पौड्यालको ढाका उद्योगले ४० जनाभन्दा बढीलाई रोजगारी दिएको छ भने अर्यालले ५० भैंसीमार्फत दुग्ध उत्पादन बढाएका छन्।
पाल्पा — तानसेनमा ढाका उद्योग संचालन गर्दै आएका मनोजराज शर्मा पौड्याल र रामपुरमा भैंसीपालन व्यवसाय गर्ने कृष्णकुमार अर्याललाई यस वर्षको उत्कृष्ट उद्यमीका रूपमा पुरस्कृत गरिएको छ ।
१२ औं राष्ट्रिय उद्योग दिवसका अवसरमा तानसेन नगरपालिका–४, बारुदखानस्थित पौड्याल ढाका उद्योगका सञ्चालक पौड्याल र रामपुर नगरपालिका–६ स्थित कृष्ण उन्नत भैंसी विकास बीउ बिजन उत्पादन स्रोत केन्ऽका सञ्चालक अर्याललाई उत्कृष्ट उद्यमी सम्मान गरेको हो ।
दुबै जना उद्योगीलाई लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीहरु वीरबहादुर राना, खेम सारु, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख केशव सुनारलगायतले सम्मान तथा पुरस्कृत गरेका थिए । मन्त्री अहिरले जिल्लामा बसेर उद्योग, व्यवसाय सञ्चालन गर्नु र अहिलेको अवस्थमा धेरै जनालाई रोजगार दिनेलाई सम्मानित गर्न पाएकामा आफुलाई गोरवान्वित तुल्याएको बताए । उनले उद्योगीहरुलाई मनोबल बढाउनुपर्ने अवस्था आएको बताए ।
पूर्वमन्त्री सारु र रानाले उद्योग संञ्चालनका लागि उद्योगी तथा व्यवसायीहरुलाई आकर्षण गराउन सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, उद्योगी, व्यवसायीहरुले घरेलु तथा साना उद्योग संचालन गरेर स्वरोजगार बन्नका लागि प्रेरणा दिनुपर्ने बताए । पुरस्कृत ढाका उद्यमी पौड्यालले तानसेन बारुदखानमा खोलेको उद्योगबाट ४० जना भन्दा बढीले प्रत्यक्ष रोजगार पाएको बताए ।
पछिल्लो समयमा प्रविधिसँगै अघि बढ्न सिकेको र उत्पादनलाई बढावा दिएको उद्योगी पौड्यालले बताए । ‘कम्युटरबाट ढाकाको बुट्टा निकालेर हातले बुनेको ढाका निकाल्नका लागि प्रविधि भित्र्याएको छु,’ उनले भने, ‘तर भन्सार सुविधा नहुँदा १८ प्रतिशत कर तिरेर सामान ल्याउनुपर्दा समस्या परेको छ ।’ घरेलु तथा साना उद्योगीलाई सरकारले दिने सहुलियत प्राप्न गर्न नसकेको उनले सुनाए ।
रामपुरका भैंसीपालक किसान अर्यालले रामपुर नगरपालिका क्षेत्रमा पहिलो पटक व्यवसायिक भैंसीपालन सुरुवात गरेका हुन् । उनले अहिले ५० वटा सानाठूला भैंसी पालेका छन् ।
रामपुर क्षेत्रमा दैनिक २४ लिटर दुध दिने भैंसीदेखि उन्नत जातका भैंसीलाई गाउागाउामा लैजान सफल भएको उनले बताए । वर्षमा २ लाख भन्दा बढीको गोबर बिक्री गर्ने गरेको उनले बताए । उत्पादनलाई जोड दिएर रामपुर क्षेत्रलाई दुध र दुधजन्य परिकारमा आत्मनिर्भर गराउने अभियानमा लागेको उनले बताए ।
स्थानीयस्तरमा उद्यमशीलता प्रवर्द्धन, उत्पादन तथा व्यवसाय सञ्चालनमा योगदान पुर्याएका उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट उद्यमी छनोट गरी सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख केशव सुनारले बताए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।