Trending
Prev Story
Next Story

बझाङको प्रकृति, संस्कृति र जनजीवन [तस्बिरहरू]

Ekantipur •
October 25, 2026 • 06:00 AM
1
1 reads 0 reactions

पत्रकार वसन्तप्रताप सिंहको फोटोपुस्तकमा जिल्लाका १२ वटै स्थानीय तहका भूगोल, इतिहास र सांस्कृतिक सम्पदा समेटिएका छन् ।

बझाङको प्रकृति, संस्कृति र जनजीवन [तस्बिरहरू]

पत्रकार वसन्तप्रताप सिंहको फोटोपुस्तकमा जिल्लाका १२ वटै स्थानीय तहका भूगोल, इतिहास र सांस्कृतिक सम्पदा समेटिएका छन् ।

बझाङको नाम लिँदा धेरैको मनमा दुर्गम पहाडी जिल्ला, गरिबी, अभाव र विकासको पछौटेपनको चित्र आउँछ । भौगोलिक विकटता र आर्थिक कठिनाइ बझाङका यथार्थ हुन् । तर, हिमाल, हिमताल, नदी, वनजंगल, ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिले भरिएको यो जिल्लाको परिचय यतिमा मात्र सीमित छैन । यही विविधतालाई तस्बिरमार्फत अभिलेखमा उतार्ने प्रयास गरेका छन्, पत्रकार वसन्तप्रताप सिंहले । उनको हालै सार्वजनिक फोटोपुस्तक ‘तस्बिरमा बझाङ’ मा जिल्लाको प्रकृति, संस्कृति, इतिहास र जनजीवन समेटिएको छ ।

करिब दुई दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय सिंहका लागि बझाङका गाउँबस्तीको यात्रा समाचार खोज्ने काममा मात्र सीमित रहेन । गाउँगाउँ पुगेर मानिसका कथा र व्यथा लेख्ने क्रममा उनले यहाँको प्रकृति, संस्कृति र जीवनशैलीलाई नजिकबाट चिन्ने अवसर पाए । हिमाल र नदीसँग सामीप्य गाँसे । मठमन्दिर, जात्रा, चाडपर्व र स्थानीय जनजीवनका अनेक दृश्यलाई समाचारका विषयमा मात्र सीमित नराखी तस्बिरमा पनि अभिलेखित गर्न थाले । यही यात्राको परिणाम हुन्, उनका दुई फोटोपुस्तक ‘साइपाल हिमाल’ र ‘तस्बिरमा बझाङ’ ।

पत्रकारिताका क्रममा देशविदेशका विभिन्न ठाउँ पुगे पनि बझाङसँगको सम्बन्ध कहिल्यै टाढा नभएको सिंह बताउँछन् । ‘जहाँ पुगे पनि मेरो मन भने बझाङमै फर्किरह्यो,’ उनी भन्छन्, ‘गाउँगाउँ डुल्दा मैले मानिसका कथा र व्यथा मात्र टिपिनँ । यहाँको प्रकृति, संस्कृति र स्थानीयको आत्मीयता पनि नजिकबाट देखेँ । बझाङका पाखापखेरा र गाउँबस्तीले मलाई यसरी बाँधे कि देश–विदेश जहाँ पुगे पनि हृदयमा बझाङ नै रह्यो ।’

रिपोर्टिङका क्रममा देखेका सबै दृश्य समाचारमा समेट्न सम्भव थिएन । कतिपय कथा शब्दभन्दा तस्बिरले प्रभावकारी रूपमा भन्न सक्ने उनले महसुस गरे । त्यसपछि क्यामेराप्रति उनको रुचि बढ्दै गयो । यात्रामा खिचिएका तस्बिर संकलन गर्दै जाँदा ती उनका लागि सम्झनाका दृश्य मात्र रहेनन्, समय र समाजका दस्तावेज पनि बन्न थाले ।

करिब दुई सय पृष्ठको ‘तस्बिरमा बझाङ’ मा जिल्लाका १२ वटै स्थानीय तहका भूगोल, संस्कृति, इतिहास र जनजीवन समेटिएका छन् । साइपालदेखि बुङ्गलसम्मका हिमाली दृश्य, बस्ती, नदी, ताल, पुराना दरबार, मठमन्दिर, जात्रा, चाडपर्व र स्थानीयका दैनिकी पुस्तकका मुख्य विषय हुन् । पुस्तकमा हिमाल र हिमतालका मनोरम दृश्य मात्र छैनन्, प्रकृतिसँग जोडिएको स्थानीय जनजीवन पनि छ । हिमाली भेगमा पशुपालन गर्ने परिवार, खेतीपातीमा व्यस्त किसान, परम्परागत व्यापारिक मार्गमा हिँड्ने मानिस र चाडपर्वमा रमाइरहेका समुदायका तस्बिरले जिल्लाको सामाजिक जीवनलाई चित्रण गर्छन् । गौरा, बिसु, भुवो र भस्सोजस्ता पर्वका दृश्यले यहाँको सांस्कृतिक मौलिकता झल्काउँछन् । सुर्मा सरोवर, साइपाल क्षेत्र र खप्तड आसपासका भूभागसँगै पुराना बस्ती तथा ऐतिहासिक संरचनाले जिल्लाको प्राकृतिक र सांस्कृतिक विविधता उजागर गर्छन् ।

साइपाल, आर्या, जेठीबहुरानी, नाम्पा, योगा, ब्यासिमारे, राक्षे, धनसेरी, गैसेरा, चढेशिखर र सुनखानीलगायत हिमालका दृश्यले बझाङको पर्वतीय भूगोललाई चिनाउँछन् । त्यस्तै, तिब्बतसँग जोडिने उरै भञ्ज्याङको ऐतिहासिक व्यापारिक महत्त्वलाई पनि उनले तस्बिरमा समेटेका छन् । मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको जन्मभूमिका रूपमा बझाङको ऐतिहासिक महत्त्व छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि जिल्लाका यी पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त चर्चा पाउन सकेका छैनन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली दृश्यको आकर्षक गन्तव्य

रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली दृश्यको आकर्षक गन्तव्य

२५ कात्तिक, रसुवा । रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको सङ्गम मानिने नागथली पदयात्रा र हिमाली दृश्यावलोकनका लागि उपयुक्त …

#प्रकृति #संस्कृति
Compare →

Related Stories

Science & Climate
Build #2611