पीएचपीमा कस्तो सुरक्षा जोखिम देखिएको हो ? यसले नेपालका सरकारी तथा वित्तीय सेवामा कस्तो असर पारेको छ ? सरकारी वेबसाइट कहिलेसम्म खुल्छन् ? यस्ता प्रश्नको जिज्ञासा हामीले ५ प्रश्नोत्तरमार्फत् मेटाउने प्रयास गरेका छौं
काठमाडौँ — वेबसाइट निर्माण तथा सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ ल्याङ्वेज पीएचपीमा सुरक्षा कमजोरी भेटिएपछि नेपालका हजारौं सरकारी वेबसाइट अस्थायी रूपमा बन्द गरिएका छन् । सम्भावित साइबर आक्रमणबाट जोगिन सरकारी वेब पोर्टलसँगै बैंक तथा वित्तीय संस्थाका केही डिजिटल सेवा पनि बन्द गरिएका हुन् । सुरक्षा अद्यावधिक र प्राविधिक परीक्षणपछि सरकारी वेबसाइट सोमबार वा मंगलबारसम्ममा पुनः सञ्चालनमा ल्याउने तयारी छ । पीएचपीमा कस्तो सुरक्षा जोखिम देखिएको हो ? यसले नेपालका सरकारी तथा वित्तीय सेवामा कस्तो असर पारेको छ ? तलका ५ प्रश्नोत्तरमा बुझौं :
१. नेपालका सरकारी वेबसाइट किन बन्द गरिएका हुन् ?
वेबसाइट निर्माण तथा सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ ल्याङ्वेज पीएचपीमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि सरकारी वेबसाइट बन्द गरिएका हुन् । पीएचपी फाउन्डेसनले गत बुधबार सुरक्षा जोखिम सार्वजनिक गर्दै त्यसलाई सच्याउने प्याच जारी गरेको थियो । सम्भावित साइबर आक्रमणबाट जोगिन नेपालमा पनि हजारौं सरकारी वेबसाइट अस्थायी रूपमा अफलाइन गरिएका हुन् । हालसम्म यसै समस्याका कारण नेपालमा अनधिकृत पहुँच वा साइबर आक्रमण भएको घटना सार्वजनिक नभएको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनाएको छ ।
२. पीएचपीमा कस्तो सुरक्षा कमजोरी भेटिएको हो ?
गुगल मातहतको साइबर सुरक्षा अनुसन्धान संस्था विजका अनुसार पीएचपीको मुख्य इन्जिनमा वर्षौंदेखि रहेको कमजोरीका कारण यो जोखिम उत्पन्न भएको हो । ‘पीएचपी टु सेल’ नाम दिइएको यस जोखिमलाई सीभीई–२०२६–१०९६१८ र सीभीई–२०२६–१०९६१९ का रूपमा वर्गीकरण गरिएको छ । यसको दुरुपयोग गरेर आक्रमणकारीले सर्भरमा पहुँच बनाउने, आफ्नो कोड चलाउने र संवेदनशील तथ्यांक चोरी गर्न सक्ने जोखिम हुन्छ । ओपनएआईको एआई मोडलसहित विभिन्न अनुसन्धानकर्ता र संस्थाको सहयोगमा यो कमजोरी पत्ता लागेको हो ।
३. नेपालमा कुन–कुन सेवा प्रभावित भएका छन् ?
नेपालमा अधिकांश सरकारी वेबसाइट साझा जीआईडब्लूआईएमएस प्रणालीमा सञ्चालन हुने भएकाले एकैपटक हजारौं वेबसाइट बन्द भएका छन् । मन्त्रालय, विभाग, आयोग तथा सरकारी कार्यालयका वेब पोर्टलसँगै नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट र वेबमा आधारित सेवा पनि अस्थायी रूपमा बन्द गरिएका छन् । राजस्व अनुसन्धान विभागको मालवाहक सवारीसाधन ट्र्याक गर्ने भीसीटीएस प्रणालीसमेत प्रभावित भएको छ । निजी बैंक तथा वित्तीय संस्थाले पनि सुरक्षा प्रणाली सुधार गर्न वेबसाइट र डिजिटल सेवा अस्थायी रूपमा बन्द गरेका थिए । केही बैंकले प्रणाली अद्यावधिक गरी सेवा पुनः सञ्चालनमा ल्याइसकेका छन् ।
४. वेबसाइट पुनः सञ्चालनमा आउन किन ढिलाइ भएको हो ?
सुरक्षा प्याच जारी हुँदैमा सबै प्रणाली तत्काल सुरक्षित हुँदैनन् । विशेषगरी पुराना पीएचपी संस्करणमा बनेका वेबसाइटमा नयाँ सुरक्षा प्याच राख्न मात्र पर्याप्त नहुने भएकाले प्रणालीलाई सुरक्षित संस्करणमा अपग्रेड गर्नुपर्ने हुन्छ । साथै, पुराना प्रणालीको सोर्स कोडमा पहिलेदेखि रहेका सम्भावित सुरक्षा त्रुटि पहिचान गर्न अडिट भइरहेको छ । वार्षिक मर्मत सम्झौता भएका प्रणालीको समस्या सम्बन्धित भेन्डरले समाधान गर्नुपर्ने र अन्य प्रणालीको प्राविधिक विवरण तथा होस्टिङसम्बन्धी जानकारी जुटाउनुपर्ने भएकाले पनि समय लागेको हो ।
५. सरकारी वेबसाइट कहिलेसम्म खुल्छन् ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले आवश्यक सुरक्षा अद्यावधिक र परीक्षणपछि सोमबार वा मंगलबारसम्ममा हजारौं सरकारी वेबसाइट एकैसाथ पुनः सञ्चालनमा आउने जनाएको छ । केन्द्रका प्रमुख कार्यकारी अधिकृत किरण तिमिल्सिनाका अनुसार पीएचपी प्रयोग नभएका प्रणाली यसअघि नै सञ्चालनमा ल्याइसकिएको छ भने बाँकी प्रणालीको सुरक्षा परीक्षण भइरहेको छ । नयाँ र सुरक्षित पीएचपी संस्करणमा अपग्रेड गरी प्याच इन्स्टल गरेपछि मात्र जोखिमयुक्त प्रणाली पुनः सञ्चालनमा ल्याइनेछ ।
विस्तृत स्टोरी पढ्नुहोस् : ‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द
सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।