरा उत्तिकै महत्वपूर्ण छन्, जति तपाईंको अवलोकन । त्यसैले  विश्वभर एकैदिन चरा अवलोकन तथा अभिलेख गर्ने ‘ग्लोबल बिग डे’का रूपमा विश्व आप्रवासी चरा दिवस (वर्ल्ड माइग्रेटरी बर्ड डे) शनिबार मनाइँदै छ । दिवसको नारा छ- एभ्री बर्ड काउन्ट्स : योर अब्जर्भेसन म्याटर ।

पन्छी संरक्षण संघ नेपाल (बीसीएन) ले काठमाडौं उपत्यकाको चोभार–बागमती–टौदह क्षेत्रमा आज चरा अवलोकन कार्यक्रम आयोजना गरेको छ । काठमाडौंबाहिर पनि पोखरा, चितवन, बर्दिया, लुम्बिनी लगायतका ठाउँमा बर्डिङ भइरहेको बीसीएनका अध्यक्ष विमलकुमार थापाले बताए ।

'बसाइँसराइ गरेर आउने चराको बासस्थल खोला, तालतलैया छेउछाउमा आज विशेषगरी चराप्रेमीहरूको उत्सव नै हुन्छ,' उनले भने, 'जाडोयामका चरा आउने क्रम भरखर मात्रै सुरु भएको छ । विशेषगरी अक्टोबरको अन्त्य र नोभेम्बरको मध्यसम्म उनीहरू आगमन भइसक्छ ।' मौसमी बदलावका कारण पनि अहिले आशा गरेजस्तो चरा नदेखिएको उनले बताए ।

यो दिवसले आप्रवासी चराको संरक्षणमा 'नागरिक विज्ञान' को महत्त्वपूर्ण भूमिकालाई उजागर गर्ने संरक्षणकर्मी बताउँछन् । यो अभियानले चरा संरक्षण र वैज्ञानिक अध्ययनका लागि सर्वसाधारणको सहभागितामा भइरहेका प्रयासलाई विशेष प्राथमिकता दिएको छ । विश्वभरका व्यक्ति, समुदाय र संघसंस्थाले चरा संरक्षणका लागि आवश्यक ज्ञान र तथ्यांक संकलनमा पुर्‍याउँदै आएको योगदानलाई जोड्ने दिन भएकाले आजको दिनलाई ‘ग्लोबल बिग डे’ पनि भनिन्छ ।

चरा अनुगमनमा केन्द्रित यस अभियानमा विश्वभरका लाखौं चराप्रेमी जोडिने गरेका छन् । घरआँगनदेखि चराका बासस्थल, स्टपओभर लगायतका ठाउँमा गरिने चरा अवलोकनले विश्वव्यापी सर्वेक्षणसम्म योगदान पुर्‍याइरहेको चराविद्‌हरूको भनाइ छ ।

'हामीसँग बसाइँसराइ गर्ने चरा पनि छन् र तिनलाई जोगाउन ध्यान दिनुपर्छ भन्ने सचेतनाका लागि पनि हो,' बर्डलाइफ इन्टरनेसनलका सेन्ट्रल एसियन फ्लाइवे कोर्डिनेटर आनन्द चौधरीले दिवसबारे भने, 'यिनको संरक्षणमा सहकार्य गर्नुपर्छ भन्ने हिसाबले विश्वभरिका चराप्रेमी एकजुट भएर यो बिग डे मनाउँछन् । सकेसम्म धेरै चरा हेर्न खोज्ने भएकाले चराप्रेमीका लागि यो ठूलो उत्सव पनि हो ।'

उनका अनुसार यस्ता अवलोकनले विभिन्न बसाइँसराइ मार्गमा चरा आवागमनको ढाँचा, संख्याको प्रवृत्ति र बासस्थानमा भइरहेका परिवर्तनको परिदृश्य बुझाउन पनि सघाउँछ ।  'धेरैले ईबर्ड डेटाबेसमै काम गर्छन्, त्यसले संसारभरको डेटा संकलन गर्छ,' उनले भने, 'लाखौं चराप्रेमीले संसारभर चरा गन्दा राम्रो डेटाबेस बन्छ । कहाँबाट कसरी बसाइँसराइ गर्दै छन् भन्ने प्रवृत्तिबारे थाहा हुन्छ । कतिपय नयाँ रेकर्ड पनि बन्न सक्छन् ।'

नेपालमा पछिल्लो समय बर्डिङ कल्चर बढेको बीसीएनका अध्यक्ष थापा बताउँछन् । 'पहिले काठमाडौं, चितवन, पोखरा, लुब्निनीतिर बर्डिङ हुने गर्थ्यो । अहिले धरानदेखि पूर्वका विभिन्न ठाउँमा र पश्चिमा सुर्खेतमा पनि चराप्रेमीहरूको उत्साह देखिन्छ ।'

वैज्ञानिक वा चराविज्ञ मात्र होइन, सामान्य नागरिक, चराप्रेमी र बर्डवाचरले समेत चराको अवलोकन गरी तथ्यांक उपलब्ध गराउन सक्छन् । ईबर्डजस्ता प्लेटफर्ममा अभिलेख गरिएका तथ्यांकबाट विभिन्न क्षेत्र र समयमा देखिएका चराको अवस्था अध्ययन गर्न सकिन्छ ।

नेपालका लागि भने यस्तो अभिलेख झन् महत्त्वपूर्ण छ । नेपाल सेन्ट्रल एसियन फ्लाइवेअन्तर्गत पर्छ र हरेक हिउँदमा उत्तरी क्षेत्रका चिसो भूभागबाट विभिन्न आप्रवासी चरा जाडो छल्न नेपाल आउने गर्छन् । रुस, मंगोलिया, किर्गिस्तान, कोरिया, चीन, पूर्वी युरोप र भारतका चिसा ठाउँबाट समेत आउने डेढ सयभन्दा बढी प्रजातिका चरामा अधिकांश जलपन्छी हुन्छन् । जाडो छल्न भित्रिएका चरा बच्चा कोरल्न गर्मी सुरु भएपछि चैतदेखि नै स्थायी बासस्थानतर्फ फर्कन थाल्छन् भने त्यही समय करिब ६५ प्रजातिका ग्रीष्मकालीन चरा नेपालतर्फ आउँछन् । यसरी चराको बसाइँसराइ वर्षभरि नै चलिरहन्छ ।

चराका विभिन्न प्रजाति र तिनका धेरैवटा समूहले प्रजनन क्षेत्र र गैरप्रजनन क्षेत्रबीच आवतजावत गर्ने बसाइँसराइ मार्ग नै फ्लाइवे हुन् । अमेरिकाज फ्लाइवे, अफ्रिकन-युरेसियन फ्लाइवे, सेन्ट्रल एसियन फ्लाइवे र इस्ट एसियन-अस्ट्रेलेसियन फ्लाइवे गरी स्थलचर तथा जलचर चराका ४ प्रमुख फ्लाइवे छन् ।

सेन्ट्रल एसियन फ्लाइवेमा ३० वटा देश पर्छन् । बसाइँसराइ गरी आउने चराका लागि मानवीय गतिविधिले नै असर परिरहेको बर्डलाइफ इन्टरनेसनलका सेन्ट्रल एसियन फ्लाइवे कोर्डिनेटर चौधरीले बताए । 'नेपालमा मात्र होइन, संसारभरि नै यो चिन्ता बढेको छ,' उनले भने, 'तातलैया सुक्दा, घाँसेमैदान घट्दा, नयाँ बस्ती र सहरीकरण बढ्दा त्यसको प्रत्यक्ष असर चराको बासस्थानमा पर्‍यो । सबैतिर अवस्था बिग्रेपछि सहज ठाउँमा चरा स्थानान्तरण हुने प्रवृत्ति पनि देखिएको छ ।'

हालै सार्वजनिक बर्डलाइफ इन्टरनेसनलको ‘स्टेट अफ द वर्ल्ड्स बर्ड्स’ प्रतिवेदनले पनि चिन्ताजनक अवस्था उजागर गरेको थियो । आप्रवासी चरा प्रजातिमध्ये ४५ प्रतिशतको संख्या विश्वभर घटिरहेको र झन्डै ९ मध्ये १ अर्थात् ११ प्रतिशत आप्रवासी चरा प्रजाति लोप हुने जोखिममा पुगेको प्रतिवेदनमा छ ।

विश्व आप्रवासी चरा दिवसको उद्देश्य बसाइँसराइ गर्ने चरा र तिनको संरक्षणसँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि गर्नु हो । यस अभियानले चराको बासस्थानको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्यको महत्त्व उजागर गर्नुका साथै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा संरक्षणका कदम चाल्न प्रोत्साहित पनि गर्छ ।

यो विश्वव्यापी अभियानलाई कर्नेल ल्याब अफ अर्निथोलोजी, वेटल्यान्ड्स इन्टरनेसनल र बर्डलाइफ इन्टरनेसनललगायत संस्थाले पनि सक्रिय रूपमा सहयोग गरिरहेका छन् ।

विश्व आप्रवासी चरा दिवसको सुरुआत सन् १९९३ मा अमेरिकाबाट भएको हो । चराचुरुंगी र तिनका बासस्थानको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विषयमा ध्यान आकर्षित गर्ने उद्देश्यले यो अभियान सुरु भएको थियो । सन् २००६ मा संयुक्त राष्ट्रसंघ अन्तर्गतका महासन्धि वन्यजन्तुका प्रवासी प्रजातिको संरक्षणसम्बन्धी महासन्धि (सीएमएस) र अफ्रिकी–युरेसियाली प्रवासी जलचराको संरक्षणसम्बन्धी सम्झौता (एईडब्लूए) ले विश्व आप्रवासी चरा दिवस अभियान सुरु गरेका हुन् । त्यसबेला विश्वभर बर्डफ्लुका कारण प्रवासी चराप्रति नकारात्मक धारणा बढिरहेका बेला तिनको संरक्षणमा जनचेतना अभिवृद्धि गर्न अभियानलाई अघि बढाइएको थियो । एक दशकपछि, सन् २०१७ मा यी दुई अभियानलाई एकीकृत गरियो । त्यसयता विश्व आप्रवासी चरा दिवस विश्वव्यापी अभियानका रूपमा सञ्चालन हुँदै आएको छ ।

विगतका वर्षमा यस दिवसले जलवायु परिवर्तन, चराको बसाइँसराइमा अवरोध, अवैध सिकार तथा प्रकाश प्रदूषणजस्ता समस्यालाई पनि समेट्दै आएका छन् । विश्व प्रवासी चरा दिवस वर्षमा दुईपटक मे र अक्टोबरमा मनाउने गरिन्छ ।

चराहरू हजारौं किलोमिटर यात्रा गरेर एक महादेशबाट अर्को महादेशसम्म पुग्ने गर्छन् । प्रजनन क्षेत्रदेखि जाडोयाम बिताउन जाने क्रममा उनीहरूलाई आराम, आहार र सुरक्षित बासस्थानका लागि सिमसार, नदी, ताल तथा अन्य प्राकृतिक क्षेत्र आवश्यक पर्छ । त्यसैले एउटा स्थानमा गरिएको चराको नियमित अभिलेखले स्थानीय सिमसारको अवस्थामात्र नभई ठूलो फ्लाइवेमा चराको आवागमन बुझ्नसमेत सहयोग पुर्‍याउन सक्छ ।

आजको दिवसको सन्देश नै बसाइँराइ गर्ने चराको संरक्षणमा पनि जागरुक बन्नुपर्छ भन्ने रहेको बीसीएनका अध्यक्ष थापाले बताए । 'यी चरा कुनै एउटा देशका मात्र होइनन्, सबैको हो,' उनले भने, 'हिउँदमा उत्तरी चिसो क्षेत्रबाट झर्ने चराको उडानमार्ग र बासस्थानमा संरक्षणमा सबैको सहकार्य जरुरी छ । यसमा स्थानीय सर्वसाधारणले पनि योगदान गर्न सक्छन् भन्ने सचेतना यो दिवसले दिन्छ ।'

उनले भनेजस्तै कुनै चरा देखिनु मात्रै ठूलो कुरा होइन, तिनको संरक्षणका लागि कति सचेत छौं भन्ने महत्वपूर्ण हो । अब आकाशमा कुनै चरा उडिरहेको देख्दा त्यसलाई सामान्य दृश्य मानेर नजर नफर्काऔं । त्यो कहाँबाट आयो, कहाँ जाँदै छ र हरेक वर्ष आउने त्यही चरा यसपालि पनि आइपुग्यो कि आएन भन्ने जिज्ञासा राखौं । किनकि एउटा चराको उपस्थितिले प्रकृतिको अवस्था बताउन सक्छ र त्यसको अनुपस्थितिले केही गुमिरहेको संकेत दिन सक्छ । तपाईंको एउटा सानो अवलोकनले पनि चराको बदलिँदो संसार बुझ्न र तिनको उडान सुरक्षित राख्न मद्दत गर्न सक्छ ।

फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
कार्तिक २१ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

कार्तिक २१ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

मेष : समय उत्तम छ । आर्थिक लाभ, खेलकुद–परीक्षामा विजय, कार्य सफल हुन सक्छ । वृष : समय शुभ देखिँदेन । काममा असफलता, खर्च, पेटको समस्या, कष्ट हुन सक्छ । मिथुन : दिन अनुकूल नभएकाले तनाव, अपच, दौडधूप...

#सक्छ #तपाईं
Compare →

Related Stories

Business & Economy
Build #2612