मौलिक भाषा, कला र संस्कृति अनि मनोरम प्रकृतिका कारण पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास भइरहेको छ रुकुम पूर्व । यहाँका ग्रामीण बस्तीको यो सुन्दरतामा थप चमक थप्ने काम गरेका छन्, यहाँका घरका छतमा राखिएका यी ढाक्राहरूले ।
मौलिक भाषा, कला र संस्कृति अनि मनोरम प्रकृतिका कारण पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास भइरहेको छ रुकुम पूर्व । यहाँका ग्रामीण बस्तीको यो सुन्दरतामा थप चमक थप्ने काम गरेका छन्, यहाँका घरका छतमा राखिएका यी ढाक्राहरूले ।
छतलाई मगर खाम भाषामा ‘घाघला’ भनिन्छ । यस भेगका प्रायः घरका तिनै घाघलाभरि ढोक्रा छन् अनि ढोक्राभरि मकै ।ढुंगा, माटो र काठबाट बनाइएका यी घरका छत निकै बलिया हुन्छन् । यसकारण यहाँ ढोक्रासँगसँगै अरू बाली पनि राखिन्छ भने मानिसहरूले पनि यसलाई दैनिक प्रयोग गर्छन् ।
स्थानीय निगालोको चोयाबाट तयार गरिएका यी ढोक्रामा असोजमा बर्खेबाली भित्र्याएसँगै खासगरी मकैको पोक्सर निकालेर सफा पारी राखिन्छ अनि माथिबाट चिटिक्कको छानोसमेत बनाउने गरिएको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटका अमरधन पुनले बताए । ‘यस्तो गर्दा घामपानीले मकै बिगार्दैन अनि पुस–माघमा पर्ने हिउँले पनि असर गर्दैन,’ उनले भने ।
ढोक्रामा राखिएका यी मकै असोजपछि झन्डै वैशाख–जेठसम्मै आवश्यकताअनुसार निकाल्दै छोडाउँदै, पिसेर खाने बताउँदै पुथाउत्तरगंगा–११, तकसेराका जुहारीलाल बुढा मगरले मकैलाई यसरी ढोक्रामा राखेपछि सुरक्षित र ताजा हुनेसँगसँगै घुन–पुत्ली नलाग्ने अनि कुहिने डर पनि नहुने जनाए ।
रुकुम पूर्व घुमघामका लागि जुन याममा पुगे पनि विशेष लाग्छ । बर्खामा हरियाली डाँडापाखा र रसिला खोलानाला, शरदमा खुलेका हिमाल अनि पहाडको मनोरमता र हिउँदमा हिउँसँगैको मनोरमता । यससँगै हरेक याममा यहाँ आयोजना हुने विभिन्न मेलापर्व र पूजाआजाका साथसाथै यस भेगमा खासगरी मगर समुदायको मौलिक रहनसहन र जनजीवनले पनि जोकोहीलाई लोभ्याउँछ ।
महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।