खोर्लाबेँसीमा बुढीगण्डकीले सडक कटान गर्दा धार्चेका ३ वटा वडा र चुमनुब्री सडक सम्पर्कबाट विच्छेद बनेका थिए । खोर्लाबेँसीमा सडक कटान भएको क्षेत्रमा ढुंगा, गिट्टी थुपारेर अस्थायी रूपमा सडक निर्माण गरिएको हो ।
काठमाडौँ — असोज २५ को बुढीगण्डकी बाढीले क्षतिग्रस्त बनाएको बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत खोर्लाबेंसी–लुस्याङ खण्डमा अस्थायी डाइभर्सन गरेर सडक सञ्चालन गरिएको छ । गोरखा सडक योजनाको कार्यालयले ९ दिन लगाएर अस्थायी डाइभर्सन निर्माण गरेको हो ।
खोर्लाबेँसीमा बुढीगण्डकीले सडक कटान गर्दा धार्चे गाउँपालिकाका ३ वटा वडा र चुमनुब्री सडक सम्पर्कबाट विच्छेद बनेका थिए । खोर्लाबेँसीमा सडक कटान भएको क्षेत्रमा ढुंगा, गिट्टी थुपारेर अस्थायी रूपमा सडक निर्माण गरिएको हो । लार्के सडकको खोर्लाबेँसीबाट सल्लेरीसम्मका दर्जन बढी ठाउँमा कटान तथा पहिरोले सडक अवरुद्ध छ ।
खोर्लाबेँसीको सडक खुलेपछि दोभानसम्मको सडक सुचारु गर्ने काम सुरु गरिएको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए । ‘खोर्लाबेँसी–लुस्याङमा दुई सय ५० मिटर क्षतविक्षत सडकमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएको छ,’ उनले भने ।
सल्लेरीतर्फबाट पनि नेपाली सेनाको सडक निर्माण कार्यदलले सडक खोल्ने काम गरिरहेको छ । लार्के सडकअन्तर्गत खोर्लाबेँसीदेखि सल्लेरी क्षेत्रमा एक दर्जनभन्दा बढी ठाउँमा सडक बुढीगण्डकीले क्षति पुर्याएको छ । खोर्लाबेँसीको सडक खुलेपछि तातोपानी क्षेत्रको सडक खुलाउने काम सुरु भएको गोरखा सडक योजना कार्यालयका प्राविधिक सुजन मगरले बताए ।
‘खोर्लाबेँसी–लुस्याङ सडक बनेपछि गाडी नै चल्न थालिसक्यो, तातोपानी क्षेत्रमा बाढीले बगाएर ल्याएको हिलोले सडक ढाकेको छ, आज त्यही हिलो पन्छाउँदै छौं,’ उनले भने । लार्के सडकअन्तर्गत यारु बगर, कालोभिर, जगत, सल्लेरी सडक बाढीले कटान गरेको छ । ‘तलको सडक नखोली माथि जान नसक्ने अवस्था छ,’ उनले भने, ‘खोर्लाबेँसीबाटै कटान भएको सडक खोल्दै माथिल्लो क्षेत्रतर्फ अघि बढिरहेका छौं ।’
सडक नहुँदा बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन पनि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ । बुढीगण्डकी बाढीले क्षति पुर्याएको आरुघाट गाउँपालिका–३ स्थित छेपारे भिरदेखि सोतीसम्मको सडक भने असोज अन्तिम साता नै खुलाइएको थियो । सोती र खोर्लाबेंसीको सडक खुलेपछि सडक कार्यालयले तातोपानीदेखि दोभान खण्डको सडक खोल्ने काम गरिरहेको छ ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।