भारतमा आवश्यक बीआईएस प्रमाणपत्र नवीकरणमा दुई–तीन महिना लाग्दा अर्डर भइसकेको सिमेन्टसमेत निर्यात गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ।
काठमाडौँ — चालु आर्थिक वर्षको दुई महिनामा २८ करोड ३ लाख ३५ हजार रुपैयाँको मात्रै सिमेन्ट निर्यात भएको छ । जुन गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा १७ करोड १० लाख रुपैयाँ कम हो । गत आर्थिक वर्षको साउन र भदौमा ४५ करोड १३ लाख ३६ हजारको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
तयारी सिमेन्ट निर्यात घटे पनि क्लिंकर निर्यात भने बढेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन र भदौमा १४ करोड ५९ लाख ५० हजार रुपैयाँको क्लिंकर निर्यात भएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ९७ लाख ८ हजार रुपैयाँको मात्रै क्लिंकर निर्यात भएको थियो । भारतमा निर्यातका लागि आवश्यक भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा सिमेन्ट निर्यात घटेको हुन सक्ने सरोकारवाला बताउँछन् ।
बीआईएस नवीकरण ढिलाइ हुँदा पनि निर्यात घटेको नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष राजेशकुमार अग्रवालले जनाए । बीआईएस प्रमाणपत्र नवीकरणमा हुने ढिलाइका कारण अर्डर भइसकेको सिमेन्टसमेत निर्यात गर्न नसकिने उनको भनाइ छ । ‘भारतमा सिमेन्ट निर्यात गर्न हामीले त्यहाँको बीआईएस चिह्न लिनुपर्छ । पहिला तीन वर्षको दिन्थ्यो, अहिले एक वर्षको मात्र दिन्छ । एक वर्षपछि नवीकरण जाँदा ढिलो गरिदिन्छ । दुई–तीन महिना लाग्छ । त्यसले गर्दा निर्यात घट्छ,’ अग्रवालले भने ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट २ अर्ब ३ करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको ९ लाख २३ हजार ३ सय ७६ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब २१ करोड ९४ लाख २९ हजार रुपैयाँ बराबरको ३ लाख ५६ हजार ४ सय ७३ टन सिमेन्ट निर्यात भएको थियो । उक्त तथ्यांक अनुसार एक वर्षमा सिमेन्ट निर्यातको परिमाण ५ लाख ६६ हजार ९ सय ३ टनले बढेको छ । तर निर्यातबाट प्राप्त रकम भने अघिल्लो वर्षको तुलनामा १८ करोड ३३ लाख रुपैयाँले घटेको छ । सिमेन्टको निर्यात परिमाण उल्लेख्य बढे पनि त्यसबाट हुने आम्दानी घटेको छ ।
अघिल्लो वर्षको तुलनामा धेरै परिमाणमा सिमेन्ट निर्यात भए पनि कम मूल्यमा बिक्री हुँदा कुल निर्यात आम्दानी घटेको छ । ‘सिमेन्टमा मुख्यतया दुई किसिमका उत्पादन ओपीसी र पीपीसी हुन्छन् । पीपीसी सिमेन्टको मूल्य ओपीसीको तुलनामा कम हुन्छ । त्यसैले पीपीसीको हिस्सा बढेकाले निर्यात परिमाण बढे पनि मूल्य घटेको देखिन्छ,’ उनले भने, ‘हाम्रो सिमेन्टको गुणस्तरमा केही समस्या छैन । बीआईएस समयमा नवीकरण नहुँदा अर्डरअनुसार सामान दिन सकेका छैनौं ।’
बीआईएस प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ नै निर्यातमा समस्या बनिरहेको अग्रवालको भनाइ छ । बीआईएस प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा अर्डर भइसकेको सामानसमेत निर्यात गर्न नसक्ने अवस्था आउने उनले बताए । ‘मैले भारतमा सिमेन्ट निर्यात गरिरहेको छु । तर बीआईएसको समय सकिएपछि अर्डर भएको पनि निर्यात गर्न पाउँदैनौं, त्यो नवीकरण भएपछि मात्रै सकिन्छ,’ उनले भने ।
नेपाल र भारतबीच गुणस्तरसम्बन्धी मापदण्डलाई समकक्षी (इक्विभ्यालेन्ट) मान्यता दिन सके दीर्घकालीन रूपमै उक्त समस्या समाधान हुने अग्रवालको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट १ अर्ब ९७ करोड ८ लाख ३३ हजार रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३ सय ७८ टन सिमेन्ट निर्यात भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा सिमेन्ट निर्यातको परिमाण घटेर ३ लाख ५६ हजार ४ सय ७३ टनमा झरे पनि आम्दानी भने बढेर २ अर्ब २१ करोड ९४ लाख रुपैयाँ पुगेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा ६ लाख ७ हजार ७३ टन सिमेन्ट निर्यात हुँदा ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँ आम्दानी भएको थियो । २०७८/७९ मा १५ हजार १ सय ८९ टन सिमेन्ट निर्यात हुँदा १ करोड २९ लाख ३ हजार रुपैयाँ आम्दानी भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने ११ टन मात्रै सिमेन्ट निर्यात भएको थियो, जसबाट ८३ हजार रुपैयाँ आम्दानी भएको थियो ।
सिमेन्टसँगै पहिला क्लिंकर आयात गर्ने गरिए पनि अहिले निर्यात गर्न थालेको छ । आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७८ लाख २६ हजार रुपैयाँ बराबरको ५ लाख ६१ हजार १ सय २६ टन क्लिंकर निर्यात भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ९० हजार २ सय ७२ टन क्लिंकर निर्यात भएको थियो । क्लिंकर निर्यात ७० हजार ८ सय ५४ टन अर्थात् करिब १४ प्रतिशतले बढेको छ ।
निर्यात रकम १० करोड ४ लाख ४८ हजार रुपैयाँले बढेको विभागको तथ्यांक छ । मुलुकका खानी एवं सिमेन्ट उद्योगहरूले नै क्लिंकर उत्पादन गर्न थालेका छन् । ‘उद्योगहरूले क्लिंकरबाट आफ्नै सिमेन्ट बनाउँछन् । बढी भएको क्लिंकर ग्राइन्डिङ युनिटहरूलाई बिक्री गर्छन् । केही मात्रामा भारततर्फ निर्यात पनि गर्ने गरेका छन्,’ अग्रवालले भने ।
नेपालबाट उत्पादित सिमेन्ट र क्लिंकर मुख्यतया सीमावर्ती भारतीय क्षेत्र यूपी र बिहारमा निर्यात हुने गर्छ । नेपालबाट सामान बोकेर आएका भारतीय ट्रकहरूले नेपालमा खाली गरेपछि सोही ट्रकमा सिमेन्ट लोड गरेर फर्किन नपाउने भन्सार नियमले पनि समस्या पारेको अग्रवाल बताउँछन् । ‘ट्रकले ल्याएको सामान खाली गरेर फेरि भारत फर्केर भन्सार पास गरी पुनः लोडका लागि आउनुपर्छ, यो झन्झटिलो नियमका कारण लागत बढ्ने र समय लाग्छ,’ उनले भने ।
पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तमलगायत सिमेन्ट भारत निर्यात हुन थालेका छन् । झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । त्यसबेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था थियो । तर सिमेन्ट निर्यातले निरन्तरता पाउन सकेको थिएन ।
अहिले नेपालमै कच्चा पदार्थ पाइने भएकाले निर्यात बढ्दै गएको छ । सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन् । त्यसमध्ये करिब १५ भन्दा बढी उद्योगले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ । सरकारले दिने अनुदान कटौती र बीआईएस नवीकरणमा ढिलाइ र भारतजस्तो ठूलो मूलुकमा प्रतिस्पर्धा गर्न गाह्रो हुँदा सिमेन्ट निर्यात घटेको संघका पूर्वअध्यक्ष ध्रुव थापा बताउँछन् ।
‘पहिला दिँदै आएको नगद पनि सरकारले दिन छाड्यो । उता भारतमा समयमा बीआईएस पनि नवीकरण हुँदैन । त्यस्तै प्रतिस्पर्धा गर्न गाह्रो छ, यस्ता विविध कारणले सिमेन्ट निर्यात घट्यो,’ उनले भने । नेपालमै उत्पादित कच्चा पदार्थबाट सिमेन्ट उत्पादन भई निर्यात हुने भएकाले सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए ।
सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।