Trending
Prev Story
Next Story

तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर …

तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?

कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर राम र साई पल्लवी सीताको भूमिकामा छन् । यशले रावणको भूमिका निर्वाह गर्नुका साथै फिल्मको सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन् ।

फिल्मको पहिलो भाग नोभेम्बर ५ मा प्रदर्शनमा आउने तयारी छ ।

सन् १९८६ जनवरी ८ मा भारतको कर्नाटक राज्यस्थित हासन जिल्लामा जन्मिएका यशको वास्तविक नाम नवीन कुमार गौडा हो । तर, आज उनलाई वास्तविक नामभन्दा ‘रकिङ स्टार यश’का रूपमा बढी चिनिन्छ ।

‘बलिउड हंगामा’सँगको एउटा अन्तर्वार्तामा उनलाई नवीन कुमार गौडा भनेर बोलाउँदा कस्तो लाग्छ भनेर सोधिएको थियो । उनले ठट्टा गर्दै भनेका थिए, ‘को हो यो ?’

धेरै मानिसले उनलाई वास्तविक नामबाट नचिन्ने भएकाले उनले यस्तो जवाफ दिएका थिए ।

सामान्य परिवारबाट आएका यश कसरी कन्नड सिनेमाका चर्चित अभिनेतामध्ये एक बने ? अनि अहिले उनी रावणको भूमिकामा कसरी देखिँदैछन् ?

यशको परिवारको फिल्म क्षेत्रसँग कुनै सम्बन्ध थिएन । उनका पिता बस चालक थिए । अभिनयमा करियर बनाउने चाहनाले यशले थिएटर र टेलिभिजनबाट आफ्नो यात्रा सुरु गरे ।

सन् २०१४ मा जी कन्नडको कार्यक्रम ‘वीकेन्ड विथ रमेश’मा कुराकानी गर्दै यशले बाल्यकालदेखि नै नाटक र नृत्य प्रतियोगितामा भाग लिने गरेको बताएका थिए । सानैदेखि दर्शकको ताली र सिटीले उनलाई आकर्षित गर्थ्यो । बिस्तारै उनलाई त्यसको बानी नै परेको थियो ।

यशले भनेका थिए, ‘शिक्षकहरूले मलाई हिरो भनेर बोलाउँदा निकै खुसी लाग्थ्यो । बिस्तारै मेरो मनमा हिरो बन्ने सोच बस्यो । त्यसपछि मैले जे भए पनि फिल्ममा अभिनेता बन्ने निर्णय गरिसकेको थिएँ ।’

तर, उनको सुरुआती जीवन सहज थिएन । एउटा अन्तर्वार्तामा उनले आफ्ना पिता बेंगलुरु महानगर परिवहन निगममा चालक रहेको र दैनिक १४ रुपैयाँ कमाउने गरेको बताएका थिए । परिवारमा उनका अतिरिक्त आमा र एक बहिनी छन् ।

घरको आवश्यकता पूरा गर्न उनले पढाइ छाड्नुपरेको थियो । त्यसपछि घरको किराना पसल सञ्चालन गर्न पनि उनले सहयोग गरे ।

फिल्ममा लाग्ने निर्णयबारे परिवारलाई बताउँदा उनीहरू खुसी थिएनन् । उनका पिता यशलाई सरकारी अधिकारी बनेको देख्न चाहन्थे ।

सन् २०१९ मा ‘द न्युज मिनेट’सँगको अन्तर्वार्तामा यशले फिल्म क्षेत्रमा भाग्य आजमाउन घर छाडेर बेंगलुरु पुगेको बताएका थिए । त्यसबेला उनको खल्तीमा जम्मा ३०० रुपैयाँ थियो ।

उनले भनेका थिए, ‘बेंगलुरु पुगेपछि म डराएँ । सहर निकै ठूलो थियो । तर, म सधैँ आत्मविश्वासी थिएँ । संघर्ष गर्न मलाई डर लाग्दैनथ्यो । यदि म घर फर्किएँ भने मेरा आमाबुवाले फेरि यहाँ आउन दिनेछैनन् भन्ने मलाई थाहा थियो ।’

उनका अनुसार, आमाबुवाले उनलाई फिल्ममा हिरो बन्ने प्रयास गर्न स्वतन्त्रता दिएका थिए । तर, त्यसमा सफल हुन नसके आफूले भनेअनुसारको काम गर्नुपर्ने सर्त राखेका थिए ।

‘वीकेन्ड विथ रमेश’ कार्यक्रममा यशले आफ्ना साथी नन्जुन्डका बारेमा पनि बताएका थिए । उनकै कारण आफू थिएटरसँग जोडिएको यशको भनाइ थियो ।

उनले भनेका थिए, ‘नन्जुन्डले नै मलाई थिएटरसँग परिचित गराए । सुरुमा मलाई गदा बोकेर युद्ध गर्ने पात्र भएका पौराणिक नाटकबारे मात्र थाहा थियो । सामाजिक नाटकबारे कुनै जानकारी थिएन । नन्जुन्डमार्फत नै मैले थिएटरको संसार चिनेँ ।’

यशले थपेका थिए, ‘जब म पहिलोपटक ‘बेनका’ थिएटर समूहमा आबद्ध भएँ, मेरो पूरै संसार बदलियो । थिएटरले मलाई फरक व्यक्ति बनाएको र मेरो व्यक्तित्व परिवर्तन गर्न ठूलो भूमिका खेलेको छ भन्ने लाग्छ ।’

सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘जम्बाडा हुडुगी’बाट यशले सहायक अभिनेताका रूपमा फिल्म क्षेत्रमा पदार्पण गरेका थिए । त्यसअघि उनले ‘उत्तरायण’ र ‘नन्दा गोकुला’लगायत टेलिभिजन कार्यक्रममा काम गरिसकेका थिए ।

‘नन्दा गोकुला’ लोकप्रिय टेलिभिजन कार्यक्रम थियो । यसबाट यशले राम्रो पहिचान बनाए । कार्यक्रममा यश र राधिका पण्डितको जोडीलाई दर्शकले रुचाएका थिए । यो कार्यक्रम सन् २००४ देखि २००७ सम्म प्रसारण भएको थियो ।

यशलाई व्यापक पहिचान दिलाउने फिल्म ‘मोगिना मनसु’ सन् २००८ मा प्रदर्शनमा आएको थियो । उक्त फिल्ममा आफूले भूमिका पाएको रोचक प्रसङ्ग यशले ‘वीकेन्ड विथ रमेश’मा सुनाएका थिए ।

उनले भनेका थिए, ‘त्यो भूमिकाका लागि अर्कै अभिनेतालाई छनोट गरिएको थियो । तर, शुभमुहूर्तका बेला उनी मोटरसाइकलबाट लडेर घाइते भए र छायाङ्कनमा सहभागी हुन सकेनन् । टोलीलाई अर्को कलाकार चाहियो । अन्ततः मलाई छनोट गरियो ।’

फिल्मका निर्देशक शशांकले पनि यशलाई एउटा टेलिभिजन धारावाहिकमा देखेको र उनको अभिनय मन परेको बताएका थिए । नयाँ कलाकार लिएर ‘मोगिना मनसु’ बनाउने क्रममा उक्त भूमिकाका लागि यशको नाम उनको मनमा आएको थियो ।

निर्देशक शशांकका अनुसार, यशले भूमिका बुझ्न निकै मेहनत गरेका थिए । प्रत्येक दृश्यको छायाङ्कनअघि उनी त्यसलाई कसरी प्रस्तुत गर्ने भनेर सोध्थे र एउटै दृश्यका विभिन्न विकल्प दिन्थे । अभिनयसँगै नृत्य, समर्पण र कामप्रतिको सम्मान पनि उनमा थियो ।

फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो । ‘मोगिना मनसु’का लागि यशले उत्कृष्ट सहायक अभिनेताको फिल्मफेयर पुरस्कारसमेत जिते ।

फिल्म समीक्षकबाट निर्माता बनेकी सुनयना सुरेशका अनुसार, यशको करियरमा केही फिल्म निर्णायक बने ।

‘मोगिना मनसु’ले उनलाई पहिचान दिलायो र फिल्मफेयर पुरस्कारसमेत दिलायो । त्यसपछि प्रदर्शनमा आएको ‘गुग्ली’ले उनलाई विशेषगरी कलेजका विद्यार्थीमाझ लोकप्रिय बनायो । यही फिल्मले उनलाई स्टारका रूपमा स्थापित गर्न मद्दत गर्‍यो ।

त्यसपछि आएको ‘मिस्टर एन्ड मिसेज रामाचारी’ले उनलाई सुपरस्टार बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो । यस फिल्ममा उनकी पत्नी राधिका पण्डित पनि थिइन् । फिल्म कन्नड फिल्म उद्योगको ठूलो सफलतामध्ये एक बन्यो ।

यशको करियरमा यी फिल्मले महत्त्वपूर्ण भूमिका खेले । तर, ‘केजीएफ’ले उनलाई देशव्यापी पहिचान दिलायो र अन्य कलाकारभन्दा फरक स्थानमा उभ्यायो ।

सुनयना सुरेशका अनुसार, ‘केजीएफ’मार्फत यशले हिन्दी फिल्म बजारका दर्शक, विशेषगरी उत्तर प्रदेश र बिहारजस्ता हिन्दी भाषी क्षेत्रका दर्शकमाझ बलियो उपस्थिति बनाए । ती दर्शकले खोजिरहेको नायकको छवि यशले प्रस्तुत गरेको उनको भनाइ छ ।

सन् २०२६ को कमिक कन्भेन्सनमा रावणको भूमिका निर्वाह गर्ने विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै यशले यो निकै जटिल चरित्र भएको बताएका थिए ।

उनले भनेका थिए, ‘यो निकै जटिल चरित्र हो । सोच्नुहोस् त, यस्तो पात्र जसलाई मानिसहरूले घृणा गर्छन् र हरेक वर्ष उसको पुतला जलाउँछन् । यसले उसले आफ्नो पहिचान कुन स्तरसम्म स्थापित गरेको थियो भन्ने देखाउँछ ।’

यशका अनुसार, कुनै पात्रबारे दर्शकलाई पहिल्यै जानकारी छ र उनीहरूको मनमा त्यसको निश्चित छवि बनेको छ भने त्यस्तो भूमिका निर्वाह गर्नु अझ चुनौतीपूर्ण हुन्छ ।

उनले भनेका थिए, ‘यदि नयाँ फिल्म छ र तपाईं नयाँ कथा सुनाउँदै हुनुहुन्छ भने तपाईंले जे गर्नुहुन्छ, त्यही नै पात्रको पहिचान बन्छ । तर, दर्शकको मनमा पहिल्यैदेखि त्यस पात्रको कल्पना छ र धेरै कलाकारले फरक–फरक तरिकाले त्यसलाई प्रस्तुत गरिसकेका छन् भने अभिनेतामाथि थप दबाब हुन्छ ।’

यशले आफूले रावणको चरित्रलाई बुझ्ने प्रयास गरिरहेको बताएका थिए । एक अभिनेताका रूपमा रावणले गरेका काम र त्यसपछाडिको सोच बुझ्नु आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भनेका थिए, ‘मलाई लाग्यो, रावणलाई पर्दामा प्रस्तुत गर्ने सबैभन्दा राम्रो तरिका भनेको उनको सोच र उनले गरेका कामपछाडिको कारण बुझ्नु हो ।’

यसरी कन्नड सिनेमामा सामान्य परिवारबाट आफ्नो यात्रा सुरु गरेका यश अहिले ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । उनका लागि यो भूमिका केवल अर्को फिल्मको चरित्र मात्र होइन, दर्शकको मनमा पहिल्यैदेखि स्थापित पौराणिक पात्रलाई आफ्नै दृष्टिकोणबाट प्रस्तुत गर्ने चुनौती पनि हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

काठमाडौं- अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘रामायण: पार्ट १’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनमा आएको ८ दिनमै फिल्मले विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारतिय रुपैँया ग्रस कलेक्स...

#फिल्म #रणवीर
Compare →
Nagarik News
3d ago
८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।

#बने
Compare →
Arthasansar
4d ago
खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः  ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको...

#बने
Compare →

Related Stories

World News
Build #2611