काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर एन१६० मोटरसाइकल प्रदान गरिएको छ।
एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्दै सम्मान गरेको हो।
मोटरसाइकल प्राप्त गर्ने खेलाडीहरूमा प्रतियोगितामा सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित राहुल यादव रहेका छन्।
नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको योगदानको कदर गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले मोटरसाइकल प्रदान गरिएको कम्पनीले जनाएको छ।
यसैगरी, प्रतियोगिताभर खेलाडीहरूको प्रदर्शनलाई प्रोत्साहित गर्न बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ अभियानसमेत सञ्चालन गरेको थियो।
उक्त अभियानअन्तर्गत प्रत्येक खेलको सुरुवाती ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नुका साथै प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन उक्त पहल प्रभावकारी भएको कम्पनीको भनाइ छ।
कम्पनीले क्रिकेटप्रेमी दर्शकहरूका लागि ‘पल्सर पावर प्ले प्रेडिक्सन गेम’ समेत सञ्चालन गरेको थियो। उक्त अभियानमा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।
प्रेडिक्सन गेमका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेताहरूलाई समेत कम्पनीले बधाई ज्ञापन गरेको छ।
बजाज पल्सरले एनपीएलको तेस्रो संस्करण सफल बनाउन योगदान पुर्याउने खेलाडी, सहभागी टोली, आयोजक, पदाधिकारी, व्यावसायिक साझेदार तथा क्रिकेट समर्थकहरूप्रति आभार व्यक्त गरेको छ।
नेपाली क्रिकेट तथा खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कम्पनीले एनपीएलको आगामी चौथो र पाँचौँ संस्करणमा समेत आफ्नो साझेदारीलाई निरन्तरता दिने जनाएको छ।
प्रतिभावान खेलाडीको पहिचान, उत्कृष्ट उपलब्धिको सम्मान तथा खेलाडी र समर्थकबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले नेपाली क्रिकेटसँगको सहकार्यलाई निरन्तरता दिइने कम्पनीको भनाइ छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।